नारायणकाजीले काम गरे, रवि लामिछानेले जस लिन खाेजे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’माथि भइरहेकाे अनुसन्धानकाे जस आफूले लिन खाेजेका छन्।

गृह मन्त्रालयकाे जिम्मेवारी सम्हालेपछि नारायणकाजी श्रेष्ठले गृह प्रशासनमा दर्जनाैँ सकारात्मक ‘एक्सन’ लिएका छन्।

शरणार्थी प्रकरणकाे फाइल श्रेष्ठले खाेले या खाेलेनन् भन्दा पनि राजनीतिक तहबाट नेपाल प्रहरीले गरिरहेकाे अनुसन्धान प्रकियालाई याे वा त्याे बहानामा प्रभावित गर्ने काम गरेका छैनन्।

यतिबेला गृहमन्त्री श्रेष्ठले गरेकाे कामकाे चारैतिर चर्चा र प्रशंसा भइरहेकाे छ। भुटानी शरणार्थी प्रकरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ। याे प्रकरणसँग जाेडिएका व्यक्तिहरू धमाधम पक्राउ भइरहेका छन्। कतिपय फरार छन्।

तर पूर्वगृहमन्त्री लामिछानेले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणकाे ‘फाइल खाेल्ने काम मैले गरेकाे हुँ’ भन्दै हिँडिरहेका छन्।

उनले रास्वपाका सांसदहरूलाई सामाजिक सञ्जालमा भाइरल भइरहेका विषयमा एकछत्र धारणा राख्न र शरणार्थी प्रकरणकाे जस दिन उर्दीसमेत जारी गरेका छन्।

महामन्त्री मुकुल ढकालमार्फत् उनले संसद र सडकमा नीतिगत विषयभन्दा आम–मानिसले फेसबुकमा रुचाउने खालका विषयमा मत राख्न आग्रह गरेको महामन्त्रीले अन्य सांसदहरूलाई सुनाएका छन्।

‘अब संसदमा बोल्दा मुकुलजीले फेसबुकमा भाइरल हुने विषय बोल्नुहोला रे, भन्नुभएको छ,’ रास्वपाका एक सांसदले भने, ‘अस्ती सोविताजीले बोलेको विषयले केही आलोचना खेप्नुपरेको भन्दै यसो भनिएको हो रे।’

नेपाली मिडियाले आफ्नो भनाइलाई खासै प्राथमिकता नदिएको भन्दै आ–आफ्नो फेसबुकलाई नै मूलधारे मिडियाकाे रुपमा रुपान्तरण गर्न र सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान आफूतिरै तान्न आग्रह गरेका छन्।

सडकदेखि सदनसम्म चलिरहेको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को विषयलाई मुख्य एजेन्डाकै रुपमा जनस्तरसम्म लैजानुपर्ने समेत उनको राय छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमाथि हस्तक्षेप नगरेपछि जताततै प्रशंसा भइरहेको छ। तर पूर्वगृहमन्त्री लामिछानेले शरणार्थी प्रकरणको फाइल आफूले खाेले जसरी प्रचारप्रचारमा खटिनसमेत पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।

‘रविजीलाई प्रचारको भोक नमरेजस्तो देखियो। सबैलाई थाहा भएको विषय पनि मैले गरेको हुँजस्तो कुरा गर्नुहुन्छ। तर के गर्नु घन्टीबाट चुनाव जितियो, उहाँको प्रचार नगरी सुखै छैन,’ रास्वपा अर्का एक सांसदले भने।

कानुन बनाएर भ्रष्ट, ठग र दलालहरूलाई प्रहरी खोरमा पुर्याउन सक्ने संसदमा चौथो दलको हैसियत पाएको रास्वपा यतिखेर ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै सडकमा उर्त्रिएको छ।

प्रकाशित मिति: : 2023-05-14 17:30:00

प्रतिकृया दिनुहोस्