अफगानिस्तानको पूर्वी प्रान्तबाट ७७ पेस्तोल बरामद

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा अफगान सुरक्षा बलले ७७ थान पेस्तोल बरामद गरेको छ। 

हातहतियार तस्करी नियन्त्रणका लागि चलाईएको अभियानमा ठूलो मात्रामा हतियार बनाउने सामानसहित अवैध ७७ थान पेस्तोल बरामद गरिएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको हाे।

कथित तस्करहरूले अवैध रूपमा हतियारहरू प्रदेशबाहिर सार्ने प्रयास गरिरहेका थिए, तर शनिबार राति डान्ड–ए–पाटन जिल्लामा नियमित जाँचको क्रममा प्रहरीले उनीहरूलाई रोकेको थियो।

तस्करहरू भाग्न सफल भएको स्वीकार गर्दै विज्ञप्तिमा दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ। सुरक्षा फौजले छिमेकी खोस्त प्रान्तमा विगत केही दिनयता पाँच थान एके–४७ र पाँच थान पेस्तोलसहित एक दर्जनभन्दा बढी हतियार बरामद गरेको छ।

अफगानिस्तानको कामचलाउ सरकारले सुरक्षा निकायभन्दा बाहिर बस्ने जोकोहीसँग पनि हातहतियार र गोलाबारुद संकलन गर्ने प्रतिवद्धता जनाएको छ। 

प्रतिष्ठानले विगत १८ महिनामा ट्यांक र बख्तरबन्द सवारी साधनलगायत हलुका र भारी हतियारका हजारौं थान सङ्कलन गरेको छ।

प्रकाशित मिति: : 2023-05-15 06:16:00

प्रतिकृया दिनुहोस्