र्‍यानएअरले ४० अर्ब अमेरिकी डलर बराबरको बोइङ ७३७ म्याक्स विमान मगाउने

फाइल तस्बिर
फाइल तस्बिर

आयरल्याण्डको विमान कम्पनी र्‍यानएअरले ४० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका बोइङ ७३७ म्याक्स विमान मगाउने निर्णय गरेको छ।

र्‍यानएअर विमान कम्पनीले मङ्गलबार जारी विज्ञप्तिमा भनेको छ, “कूल १५० आवेदन र नयाँ ईन्धन–कुशल विमानहरूको लागि १५० विकल्पहरू समावेश गरिएको यो घोषणाले ‘आयरिश कम्पनीले अमेरिका निर्मित सामानहरूको लागि राखेको अहिलेसम्मको सबैभन्दा ठूलो माग’ गरेको छ।” 

ती जेट विमानहरू सन् २०२७देखि २०३३ को बीचमा उपलब्ध गराइनेछ। यद्यपि, डबलिनस्थित कम्पनीले सम्झौताको आकार र स्वरूपको कारण सेप्टेम्बरमा हुने वार्षिक साधारण सभामा शेयरधनीको अनुमोदनको अधीनमा रहने बताएको छ।

यो घोषणा बोइङका लागि पछिल्लो आर्थिक उन्नतिको अवसर हो। बोइङ् कोभिड–१९, विश्वव्यापी मन्दी र दुई घातक दुर्घटनापछि ७३७ म्याक्सको लामो समयसम्म उडान स्थगनका कारण ठूलो मन्दीबाट गुज्रिरहेको छ।

एअरका प्रमुख कार्यकारी माइकल ओलेरीले बोइङको नयाँ ७३७ म्याक्स–१० विमानमा २२८ सिट क्षमता रहेको र यो हालको बोइङ विमानको तुलनामा २० प्रतिशत बढी भएको बताए। 

भर्जिनियाको मुख्यालयस्थित बोइङको आर्लिङ्गटनमा आयोजित हस्ताक्षर कार्यक्रममा ओलेरीले नयाँ विमानको लागत कम हुने, यसलाई कम हवाई भाडाका रुपमा प्रदान गरिने र यसले हाम्रो वृद्धिलाई गति दिने बताए। 

र्‍यानएअरका अनुसार २२८ सिट क्षमताको नयाँ जेट विमानले ठूलो रोजगारी अभियानसँगै यात्रुको सङ्ख्यामा वृद्धि गर्न मद्दत गर्नेछ।

सन् २०२३ को तुलनामा सन् २०३४ सम्ममा वार्षिक यात्रु आवागमनमा ८० प्रतिशतले वृद्धि गरी ३० करोड यात्रु पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ। 

यसको नयाँ लक्ष्यमा चालक दलका सदस्यसहित ईन्जिनियर र पाइलट गरी कूल १० हजार थप रोजगारीका लागि आवेदन माग्ने पनि जनाएको छ।

प्रकाशित मिति: : 2023-05-10 06:12:00

प्रतिकृया दिनुहोस्