अख्तियारले थाल्यो कर्णाली प्रादेशिक अस्पतालको घोटाला छानबिन

फाइल तस्विर
फाइल तस्विर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कर्णाली प्रादेशिक अस्पतालमा भएको घोटाला छानबिन सुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका प्रवक्ता भेषराज रिजालले उजुरीका विषयमा छानबिन अगाडि बढेको बताएका छन्। ‘माथिबाट छानबिन गर्नु भने बमोजिम अस्पतालबाट फाइलहरु झिकाउँदैछौँ, सबै जाँच/बुझ गरेपछि थाहा हुन्छ,’ प्रवक्ता भेषराजले बताए।

हिमालयन म्यासेज पत्रिकाले स्वास्थ सामग्री खरिदमा करोडौं घोटाला गरिएको भन्दै मुद्दा दर्ता गरेपछि छानबिन सुरु गरिएकाे हाे। कर्णाली प्रदेश अस्पताल सुर्खेतले थ्री टेस्ला एमआरआई मेसिन खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै निवेदन परेको थियो।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पतालले २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा निजी कम्पनीलाई  खरिद गर्न जिम्मा दिएको छ। यद्यपि, यसको मूल्य कम रहेको छ। सोही मेसिन सिभिल अस्पतालले २२ करोडमा खरिद गर्दैछ।

अस्पतालका डाइरेक्टर डा.डम्बर खड्का अहिलेका बहालवाला उपप्रधान तथा रक्षा मन्त्रीका सहोदर भाइ हुन्। दाइ उपप्रधानमन्त्री भएको कारण पनि छानबिन प्रभावित हुनसक्ने देखिन्छ।

एक जना स्थानीय नेता भन्छन्,‘उहाँहरुसँग खेल्नु भनेको आगोसँग खेल्नु जस्तै हो, सत्ताका अगाडि अख्तियारले माखो हल्लाउन सक्दैन, डिसमिस हुन्छ यो केस।’

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने भन्दै सामाजिक विकास मन्त्रालयमा फाइल अड्किएको छ। मन्त्रालयले कसैको व्यक्तिगत इच्छा पूरा गर्न प्रतिष्ठान बनाउन नसकिने भन्दै अध्ययन आवश्यक रहेको भनेर फाइल रोकेको छ। मन्त्रालयका सचिव सन्तबहादुर सुनारले हचुवाको भरमा प्रतिष्ठान बनाउन नसकिने प्रतिक्रिया दिइरहेका छन्।

सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेललाई ल्याउनुको पछाडि पनि प्रतिष्ठान बनाइ छोड्ने योजना रहेको जानकार बताउँछन्। सामाजिक विकास मन्त्रालयमा सरल र सोझा मान्छेलाई काङ्ग्रेसले मन्त्री बनाउनुको प्रमुख कारण त्यही रहेको काङ्ग्रेसकै स्थानीय नेताहरू बताउने गर्छन्।

स्वास्थ विज्ञान प्रतिष्ठान बनाएर नेतृत्व लिने गरी डाइरेक्टर डा.डम्बर खड्का लागिपरेका छन्। उपकुलपति बन्न प्राध्यापक बन्नु अनिवार्य रहेका कारण जुम्लामा रहेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमार्फत् डा.खड्काले प्राध्यापकको उपाधि लिइसकेका छन्। उनले लिएको प्राध्यापक पद पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

प्रकाशित मिति: : 2023-04-29 08:37:00

प्रतिकृया दिनुहोस्

    वकम्फुसे

    • एक बर्ष अगाडि
    • खगेन्द्र