एउटा पुरानो
पहेँलो पात
फुत्रुक्क शाखाबाट उत्रियो
र, मसँग भएका
मेरा मस्तिष्कमा टाँसिएका
केही दुःखका
केही सुखका
कुनै सम्झेका
कुनै ओझेलमा परेका
प्रतिक्षणहरूलाई
दिन र रातका मसीमा
चोबलिएर
समयको कलमले
आकार दिएको
जिन्दगीको
एउटा अधुरो चित्रसँग
ठोकिन आयो।
ऊ बग्दै गयो
समयको बेगसँगै
मेरा संवेदनाहरूलाई
पङ्ख बनाएर
तर अपसोच...
उसले पनि छुन सकेन गगन...
थकित पहेँलो पात
आखिर ऊ पनि
समयको गर्भभित्र
बिलाउँदै गयो।
सधैँ–सधैँका लागि
अलविदा '२०७९' भन्दै
तर...
उस्तै छ चुहिएको वेदना
उस्तै छ,
समयको अधुरो चित्र।
म विवश छु
नयाँ आगन्तुकको स्वागतमा
ओठभरि कृत्रिम मुस्कान भर्न।