नक्कली शरणार्थी प्रकरण: लुम्बिनीका मुख्यमन्त्री चौधरी पनि अनुसन्धानको घेरामा

कांग्रेस सांसद आरजु राणा देउवा र प्रहरी खोरमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणनिकट मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमेत ‘भुटानी शरणार्थी प्रकरण’मा मुछिएका छन्।

‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै करोडौँ असुल्ने गिरोहको ‘नेक्सस’ मुख्यमन्त्री चौधरीसम्म फैलिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा ठगी गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र दाङका सन्देश शर्माले शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’हरूको संलग्नता देखाउँदै जाँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको नाम पनि पोलेको अधिकारीहरूले जनाएका छन्।

अभियुक्त शर्माले कांग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी (फरार) र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहयोग लिएर आफूहरूले तत्कालीन गृह सचिव टेकनाराण पाण्डेलाई सिंहदरबारभित्रै भेटेको बयान दिएका छन्।

गिराेहका नाइके दुलाल, भण्डारी र शर्मालाई बयानका क्रममा प्रहरीले गिराेहका नाइके गजेन्द्र र मुख्यमन्त्री चाैधरीकाे ‘कनेक्सन’ खाेतल्ने प्रयास गरेकाे छ।

‘सन्देश शर्मा भन्ने व्यक्तिले डिल्ली चाैधरीकाे नाम लिएका छन् तर याे नै सबै प्रमाण हाेइन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने। थुनुवाहरूले दिएकाे बयानलाई आधार मानेर थप अनुसन्धान अघि बढाएपनि एथेस्ट प्रमाण भने मान्न नसकिने प्रहरी स्राेतले भन्याे।

‘निज टेकनारायण पाण्डेलाई काठमाडौँ आएको बेला दुईपटक भेटेको हुँ, केही व्यक्तिहरूले मेरो नाम जोडेर प्रहरीमा उजुरी गरेपछि म त्यहाँ गएकाे थिएँ,’ बिएल नेपाली सेवालाई प्राप्त बयानमा उनले भनेका छन्, ‘दाङका केटाहरूलाई अमेरिका पठाउने विषयमा गजेन्द्र दाइ र डिल्ली दाइ (मुख्यमन्त्री)सँग कुराकानी हुँदैजाँदा निज पाण्डेको नाम भने सुनिरहेको थिएँ।’

पूर्वगृहमन्त्री खाँण, गिराेहका नाइके दुलाल, भण्डारी र शर्मालाई काठमाडाैँ प्रहरी परिसले पक्राउ गरेकाे दुई साता नपुग्दै मुख्यमन्त्री चाैधरी काठमाडाैँ आइपुगेका छन्। तर उनले आफू लुम्बिनी प्रदेश सरकारकाे मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटाउन काठमाडाैँ आएकाे बताएका छन्।

अमेरिकी पीआरधारी ठग गजेन्द्र बुढाथाेकीले सत्ता र पहुँचको आडमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस नेत्री आरजु राणा देउवा र तत्कालीन सचिव टेकनारायण पाण्डेलाई कैयाैँपटक गृह मन्त्रालयमै भेटेको र निरन्तर फोन सम्पर्कमा रहेको अभियुक्त सन्देश शर्माले प्रहरी अधिकारीलाई बताएका छन्।

त्यतिखेर तत्कालीन गृहमन्त्री खाँणलाई गजेन्द्रले भेटिरहँदा उनीविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही पीडितहरूले ठगी गरेकाे भन्दै उजुरी दिएका थिए। तर खाँणले मुख्यमन्त्री चौधरी र गजेन्द्रको आग्रह मान्दै पीडितहरूले दिएको उजुरीसमेत लुकाउन प्रहरीलाई बाध्य पारेका थिए।

करोडौँ ठगी प्रकरणमा मुछिएका दाङका गजेन्द्र बुढाथोकी र प्रहरी खोरमा रहेका सन्देशले ‘शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै राप्ती क्षेत्रका दुई सयभन्दा बढी व्यक्तिबाट लाखौँ पैसा असुलेको खुलासा भएको छ।

‘अमेरिका पठाइदिन्छौँ तर इलिगल होइन भनेर दाङका गजेन्द्र र सन्देशले म र मेरो साथीबाट ३३ लाख लिए। उनीहरूले पैसा लगे तर हामीहरूलाई अमेरिका पठाएनन्,’ अमेरिकी सपना देखेर गजेन्द्र र सन्देशमार्फत् ठगिएका एक पिडितले भने, ‘त्योबेला उजुरी गर्न जाँदा डिल्ली अंकलले मेरो बुबालाई भनेरै रोक्नुभयो। खै, हाम्रो पैसा डुब्यो।’

‘आफूहरूबाट २० देखि ५० लाख लिएपनि समयमै अमेरिका नपठाएको’ भन्दै पीडितहरूले प्रहरी गुर्हादा पनि फरार अभियुक्त गजेन्द्रको दबाबमा मुख्यमन्त्री चौधरीले धेरैलाई शान्त पार्ने काम गरेको पीडितहरूको गुनासो छ। उनीहरूले नक्कली शरणार्थी परिचयपत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन्।

‘उहाँ (मुख्यमन्त्री)ले पैसा खाएको चाहिँ थाहा भएन तर हामीहरूलाई प्रहरीकहाँ जान नदिने, अमेरिका पठाइदिन्छन् भनेर उजुरी गर्न नदिने काम डिल्ली चौधरीबाटै भएको छ,’ हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका दाङका एक पीडितले भने।

स्रोतकाअनुसार प्रहरी हिरासतमा रहेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण र गिरोहका नाइके केशव दुलालसँग फरार सूचीमा रहेका गजेन्द्र बुढाथोकीको भेट उनै चौधरीले गराइदिएका थिए। उनी पूर्वप्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवा–पत्नी आरजुनिकट मानिन्छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले समाचारमा उल्लेखित पात्र र परिवेशबारे आफू जानकार नभएको बताएका छन्। ‘जुन विषय अहिले आइरहेको छ, त्यसमा मेराे कुनै संलग्नता छैन। कथित बयानका क्रममा मेराे नाम लिएकाे भनिएका व्यक्तिलाई मैले आजसम्म देखेकाे–चिनेकाे पनि छैन,’ उनले भने।



सिंहदरबारमा भ्रष्ट, ठग र दलालहरूको रजगज

नक्कली शरणार्थी प्रकरणमा तानिँदै ‘हाई प्रोफाइल’हरू

नक्कली शरणार्थी प्रकरणमा शेखर कोइराला र सुजाता कोइरालाको पनि संलग्नता

प्रकाशित मिति: : 2023-05-12 21:35:00

प्रतिकृया दिनुहोस्