फिलिपिन्समा सेनाले कम्युनिष्ट नेताको हत्या गरेको विद्रोहीको दावी

फाइल तस्बिर
फाइल तस्बिर

विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहको नेतृत्व गरेका फिलिपिन्सका एक दम्पतीको केही महिनाअघि हत्या भएको कम्युनिस्ट विद्रोही र सुरक्षा अधिकारीहरूले बिहीबार बताएका छन्।

कम्युनिस्ट विद्रोही नेता बेनिटो टियाम्जोन र उनकी पत्नी विल्मा टियाम्जोन दशौं हजारको ज्यान जाने गरी भएको द्वन्द्व अन्त्य गर्न नर्वेमा भएको वार्तालाई सघाउन जमानतमा रिहा गरिएको एक वर्ष पछि सन् २०१७ देखि फरार थिए।

तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले शान्ति स्थापनामा चासो नदेखाएको आरोप लगाउँदै शान्ति वार्ता स्थगित गरी फिलिपिन्सको कम्युनिस्ट पार्टी (सीपीपी) र यसको सशस्त्र शाखालाई ‘आतंकवादी सङ्गठन’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए।

टियामजोनले सिर्जना गरेको सीपीपीको न्यू पिपुल्स आर्मीले ५० वर्षभन्दा बढी समयदेखि एसियाको सबैभन्दा ठूलो धनी–गरीब विभाजनहरू मध्ये एक सिर्जना गरेको प्रणालीलाई उल्टाउन सङ्घर्ष गरिरहेको छ।

सीपीपीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै आफ्नो केन्द्रीय समितिले अगस्टमा तियामजोन र अन्य आठ जनालाई सेनाले यातना दिएको र मारेको निष्कर्ष निकालेको जनाएको छ।

फिलिपिन्सको सेनाको आठौं इन्फेन्ट्री डिभिजनका प्रवक्ता क्याप्टेन जेफरसन मारियानोले समर प्रान्तको मध्य शहर क्याटबालोगननजिकै समुद्रमा भएको गोली हानाहानमा १० जना विद्रोही मारिएको बताएका छन्।

'उनीहरूको डुङ्गालाई हाम्रो सेनाले पक्रन लागेको समय उनीहरूले जवाफी फायर गरे। त्यसपछि कुनै पनि कारणवश अचानक डुङ्गा विस्फोट भयो' मारियानोले एएफपीलाई बताए। 

उनले मारिनेहरूको पहिचान हुन नसके पनि उनीहरूलाई ‘उच्च मूल्यको लक्ष्य’ को संज्ञा दिएका छन्।

सीपीपीका अनुसार उक्त समूह समरको राजमार्गमा निहत्था यात्रा गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो।

'केन्द्रीय समितिले संकलन गरेको जानकारीअनुसार टियामजोनले अपहरणकारीको हातबाट गम्भीर कुटपिट भोगेका छन्' विज्ञप्तिमा भनिएको छ। 

फिलिपिन्सका राष्ट्रिय सुरक्षा सल्लाहकार सेक्रेटरी एडुआर्डो एनोले अधिकारीहरूले लामो समयदेखि तियामजोनहरू मरेको आशङ्का गर्दै आएको बताए। 

'अन्ततः उनी (आतङ्ककारी)हरू हामीमध्ये धेरैले धेरै महिनाअघि नै शङ्का गरेको कुरा स्वीकार्न बाध्य भएका छन्' एनोले एक विज्ञप्तिमा भनेका छन्।  

सन् २०२० मा मनिलाको एक अदालतले सन् १९८८ मा मनिला नजिकै चार सैनिकको अपहरण गरेको अभियोगमा उक्त दम्पतीलाई ४० वर्षको जेल सजाय सुनाएको थियो। अपहरण गर्ने विद्रोही लडाकूहरूलाई कुनै क्षति नपुर्याइ छोडियो।

एनपीए फिलिपिन्सको सबैभन्दा घातक सशस्त्र समूहमध्ये एक हो तर सेनाको अनुमानमा यसको सङ्ख्या सन् १९८० को दशकमा २६ हजारबाट घटेर दुई हजारमा झरेको छ।

राष्ट्रपति फर्डिनान्ड मार्कोसले मार्चमा कम्युनिस्टहरूसँगको लडाइँ ‘अन्त्य हुन लागेको’ बताएका थिए।
 

प्रकाशित मिति: : 2023-04-20 21:18:00

प्रतिकृया दिनुहोस्