यी आधार जसले शरणार्थी प्रकरणमा टोपबहादुर र रामबहादुरको ‘कनेक्सन’ देखाउँछ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बयानका क्रममा आफ्नो संलग्नतालाई अस्विकार गरेका छन्। बयानका क्रममा भनेका छन्,‘मलाई रकम दिएको भन्ने जति पनि विवरणहरु छन्। त्यसमा कुनै आधार र सत्यता छैन। प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखि पटक–पटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन। निजले के–कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन् मलाई जानकारी भएन। सो रकम मैले लिएको छैन।’

टोपबहादुरले बयानमा आफूलाई सकेसम्म चोख्याउन खोजेको देखिन्छ। उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) सँगको सम्बन्ध पनि लुकाएका छन्। यद्यपि, भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरको संलग्नता प्रमुख रुपमा रहेको र त्यसमा तत्कालीन गृहमन्त्री थापासँग राम्रै साँठगाँठ भएको पक्राउ परेका अन्य अभियुक्तहरुको बयानबाट पुष्टि हुन्छ।

गृहमन्त्री हुँदा थापाको भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्नता देखिएको भए पनि उनलाई प्रहरीले अनुसन्धानको दायरामा लिन सकेको छैन। थापाको स्वकीय सचिवका रुपमा काम गरेका उनका छोरा प्रतीक थापामाथि पक्राउ पुर्जी जारी भएको छ र थापाकी श्रीमती नैनकला थापाको पैसा लिनेमा संलग्नता देखिएको अवस्थामा रामबहादुरको संलग्नताविना यो अपराधिक काम हुन सक्छ भन्नेमा शंका गर्ने प्रसस्त ठाउँ छ।


शरणार्थी प्रकरणमा थापा परिवार: बाकाे इसारा, छोराको ‘डिल’, आमाले बुझ्थिन् मन्त्री क्वाटरमै करोडौँका बिटा


भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र रामबहादुर थापाको संलग्नताविना यति ठुलो संगठित अपराध हुन सक्छ भन्नेमा विश्वास गर्ने ठाउँ छैन। र, पक्राउ परेका अन्य अभियुक्तहरुको बयानले पनि उनीहरुबीचमा राम्रै साँठगाँठ भएको देखिन्छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजालकाे बयानले टोपबहादुरको संलग्नता गृहमन्त्रालयमा सेटिङ मिलाउनेमा देखिन्छ। टोपबहादुर र रामबहादुर थापा पूर्व माओवादी नेता हुन्। तत्कालीन नेकपा फुटेपछि उनीहरु मन्त्रीसहित एमालेमा गएका थिए।

टोपबहादुर र रामबहादुर पूर्व एउटै पार्टीका नेता भएकाले उनीहरुको मिलेमतोमा नेपालीलाई शरणार्थी बनाउने काम भएको हो भन्नेमा शंका छैन। प्रष्ट रुपमा भुटानी शरणार्थी नेता रिजालले टोपबहादुरको संलग्नता रहेको बताएका छन्। उनले बयानमा भनेका छन्, ‘नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरुबाट रकम लिने कार्यमा प्रतिवादीहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण केसी, प्रेमराज पन्थी, ईन्द्रजीत राई र टोपबहादुर रायमाझी संलग्न छन् भन्ने  मलाई थाहा छ।’

चार वर्षअघि टोपबहादुरलगायतले आफूलाई भुटानी शरणार्थीसहित केही नेपालीलाई अमेरिका लैजान सहयोग गर्न अग्रह गरेको नेता रिजालको बयानमा उल्लेख छ। उनले बयानमा भनेका छन्,‘टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीसहित केही नेपालीलाई भुटानीहरुकै नाममा अमेरिका लैजाने योजना छ र सो कार्यमा सहयोगी भूमिका खेलिदिन मलाई भनेका थिए।’ तर, टोपबहादुरले आफ्नो संलग्नता नरहेको जसरी बयान दिएका छन्।

