बागलुङका पत्रकारद्वय खत्री र बोहोरा पुरस्कृत

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आफ्नो १५औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार जिल्लाका दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ।

शाखामा स्थापित ‘भक्त–जगत्कुमारी स्मृति पुरस्कार’ सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख जीवनखला खत्री ‘सरिता’ र ‘श्याम–चन्द्रकली स्मृति पुरस्कार’ ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालाई प्रदान गरिएको हो।

सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल र जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र पुरस्कारको प्रमाणपत्र प्रदान गरेका हुन्। दुवै पुरस्काको राशि रु १० हजार रहेको छ। 

गलकोट–७ मल्म निवासी हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुवाआमा भक्तबहादुर/जगकुमारी र श्यामबहादुर/चन्द्रकलीको स्मृतिमा पुरस्कार कोष स्थापना गरेका थिए। 

विसं २०७८ कात्तिकमा भएको सेन्टरको पाँचौँ जिल्ला सम्मेलनमा घोषणा भएका दुवै पुरस्कार पहिलोपटक पत्रकार खत्री र बोहोरालाई समर्पण गरिएको हो।  सेन्टरले निष्पक्ष, व्यावसाियक र खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई बर्सेनि पुरस्कृत गर्ने जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले जानकारी दिए।

प्रकाशित मिति: : 2023-05-14 06:51:00

प्रतिकृया दिनुहोस्