संघर्षशील संजय 

कुनै पनि कार्यको उद्देश्य हासिल गर्न विभिन्न कार्यहरु, विभिन्न तहगत लक्ष्यहरु र विभिन्न व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन।त्यसैले कार्यक्रमलाई गन्तव्यमा पुर्याउन पनि व्यवस्थापकको महत्वपूर्ण भूमिका रहन्छ। यदि व्यवस्थापन पक्ष गतिहीन तथा अक्षम भयो भने कार्यक्रमको प्रभावकारितामा प्रश्न चिन्ह खडा हुन्छ।

व्यवस्थापन लिने व्यक्तिमा अरुलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डोर्याउन सक्ने विशिष्ट खुबी हुन जरुरी छ। यस्तै, विशिष्ट क्षमता र सम्भावना बोकेका व्यक्ति हुन्, संजय राई।

खोटाङ जिल्लाको साकेला ३ मा जन्मे हुर्केका संजय अहिले २६ वर्षका लक्का जवान भैसकेका छन्। काठमाडौँको रंगिन दुनियाँमा स्थापित हुन त कहाँ सहज छ र ! यद्यपि लगनशील र अथक मेहनतले संजय राईलाई म्युजिक भिडियोको क्षेत्रमा जम्न कुनै समस्या रहेन। ‘इभेन्ट प्रोडक्सन म्यानेजर’ उनको यो बेलाको चिनारी हो।

५ वर्षअघि राजधानी सहर काठमाडौँ छिरेका उनी बिना काम बस्नु पर्दाको छटपटी भिडियोमा काम गरेर मेट्ने हुटहुटी चलेको सुनाउँछन्। संजयको लगाव म्युजिक भिडियोमै थियो। ‘आफ्नो तलतल मेट्नलाई भिडियो रोजेँ’, संजय भिडियोतर्फ मोहित हुनुको कारण सुनाउँछन्।

उनी आफू गीत गाउँदैनन्, म्युजिक भिडियोमा अभिनय गर्दैनन्। तर, म्युजिक भिडियो सुटिङका सबै जिम्मेवारी बोक्छन्। लोकेशन हेर्नेदेखि लिएर सुटिङको सम्पूर्ण प्रबन्ध मिलाउँछन्। आफूले व्यवस्थापन सम्हालेका दर्जन जति म्युजिक भिडियोहरू सार्वजनिक भइसकेको उनले जनाए।

धेरै म्युजिक भिडियोको गुणस्तर एकदमै कमजोर हुने गर्छ। जानकारहरूका भनाइमा गीत र भिडियोको स्तर दिनानुदिन खस्किँदो छ। संजयको भनाईमा म्युजिक भिडियो रुचाउन गीत र भिडियोको तालमेल मिल्नु आवश्यक छ। अहिलेका गीत कस्ता छन् भनेर समीक्षा गर्नुभन्दा पनि गीत र भिडियोको तालमेल मिलाउने कुरामा ध्यान दिनुपर्ने राईको कथन छ।

गीत, संगीत र छायाँकन पक्षको गुणस्तरसंग उनको कामले लेनादेना राख्दैन। तर, आफ्नो व्यवस्थापकीय भुमिका रहेको भिडियो चर्चित हुनुको मजा बेग्लै रहेको संजय सुनाउँछन्। ‘सबैभन्दा ठूलो कुरा हामीले गीत हेर्दा पनि राम्रो लागोस्, सुन्दा पनि आनन्द आओस्’, उनले भने, ‘सबै कुराको तालमेल मिलाएर काम गर्ने हो भने म्युजिक भिडियोले लगानी उठाउँछन्।’

नेपाली सांगीतिक क्षेत्रमा चम्किएका गायिका मेलिना राई, संगीतकार बसन्त सापकोटादेखि प्रदेश लिम्बू, सुहाङ लिम्बूसम्म। एकसे एक चर्चितहरुको समीपमा रहेर उनले काम गरिरहेका छन्। गायिका मेलिना राई संजयको काम देखेर दङ्ग छिन्। भन्छिन्, ‘असल व्यवस्थापकीय गुण, सिप र अभ्यासका बारेमा उहाँ (संजय) पोख्त हुनुहुन्छ। उहाँसंग काम गर्न सहज अनुभूति हुन्छ।’

‘हामीले जुनसुकै माध्यमबाट काम गरे पनि गरेको कामबाट त सन्तुष्टि नै भइन्छ नि !’ निरन्तर काम पाइराखेकोमा संजय निकै खुसी छन्। यसै क्षेत्रमा आफू समर्पित रहने पनि उनले जनाए।

प्रकाशित मिति: : 2023-05-08 14:12:00

प्रतिकृया दिनुहोस्