यस्तै टोपबहादुरको र रामबहादुरको मिलेमतो रहेको अर्को प्रमाण अभियुक्त सानु भण्डारीले दिएको बयानले पुष्टि गर्छ। भण्डारी टोपबहादुरका नजिकका व्यक्ति हुन्। भण्डारीले टोपबहादुरका छोरा सन्दीपलाई ६९ लाख ६५ हजार पाँच सय रुपैयाँ २०७४ सालमा दिएको बताएका छन्। बयानमा भनेका छन्,‘वरामदी डायरीको पाना २९ शुक्रबार १५ माघ २०७२ साल लेखिएको पानामा सन्दीप रायमाझी भाइ दिएको रकम विवरण शीर्षकमा २०७२ साल वैशाख ४ गतेदेखि २०७४ चैत ३० गतेसम्म पटक–पटक गरी २० पटकमा ६९ लाख ६५ हजार पाँच सय दिएको भनी लेखिएको रकम लिने सन्दीप भन्ने व्यक्ति पूर्व उपप्रधानमन्त्री टापेबहादुर रायमाझीका आफ्नै छोरा हुन्।’

अभियुक्त भण्डारीले बयानमा टोपबहादुरले नै आफ्नो परिवारलाई अमेरिका पठाउने भनेर पैसा मागेको पनि उल्लेख गरेका छन्। ‘टोपबहादुरले मलाई र मेरो परिवरलाईसमेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर पैसा लिएको र पछि अमेरिका नपठाएको हुँदा पटक–पटक पैसा माग्दा दिएनन्।’

यसरी टोपबहादुरको नेपालीलाई शरणार्थी बनाउनेमा संलग्नता देखिएको छ। उनले आफ्नो बयानमा कुनै पैसा लिएको स्वीकारेका छैनन्। तर, एक विषय भने उनले आफ्नो संलग्नता रहेकोमा बल पुग्ने गरी बयान दिएका छन्।

पैसाको विषयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशवप्रसाद दुलाललगायतबीच विवाद भएको थाहा पाएको टोपबहादुरको बयान छ। ‘२०७७ साल पुस १६ गते काम विषेशले गृहमन्त्रालय गएको समयमा इन्द्रजीत राईको कार्यकक्षमा राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ,’ उनले बयानमा भनेका छन्।


यी तथ्य जसले टोपबहादुर नक्कली शरणार्थी प्रकरणको नाइके भएको पुष्टि गर्छन्


यसैगरी रामबहादुर थापाको संलग्नतालाई पुष्टि गर्ने गरी केशवप्रसाद दुलालले बयान दिएका छन्। लामो बयान दिएका दुलालले रामबहादुरले नै अमेरिका पठाइदिने भनेर आफ्नो छोरा प्रतीकमार्फत् मन्त्री क्वाटरमा पैसा लिएको बताएका छन्। उनले बयानमा भनेका छन्,‘तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत् मन्त्री क्वाटर पुलचोकमा बोलाई निज रामबहादुर थापा (बादल) राष्ट्रियसभाको चुनाव हुनुभन्दा अगाडि रु. ३ करोड नगदै लिएका हुन्।’

उनले यो प्रकरणमा रामबहादुरका छोरा प्रतीकले २०७६ साल असारमा नक्सालको थकाली भन्साघरको आँगनमा एक कारोड लिएको, तत्कालीन गृहसचिव हालका अख्तियार प्रमुख प्रेमकुमार राईले इन्द्रजीत राई मार्फत तीन करोड नगदै लिएको, तत्कालीन केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा टोपबहादुरका स्वकीय सचिव लिला जिसीमार्फत् २०७६ साल असारमा एक करोड रुपैयाँ लिएको बयान दिएका छन्।

यी माथिका अभियुक्तले दिएको बयानले टोपबहादुर–बादलको कनेक्सन रहेको पुष्टि गर्छ। तर, प्रहरी प्रशासनले रामबहादुर थापा ‘बादल’लाई स्वतन्त्र प्रमाण नपुगेको भन्दै अनुसन्धानको दायरमा लिन सकेको छैन।

प्रकाशित मिति: : 2023-05-26 16:20:00

प्रतिकृया दिनुहोस्