‘राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका उपदेश मार्गदर्शक’

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय एकता सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश अहिले पनि उत्तिकै मार्गदर्शक भएको बताए।

दुई हजार पाँच सय ६७औँ बुद्धजयन्ती र उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले 'विभिन्न जाजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन बुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि हाम्रा लागि मार्गदर्शक सावित भएका छन्', भनेका छन्।

बुद्ध दर्शनलाई जीवनमा आत्मसात् गर्नुका साथै उनीद्वारा स्थापित चार आर्यसत्यलाई अवलम्बन गर्नसके मात्र पनि मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्कने सन्देशमा भनिएको छ। बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष नै सर्वस्वीकार्यता र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा यस्ता पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

बुद्ध सन्देशलाई विश्वभर फैलाउनुका साथै उहाँको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापना गर्न लाग्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले यस्ता पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2023-05-05 08:48:00

प्रतिकृया दिनुहोस्