डा. केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह त्यस्ता जब्बर र निडर ठकुरी परिवारमा जन्मिएका व्यक्ति हुन्। जसका पुर्खाले आफ्नाे राज्यको अस्तित्व जोगाउन दलबलसहितको हतियारले सुसज्जित बहादुर शाहका सेनासँग आत्मसर्मपण नगरी युद्धमा हाम फालेका थिए। आफ्नै ज्यानको बलिदानी दिएका थिए।
डा. केआई सिंहको जीवनका अधिकांश घटना सुनिएकै हुन्। उनको शिक्षा प्राप्ति, मिलेटरी जीवन र डाक्टरी पेशा धेरैलाई थाहा छ। नेपालमा उनले गरेको राजनीतिक संघर्ष र प्रधानमन्त्री भएसम्मका कुराहरु अवगत नै छन्। तर उनको ग्रामीण राजनीति कस्तो रह्यो? उनको गाउँप्रतिको लगाव कस्तो थियो? आफू जन्मिएको ठाउँमा उनले के गरे? त्यसको खोजी कमै भएको छ।
आधा दिनका अर्जुन मल्ल, आधा दिनका अर्जुन शाही भएको ठाउँ हो, डुम्राकोट। दिपायलबाट साथमै ल्याएको भैरव देवता कोटको प्रवेश बिन्दुमै स्थापना गरिएको छ। जामुनको बोटमा बनेको न्यायिक चौतारो जस्ताको त्यस्तै देखिन्छ। डोटी राज्यको गर्विलो इतिहास बोकेको छ, डुम्राकोटले। त्यही गाउँमा वि.स. १९६३ वैशाख महिनामा डा. केआई सिंह जन्मिएका थिए। सोही स्थानमा अहिले केआई सिंह संग्रहालयको भवन निर्माण भएको छ।
केआई सिंहले आठ वर्षको बाल्यकाल त्यही परिवेशमा बितेका थिए। अहिले गाउँका सबै घरहरु सुनसान छन्। केही घरहरुलाई बनमाराले गाँजेको छ। मान्छेले संरक्षण गर्न नसकेका घरलाई रुख र झाडीले अंगालेका छन्। मान्छेले प्रेम गर्न भुलेका घरहरुलाई रुखहरुले भुल्न सकेनछन् सायद।
०००
सुदूरपश्चिमबाट पहिलो प्रधानमन्त्री बनेका केआई सिंहले विभिन्न विद्रोह गरे। सिंहदरबार कब्जा गरे। २००७ सालमा भएको दिल्ली सम्झौता धोका हो भनेर आवाज बुलन्द गरे। यो कुरा इतिहासमा इंकित भएकै छ। उनको विद्रोह यति मात्रै थिएन। त्यसबेला ठकुरीहरु हलो जोत्दैन थिए। तर उनको स्वभाव र चेतना स्तर फरक थियो। घर गएको बेला कोटको न्यायिक चौतारोमा भाइ-भैयादहरुलाई बोलाए। ‘पछिका दिनहरु यस्ता रहने छैनन्। हामीले आफैँ हलो जोत्नुपर्छ।’ यही कुरा उठाएछन्। तर त्यसबेलाको समाजले उनको कुरा नस्विकारेको बुढापाकाहरु अहिले पनि सुनाउँछन्।
उनी गाउँगाउँमा पुगेर किसानका पक्षमा कुरा गर्थे। उनले गरेको राजनीतिक संर्घषका कारण सबैमा राम्रै प्रभाव थियो। उनका प्रशंसकहरु धेरै थिए। केआई सिंहले जातीय विभेद र गरीबहरुमाथि दमन गर्नु हुँदैन भने। तल्लो जात भनिएका मान्छेहरुलाई छोए पनि त्यसबेलाका मान्छेहरु छोइछिटो (सुनपानी) नहाली भित्र पस्दैन थिए। तर डा. सिंह धेरै पटक दलितका घरमा बास बसेका थुप्रै घटनाहरु सुनिन्छन्।
