राष्ट्र निर्माणको बाटो तथा लक्ष्यमा जनता अपेक्षित मात्रामा उत्साहित छेैनन्, किन ?
आर्थिकलगायत देशको सर्वाङ्गीण विकास पथको एक प्रमुख अवरोधक राजनैतिक अस्थिरता अवश्य हो। यसको दृष्टान्त खोज्न टाढा जानु पर्दैन। हामी आफैं भएका छांै। नमिठो लागे पनि हाम्रो देशका सम्बन्धमा यो वास्तविकता स्विकार गर्नै पर्ने भएको छ। राजनैतिक अस्थिरताले हामीलाई कहिल्यै छोडेन।
राजनैतिक अस्थिरता, अति राजनीतिकृत प्रशासन र सर्वव्यापी भ्रष्टाचार नेै मुहान सरह हाम्रो गरिबी, न्यून उत्पादनशीलता, बेरोजगारी तथा अल्प विकासको प्रमुख कारण भइरह्यो। यस प्रकार हाम्रो देश एक किसिमले कहिल्यै नसकिने संक्रमणकालबाट गुज्रिरहेजस्तो अनुभूति आज पनि हुँदैछ।
समयक्रममा, राज्य रूपान्तरण योजनाअन्तर्गत, संविधानसभाको २०६४ साल जेठ १५ गतेको पहिलो बैठकबाट हाम्रो देश गणतन्त्रात्मक भएको छ। जति ठूलो स्वरमा यसलाई राजनैतिक छलाङ भने तापनि, क्रान्ति चेतनास्वरूप देशले अद्यापि अपूर्व आर्थिक फड्को मार्ने बाटो फराकिलो पार्न सकेको छैन। लाखौंलाख युवा रोजगारीको खोजीमा विदेश जान झन्झन् बाध्य भइरहेका छन्। खाद्यान्न पनि आयात गर्नुपर्ने परनिर्भरता बढ्दै छ। कृषि तथा आर्थिक क्षेत्रमा पनि कल्पनातीत संकटग्रस्त मुलुक हामी हुँदैछौ। नयाँ नेपालको सपना साकार हुने विश्वास आमजनतामा जगाउन सक्ने गरी वर्तमान संविधानको गतिशीलता तथा उद्देश्यमूलकसहितको निरन्तरताबारे ढुक्क हुन सक्ने स्थितिमा हामी छैनौ ।