नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा. राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गरेका हुन्।

साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गरेका थिए। सन १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन २०२१ मा ग्रहण गरेको थियो। हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन्। यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलो पटक प्रदान गरिएको हो।

अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रुपमा सञ्चालनमा आएका करिब तीन करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्याङ्क छ। यस्ता साना व्यवसायीले छ करोड १७ लाख जनालाई रोजगारी दिएका छन्। कम्पनीको पुँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रुपमा वर्गीकरण गर्ने गरिन्छ।

अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष डा. भण्डारी हुन भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हाल्छिन्। साउथ डकोटा स्टेट् युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हार्डवर्ड स्कूल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रुपमा एक वर्ष कामसमेत गरेका थिए।

अवार्ड प्राप्त गरेपछि भण्डारी र पौडेलले ह्वाइटहाउसले व्यवसायीका रुपमा गरेको सम्मानबाट पहिलो नेपाली अमेरिकी बन्न पाउँदा आफ्नो कामले सफलता चुमेको टिप्पणी गरे। अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारीसको उपस्थितिमा सो समूह सम्मानित भएको थियो। ‘यस्तो अवार्ड प्राप्त गर्नु मेरा लागि गौरवको क्षण हो, यो मेरो र श्रद्धाका लागि जीवनकै महत्वपूर्ण समय हो’, पौडेलले भने।

प्रकाशित मिति: : 2023-05-07 13:25:00

प्रतिकृया दिनुहोस्