रुसी प्रधानमन्त्री चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

युक्रेनमा रुसले विशेष सैन्य कारबाही थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले बताएका छन्। 

पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन्। रुसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने तथा रुसप्रतिको चीनको सहायताको व्यापक आलोचना गर्दै हालै सम्पन्न जी सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिन आग्रह गरेको छ। 

रूस र चीनबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए। उहाँले एकताबाटै पहाडहरू पनि सार्न सकिने बताएका छन्।

चीन र रुसका प्रधानमन्त्रीबीच व्यापार तथा  सेवा क्षेत्रमा लगानी सहयोगलाई अझ सुदृढ बनाउने, चीनमा कृषि उत्पादन निर्यात गर्ने तथा रुसी ऊर्जा चीन ढुवानी गर्नेलगायत विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन्। 

प्रकाशित मिति: : 2023-05-25 05:32:00

प्रतिकृया दिनुहोस्