बेलग्रेडको प्राथमिक विद्यालयमा गोली चल्दा नौ जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ। दशकौंदेखि यति ठूलो परिमाणमा स्कूलमा गोली चलेको थिएन। स्थानीय समयअनुसार बिहान ८ः४० बजे बेलग्रेडको व्राकर जिल्लामा रहेको एक प्राथमिक विद्यालयमा गोली चलेको थियो।

विद्यालय बाहिर कुरेर बसिरहेका विद्यार्थीहरू व्याकुल देखिएका कारण अभिभावकहरू घटनास्थलमा पुगेपछि प्रहरीले छिमेक सिल गर्न तुरुन्तै कदम चालेको थियो।

'घटनामा आठ बालबालिका र एक सुरक्षा गार्डको मृत्यु भएको छ भने छ बालबालिका र एक शिक्षक घाइते भएका छन्' गृह मन्त्रालयले भनेको छ।

सबै प्रहरी बलहरू अझै पनि घटनास्थलमा छन् र यस त्रासदीको कारणबारे सबै तथ्य र परिस्थितिहरू प्रकाश पार्ने काम गरिरहेका छन्।

बेलग्रेडको भ्राकर जिल्लाका अध्यक्ष मिलन नेडेलजकोभिकले विद्यालयका सुरक्षा गार्डले आक्रमणकारीको अगाडि आफूलाई राखेर थप मृत्यु हुनबाट रोकेको हुनसक्ने बताएका छन्।

नेडेलजकोभिकले विद्यालयबाहिर टेलिभिजनमा प्रत्यक्ष पत्रकारसँग कुरा गर्दै भने, 'गार्डले दुर्घटना रोक्ने प्रयासमा उहाँ पहिलो शिकार हुनुभएको थियो।' बुधबार बिहानै प्रहरीले गोली प्रहारपछि एक किशोरलाई पक्राउ गरेको जनाएको थियो।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रहरीले तत्काल उपलब्ध सबै गस्ती टोली घटनास्थलमा पठायो। त्यहाँबाट विद्यार्थी र विद्यालयको सुरक्षा गार्डलाई लक्षित गरी आफ्नो बुबाको बन्दुकबाट धेरै गोली चलाएको आशङ्का गरिएका कक्षा ७ मा अध्ययनरत एक संदिग्ध बालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ।'

प्रहरीले शङ्कास्पद आक्रमणकारीको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन वा कुनै सम्भावित उद्देश्यको बारेमा टिप्पणी गरेको छैन।

प्रकाशित मिति: : 2023-05-03 19:28:00

प्रतिकृया दिनुहोस्