आफ्नो राजनीतिक जीवनमा पश्चिम नेपालको मोर्चा सम्हालेका डाक्टर बेलाबेला गाउँ पुगिरहन्थे। जनताका पक्षमा बोल्दथे। विभेद र दमनका विरुद्धमा कुरा गर्थे। उनी परिवर्तनका पक्षधर मात्रै नभएर संस्कृति र परम्परालाई जोगाउनुपर्छ भन्नेमा उत्तिकै सकारात्मक थिए। यो कुरा उनले गरेका क्रियाकलापहरुबाट प्रमाणित हुन्छ।
नेपाल एकीकरणका बेला डोटी राज्य र गोर्खाली सेनाको युद्ध भयो। युद्धमा सोह्र बिसि पल्टनलाई बिकुल बजाएर परेड खेलाएको र नरसिंहा बजाएर साहसिक भूमिका निर्वाह गरेको योद्धा थिए, मधुवा आउजीले। अन्तमा उनको पनि दुखद् देहान्त भयो। सेती नदीमा हाम फालेर उनले वीरगति प्राप्त गरे। तिनै मधुवा आउजीका सन्तानहरुले त्यसबेला नगरा बजाएर कोटमा बडाइ गर्थे। पछि डा. केआई सिंहले उक्त परम्परालाई निरन्तरता दिनुपर्छ भन्ने सोचे। नयाँ नगरा र दमाह बनाउन लगाए। उनले बनाउन लगाएका दमाह र नगरा अझै पनि जैदेव आउजीका छोराको घरमा छँदै छन् भनिन्छ।
वि.स. २०१४ सालमा देशको प्रधानमन्त्री भइसकेपछि डाक्टर सिंहको डोटी आवतजावतले निरन्तरता पाइरह्यो। बेला-बखत गाउँ पुगिरहे। २०२२ सालमा घर आएका बेला विभिन्न देवी-देवताका मठ मन्दीरहरुमा घण्टहरु चढाए। डा. केआई सिंहको नाम लेखिएका ती घण्टहरु, माडुहरु सुरक्षित छन्।
वि.स. २०२७ सालमा राष्ट्रिय पञ्चायतको चुनाव हुने भयो। चुनावमा उम्मेदवारी दिन गाउँ पञ्चायतको सदस्य भएकै हुनु पर्दथ्यो। गाउँ पञ्चायत सदस्यबाट उम्मेदवार चयन भएपछि जिल्लामा राष्ट्रिय पञ्चायतको सदस्यका लागि उम्मेदवारी दिन पाइन्थ्यो। ०२७ सालको चुनाव लड्न डा. केआई सिंह ६ महिना अगाडि २०२६ सालमा डोटी आए।
०००
डुम्राकोटबाट नजिकैको गाउँ हो, वायल। दिपायलबाट वायलको बाटो भएर आवतजावत गर्थे, डा. केआई सिंह। मंसिरको महिना, घाम लागेको मौसम थियो। झिमे प्राईमरी स्कुलमा पाँच कक्षासम्म पढाइ हुन्थ्यो। बाहिरबाट आएका मान्छेहरु शिक्षकको सम्पर्कमा आउँथे। तल्लो र मल्लो गरी स्कुलका दुईवटा भवन थिए। मल्लो भवन नयाँ बनेको थियो। त्यहाँ अफिस थियो र पाँच कक्षाको पढाइ हुन्थ्यो।
दिउँसोको समय झोला बोकेका एक जना मान्छे सँगै एकमानको जुँगा र हट्टाकट्टा ज्यान भएका अर्को मान्छे स्कुलमा आइपुगे। ती जुंगा भएका मान्छेलाई मास्टरले नमस्कार गरे। बस्न भनेर कुर्ची दिए। सबैले नमस्कार गर्ने मास्टर। मास्टरले पनि नमस्कार गर्ने ती व्यक्ति को होलान्? पाँच कक्षामा पढ्ने एक हुल विद्यार्थी उनलाई हेर्न झुम्मिए।
