ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी, क्रेमलिनले ‘झूट’ बोलेको ह्वाइट हाउसको भनाइ

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण रुससँग रहेको बताएका छन्। 

'हाम्रो विशेष सेवालाई प्राप्त प्रमाणका आधारमा ड्रोन आक्रमणमा ‘अमेरिका र युक्रेनको हात रहेको’ दाबी गरिएको हो,' पेस्कोभले क्रेमलिनमा ड्रोन आक्रमणको प्रयासबारे भने। 

पेस्कोभले संयुक्त राज्य अमेरिकाले यो बुझ्नु पर्दछ कि रूस आतंकवादी हमलामा आफ्नो सहभागिताको बारेमा सचेत छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले दुईवटा ड्रोन प्रयोग गरी हत्याको प्रयास गरेको रुसी प्रेस सेवाले बुधबार जनाएको थियो। 

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसको दाबी झुटो भएको बताएका छन्। उनले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीमा उक्त आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताए।  

रूसी प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा भएको कथित ड्रोन हमलामा आफ्नो संलग्नता रहेको आरोप लगाएपछि ह्वाइट हाउसले बुधबार आफ्नो संलग्नता अस्वीकार गरेको हो।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एमएसएनबीसीसँग भने, 'यसमा हाम्रो कुनै सरोकार छैन।'

किर्बीले बुधबार बिहान सीएनएनसँगको कुराकानीमा वासिङ्टनको कुनै भूमिका नरहेको र ह्वाइट हाउसले अझै पनि यस विषयमा प्रमाण खोजिरहेको बताएका थिए। उनले भने, 'हामीलाई त्यहाँ के भयो भन्ने थाहा छैन।'

क्रेमलिनमा भएको यो घटना रूसी र कब्जा गरिएको युक्रेनी भूभागमा हालै भएका अन्य विस्फोट र रेल दुर्घटनाका बीच भएको हो र आक्रमणलाई लिएर मस्कोले कीएभतर्फ औंला उठाएको छ।

पुटिनका लामो समयदेखि प्रेस सचिव रहेका पेस्कोभले  भने, 'यस्ता आक्रमणबारे निर्णय कीएभमा नभई वासिङ्टनमा गरिन्छ। 'कीएभले जे गर्न भनिएको छ त्यही मात्र गर्छ।'

किर्बीले युक्रेनले आफ्नो सीमाबाहिर गरेको आक्रमणलाई वासिङ्टनले समर्थन नगर्ने बताएका थिए। उनले थपे, 'हामी उनीहरूलाई युक्रेन बाहिर आक्रमण गर्न प्रोत्साहित गर्दैनौं र अनुमति दिँदैनौं। यस बिषयमा हामी उनीहरूसँग व्यक्तिगत तथा सार्वजनिक रूपमा स्पष्ट छौं।' 

सीएनएनसँगको कुराकानीमा के वासिङ्टनले पुटिनलाई वैध सैन्य लक्ष्यको रूपमा हेर्छ भन्ने प्रश्नमा किर्बीले भने, 'हामी कुनै पनि नेता (व्यक्ति)माथिको आक्रमणको समर्थन गर्दैनौं।'

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा अनुरोध गरिएको थप उन्नत हतियार र प्रतिरक्षा प्रणाली प्रदान गर्दै संयुक्त राज्य अमेरिकाले युक्रेनी सेनालाई हतियार प्रदान गर्न पश्चिमी राष्ट्रहरूको गठबन्धनको नेतृत्व गरेको छ। 

युक्रेनमा एक वर्षभन्दा लामो आक्रमणका क्रममा मस्कोले किभले वासिङ्टनबाट आदेश लिइरहेको बताउँदै आएको छ र पश्चिमा मुलुकले छद्म रूपमा रुसविरुद्ध युद्धको नेतृत्व गरिरहेको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति: : 2023-05-05 05:53:00

प्रतिकृया दिनुहोस्