इजरायल–गाजा युद्ध अन्त्य गर्न आग्रह

इजिप्ट, फ्रान्स, जर्मनी र जोर्डनका विदेशमन्त्रीले इजरायल र गाजाका लडाकूबीच तीन दिनदेखि जारी हिंसा अन्त्य गर्न बिहीबार आह्वान गरेका छन्।

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले आफ्ना समकक्षीसँगको वार्तापछि भने,'रक्तपात अब अन्त्य हुनैपर्छ।'

जोर्डनका विदेशमन्त्री अयमान सफादीले पनि नकारात्मक घटनाक्रमको अन्त्य हुनुपर्ने र शान्ति पुनः स्थापना गर्नुपर्ने बताए। 

सफादीले ‘स्थितिलाई शान्त पार्नु’ र दीर्घकालीन शान्तिका लागि राजनीतिक विश्वास जगाउने उपायहरू सिर्जना गर्नु अत्यावश्यक भएको बताएका छन्।

केही महिनायताकै सबैभन्दा खराब हिंसात्मक झडपका कारण प्यालेस्टाइनमा २५ जनाको मृत्यु भएको छ।

इजरायली सेनाले मङ्गलबारदेखि गरेको हवाई आक्रमणमा लडाकुका साथै कैयौँ बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

गाजा पट्टीमा लडाकूहरूले इजरायलमाथि ५०० भन्दा बढी रकेट प्रहार गरेको र अहिलेसम्म कुनै हताहत नभएको इजरायली सेनाले जनाएको छ। इस्लामिक जिहाद लडाकू समूहले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलमा स्थानीय समयअनुसार बिहान ९ः०० बजे फेरि रकेट प्रहार गरिएको छ।

प्रकाशित मिति: : 2023-05-12 05:56:00

प्रतिकृया दिनुहोस्