विद्यार्थीहरुले उत्सुकतापूर्वक हेरिरहेपछि मास्टरले केहीबेरमै विद्यार्थीहरुलाई चिनाउँदै भनेका थिए अरे, ‘देशको प्रधानमन्त्री भैसकेका मान्छे, हाम्रा नेता हुन्।’ तब सबै विद्यार्थीहरुले नमस्कार गरेछन्। ती तिनै डा. केआई सिंह थिए, जो राष्ट्रिय पञ्चायतको चुनाव लड्न गाउँ आएका थिए। गाउँमा उनलाई ‘केआई सिंह डाक्टर’ भनेर चिन्ने गरिन्थ्यो।
त्यसबेला वायलको ग्रामीण राजनीतिमा अग्रपंक्तिमा रहेका कालिदास पाण्डेय, रामचन्द्र जोशी, बमबहादुर कार्की, भगि खड्का, देवी प्रसाद पाण्डेय, गौरीलाल पाठकलगायतका मान्छेहरु पनि स्कुलमा आए। डाक्टर आएको थाह पाउने बित्तिकै एकपछि अर्को हुँदै गाउँगाउँबाट अरु मान्छेहरु पनि आउन थाले। डा. सिंहले वायलबाट गाउँ पञ्चायतको चुनाव लड्ने इच्छा जाहेर गरे।
उनको आग्रहलाई सबैले तल्काल स्वीकार गरे। ‘हाम्रो नेता केआई सिंह जिताउँ,’ भन्दै पाँच कक्षामा पढ्ने विद्यार्थीहरुले मास्टरले लेखिदिएको नारा लगाए। फूल, माला, अबिर र बाजागाजाका साथ उनलाई दुर्गादेवीको मन्दिरमा पुर्याइयो। त्यहाँ त्यसबेलाका गाउँ पञ्चायत सदस्य देवी प्रसाद पाण्डेले आफूले गाउँ पञ्चायतबाट राजीनामा दिए। डा.केआई सिंहलाई अबिर र माला लगाइदिएर गाउँ पञ्चायत सदस्य भएको घोषणा गरे।
त्यसपछि डाक्टरले भावुक हुँदै मन्दिर प्रांगणमा भाषण गर्दै भनेका थिए अरे, ‘म यस्तै काठमाडाैँ फर्केको भए प्रधानमन्त्री भएको मान्छेले उम्मेदवारी पाएन भनेर मेरो इज्जत रहने थिएन। यो ठाउँले मेरो इज्जत बचाइदिएको छ। उसै पनि सुन्दर यो ठाउँलाई विकासको लागि पहिलो प्राथमिकता दिनेछु।’
उनको चुनाव लड्ने योजना सफल भयो। वायलमै रामचन्द्र जोशीको घरमा उनको बस्ने प्रबन्ध मिलाइयो। ६ महिनासम्म डा. केआई सिंह जोशीको घरमा बसे। त्यहींबाट चुनावको तयारी गरे।
त्यसबेला डोटीमा अर्का चर्चित व्यक्ति थिए, खडक बहादुर सिंह। उनलाई राजा महेन्द्रको नजिकका मान्छे भनेर समेत चिनिँदो रहेछ। खड्क बहादुर सिंह, डा. केआई सिंहको विपक्षमा उभिए। उनले लक्षी भण्डारीलाई चुनावमा प्रतिस्पर्धी उम्मेदवारको रुपमा उभ्याए। निर्वाचन सम्पन्न भयो। डा. केआई सिंहले बहुमतले विजय हाँसिल गरे। राष्ट्रिय पञ्चायतको सदस्य बन्न सफल भए।
०००
