ठेकेदारको लापरवाहीले पाँच पुल अधुरै

File Photo
File Photo

बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच पुल अधुरै छन्। लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन्। 

लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर ललितबहादुर न्यौपानेले जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भा/सिद्धार्थ दर्शन जेभीले ठेक्का पाएका तीन र अञ्जना यादव जेभीले ठेक्का पाएका दुईवटा पुल अझै अधुरै छन्।

ती पुलमध्ये गाल्भाले निर्माण गरिरहेका तीन पुलको काम सम्पन्न गर्नुपर्ने समय एक वर्ष थपिएकामा सो समय पनि सकिन लागेको र अञ्जना यादव जेभीले निर्माण गरिरहेको दुई पुलको समेत सम्झौता म्याद सकिए पनि पुल अधुरै रहेको छ। वर्षायाम सुरु हुन लाग्दासमेत पुलको काम सम्पन्न नभएपछि स्थानीयवासीलाई आवतजावतकै चिन्ताले सताउन थालेको खजुरा–२ का अगुवा कृषक गेहेन्द्र धितालले बताए।

किरणनाला खोलामा पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत र कृषि उपज नेपालगञ्जसम्म पुर्याउन धेरै कठिनाइ हुने गरेको उनको भनाइ छ। खजुरा गाउँपालिका–२ ‘सी’ गाउँस्थित किरणनालामा निर्माणाधीन पुल गाल्भाले बनाउन लागेको २० महिना भइसक्यो। पच्चीस मिटरको सो पुल २०७९ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी कम्पनीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो तर हालसम्म ३५ प्रतिशतमात्र काम भएको छ।

गाल्भाले नै बाँकेको वैजनाथ गाउँपालिका–५, वनखेतमा रहेको किरणनालामा २५ मिटरको पुल र जानकी गाउँपालिका–४ छत्रपुरमा रहेको किरणनालामै २५ मिटरको पुल निर्माण सोही समयमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। तर सम्झौताको निर्धारित मितिसम्ममा कम्पनीले दुवै पुलको काम करिब ४० प्रतिशतमात्र पूरा गरेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर न्यौपानेले बताए।

गाल्भाले खजुराको किरणनालामा रु पाँच करोड ८५ लाख, वैजनाथको वनखेतमा रु चार करोड ७२ लाख र जानकीको छत्रपुरमा पुल निर्माणका लागि रु पाँच करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो। कम्पनीले खजुरा गाउँपालिकाको पुलको काम ४५ प्रतिशत सम्पन्न गरेको छ भने वैजनाथमा ५० प्रतिशत र जानकीमा ३० प्रतिशतमात्र काम सम्पन्न गरेको छ। थपिएको म्याद सकिन चार महिनामात्र बाँकी रहेकाले कम्पनीले काम सम्पन्न गर्न नसक्ने स्थिति देखिएको छ।

बाँकेमा दुईवटा पुलको ठेक्का पाएको अञ्जना यादव जेभी अहिले सम्पर्कविहीन छ। उक्त कम्पनीले निर्माण गरिरहेको दुईवटा पुलको सम्झौता मिति सकिए पनि कम्पनी सम्पर्कमा नआएको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख न्यौपानेले बताए। उक्त कम्पनीले २०७८ भदौमा खजुरा गाउँपालिका–१ मा ३० मिटरको पुल रु पाँच करोडमा निर्माण गर्ने सम्झौता गरेको थियो। एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो तर निर्धारित समय पूरा भए पनि अझै पुल निर्माण सकिएको छैन।

गाउँपालिकामा अधुरा रहेका पूर्वाधार विकासका योजना सम्पन्न गराउन सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरे पनि काममा प्रगति हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए। उनले गाउँपालिकामा निर्माणको काम गरिरहेका सबै निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न पत्राचार गरिएको बताए।

प्रकाशित मिति: : 2023-04-26 10:48:00

प्रतिकृया दिनुहोस्