पूर्वका चर्चित गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को पाथीभरा माताकाे नाममा समर्पित गरिएको भजन 'पाथिभरा माताकी जय जय जय' सार्वजनिक भएको छ।
गायक लुईटेलको स्वर, शब्द तथा संगीतमा रहेको सो भजनमा जाेनी तामाङकाे एरेन्ज रहेकाे छ। सुमन तामाङको छायांकन रहेकाे भजनकाे भिडियोमा गायक बाेकेदाह्रीका साथै, ज्याक, खेमराज भट्टराइ, कृष्ण सुवेदी लगायतको अभिनय रहेकाे छ। भिडियाे हेमन्त तामाङले सम्पादन गरेका हुन्।
ए बा किन्देउ न भट्भटे, बाँके बर्दिया, डाँडाघरे काका मरे, सुनकाे सिक्री लगायतका दर्जनौँ कमेडी गीत मार्फत लोकप्रीय बनेका लुइटेलकाे 'पाथिभरा माताकी जय जय जय' भजन भर्खरै सार्वजनिक भएको हो।
पाथिभरा माताकाे भजन भएकोले अन्य गीतकाे तुलनामा फरक तथा आध्यात्मिक संदेश बाेकेकाे गायक लुइँटेलले जानकारी दिए। उनले 'पाथिभरा माताकी जय जय जय' बाेलकाे भजन ताप्लेजुङकाे पाथिभरा मन्दिर क्षेत्रमा पुगेर छायांकन गरिएको उल्लेख गरे।