‘केआई सिंहका प्रताप चिया खानाकी दास्ती तोड्यौं। अघिपछि एक टिको लगाउनलाई रङ्ग नै पाइन्थयो। केआई सिंह डाक्टरले चुनाव जितेपछि त सिलगढीको बजारै रङ्गी गयो।’ चुनावको प्रसंग सिलगढी गएका मान्छे सुनाउँथे अरे। त्यसरी चुनाव जितेर गएका डा. सिंहले केही गर्लान् भन्ने धेरैमा ठुलो आस थियो। तर उनले भनेको जस्तो गर्न सकेनन्।
देशको अवस्था प्रतिकूल थिएन। धनगढी आएका बखत भेटेका मान्छेसँग एउटा खबर पठाए, ‘मैले पाउने भत्ता तीन सय रुपैयाँ हो। त्यसले केही हुन्छ भने त्यो दिउँला, हैन भने मबाट अरु आश नगरे हुन्छ।’ डाक्टरले यसो भनेपछि भेट्न गएका मान्छेहरु निरास हुँदै फर्किए।
केही समयपछि दुई हजार रुपैयाँ गाउँमा आयो। त्यो केआई सिंहले बाटो काट्न भनेर विकासका लागि पठाएको बजेट थियो। गर्खाभरिका सबैले सल्लाह गरे। गाउँमा प्राइमरी स्कुल मात्रै थियो। स्कुललाई मिडिल स्कुल बनाउने कुरामा सहमति भयो। त्यो पैसा स्कुलको खातामा जम्मा गरियो। नपुगेको चन्दा संकलन गरेर प्राइमरी स्कुललाई मिडिल स्कुल बनाइयो। बाटोका लागि पठाएको पैसा स्कुलमा लगानी गरेर बाटो श्रमदानमा काटियो।
डाक्टर गाउँ फर्केलान् भन्ने आशमा वर्षौं बिते। मिठो भाषण गरेर गएका केआई सिंह डाक्टर गाउँ फर्केर आएनन्। उनले गाउँ फर्किन चाहेनन् या कुनै उल्झनमा परे, गाउँका मान्छेले जानेनन्। वि.स. २०३९ सालमा उनी बिरामी थिए। उपचारको क्रममा थाइल्याण्डको बैंककमा ऐतिहासिक पुरुषले चोला बदली गरे। सदाका लागि संसार छोडेर गए।
उनले बजेट पठाएर काटिन सुरु गरेको बाटो लम्बिँदै गयो। बाटोको स्वरुप बद्लियो। दिपायल बोगटान सडकको नाममा करोडौं बजेट सकियो। बाटो गतिलो कहिल्यै बनेन। सवारी दुर्घटनामा परेर धेरै मान्छेहरु दिवंगत भए। हाल भने सडक निर्माणले आश लाग्दो गति लिएको छ।
उनकै नामबाट के.आई. सिंह गाउँपालिका नामाङ्कन भएको छ। जुन आँगनमा उनले चुनावको समर्थन पाएका थिए। उनलाई जनताले अबिर र माला लगाइदिएका थिए। आज त्यही आँगनमा के.आई. सिंह गाउँपालिकाको कार्यालय स्थापित छ। उनी जन्मेको माटोमा के.आई. सिंह संग्रहालयको भवन उभिएको छ। तर उनले परिकल्पना गरेको विकासको प्राथमिकता के थियो, कसैले आभास गर्न पाएनन्। सुनिन्छ, डोटी-अछाम रापवेको परिकल्पना उनले उहिल्यै गरेका थिए अरे।
यही ठाउँबाट राष्ट्रले जनताको पक्षमा अडिग देशका लागि योगदान दिने योद्धा पाएको थियो। त्यही योगदानको कदर गर्दै गाउँ र ठाउँले उनको नाम दिएको छ। उनले पूरा गर्न नसकेको सुन्दर नगरीको सपना पूरा हुने दिनको पर्खाइ अझै सकिएको छैन। उनका पाइतालाका डोबहरु नियाल्न उनकै नामको सरकारले सकारात्मक प्रयास थाल्ने अपेक्षा अझै बाँकी छ।