लुटपाटको उद्देश्यले निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष, ८ मिनेटमा मारेर भागेका थिए विनोद

BreaknLinks
BreaknLinks

काठमाडौँको कपनमा निरा पाण्डे (आचार्य)को लुटपाटको उद्देश्यले हत्या भएको खुलासा भएको छ।

भाँडा पसल गर्दै आएकी निरा आचार्य यही वैशाख ७ गते घाइते अवस्थामा भेटिएकी थिइन्। शरीरमा करिब २० पटक चक्कु प्रहार गरिएको अवस्थामा भेटिएकी उनको सोही दिन त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

निराको मृत्यु भएको ९ दिनपछि हत्याको आशंकामा झापाको बिर्तामोडबाट पक्राउ परेका विनोद विश्वकर्माले लुटपाटको उद्देश्यले उनको हत्या गरेको बताएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार विनोदले निराको सिक्री लुटेर काठमाडौँकै एक पसलमा बिक्री गरेको भेटिएको छ।

लामो समयसम्म निराको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख एआइजी किरण ब्रजाचार्यको नेतृत्वमा अनुसन्धान टोली बनाइएको थियो। सो टोलीले विनोदलाई शनिबार राति झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेसँगै घटनाको रहस्य खुलेको छ।

वैशाख ७ इन्ड्राइभमार्फत घटनास्थल पुगेका विनोदले ८ मिनेटको बिचमा निराकाे हत्या गरेको खुलेको छ।

प्रहरी प्रारम्भिक निष्कर्षअनुसार दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थलमा पुगेका विनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए।

प्रहरीकाअनुसार सामान किन्ने बहानमा पसलमा पसेका विनोदले सिक्री लुट्न खोजेपछि निराले प्रतिकार गरेकी थिइन, त्यस क्रममा विनोदले निराको हत्या गरेर फरार भएका थिए।

पक्राउपछि विनोदले हत्या गरेको स्वीकारे पनि थप कारण खुल्न सकेको छैन। विनोदलाई आजै काठमाडौँ ल्याएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

विनाेद काठमाडौँकाे एक नाइट क्लबका बाउन्सर हुन्।

प्रकाशित मिति: : 2023-04-30 13:11:00

प्रतिकृया दिनुहोस्