५५ वर्षदेखि घरबाहिरै छन् नरबहादुर

चरी राम्रो चाखुरीया।
डाँफे राम्रो गेल।
बैरागीलाई वन भलो।
किन बुर्छेइ बेल।

प्रस्तुत देउडा भाकाका टुक्कासँग आफैंलाई दाज्छन्, नरबहादुर बुढा। घरभन्दा वन प्यारो लाग्ने भन्दै देउडा भाकाका हरफमा आफैंलाई भेटेका बुढाले चार वर्षअघि आफ्नो जीवन संगिनी गुमाए।

जीवन संगिनीको मृत्युपछि उनको घरमा मन बसेको छैन। 
र त भन्छन्, 
बजाउने बजाउने थियो। 
बजाउन्याको जोइ नाइँ। 
घरबारी कविला थिए। 
मन बुझाउने कोई नाइ।

देउडा भाकाका टुक्का गाउँदै बुढाले अगाडि भने, ‘बुढी मरेको चार वर्ष भयो। मन बुझाउनेको कोइ छैन।’ घरमा मन नबसेपछि अहिले उनी देशकै राजधानी काठमाडौंमा छन्। उमेरले ६९ वर्ष पुगेका उनी काठमाडौंमा त्यसै बस्दैनन्।

‘मेरै गाउँको ज्ञानेन्द्र शाही सांसद भाछ। मलाई ठुलो बुवा भन्छ। भेटेपछि ढोक पनि गर्छ,’ खुसी हुँदै उनले सुनाए।

बिहानदेखि साँझसम्म काममा व्यस्त रहन्छन्। बुढाका कपाल मात्रै होइन दाह्री, जुँगासमेत सेतै भइसकेका छन्, दाँत अगाडिका मात्र छन्। तर, पनि पनि उनी काममा तल्लीन छन्। छोराछोरीले काम नगर घरमै बस नभनेका होइनन् उनलाई।

तर, घरमा उनको मन बसेको छैन। ‘चार भाइ छोरा छन्। एउटी छोरी छे। १४ वटा नाती-नातिनी छन्,’ बुढाले भने, ‘छोराहरुले तपाईंको उम्मेरमा हाम्रा लागि धेरै गरिसक्नुभयो। अब घरमै बस्नुस भन्छन्। तर, मेरो मनले मान्दैन।’

काठमाडौंमा डुलेर व्यापार गर्दै आइरहेका बुढाको घर जुम्लाको सिंजा गाउँपालिकामा पर्छ। ‘मेरै गाउँको ज्ञानेन्द्र शाही सांसद भाछ। मलाई ठुलो बुवा भन्छ। भेटेपछि ढोक पनि गर्छ,’ खुसी हुँदै उनले सुनाए।

उमेर ढल्कियो, मन उस्तै

१४ वर्ष हुँदा घरबाट निस्किएका हुन् बुढा। घरबाट निस्किएपछि उनी नेपालका अधिकांश जिल्ला र भारतका बिहार प्रदेशका दजनौँ गाउँदेखि सिक्किमसम्म पुगेका छन्, त्यो पनि व्यापार गर्न। व्यापार गर्दै भारतकै ठुला सहर ब्याङ्लोर, मुम्बई पनि पुगेको उनले बताए।

भारतका ठुला सहरमा पुगेर के व्यापार गर्नुभयो प्रश्नमा उनले भने, ‘कम्बल, राडीहरु नै बिक्री गरेँ।’ कहिलेकाँही जुम्लाका कम्बलहरु पनि भारतमा बिक्री गरेको उनले बताए। अगाडि भने, ‘नेपालबाट भारतमा बिक्री गर्नका लागि सामान त लाग्न दिँदैनथ्यो। कहिलेकाँही आफैंले बुनेका कम्बलहरु पनि लगेर भारतमा बेचेँ।’

२० वर्षदेखि भारतमा डुलेएर कम्बल, राडीहरु बिक्री गरेको बुढाको भनाइ छ। बुढाले यसभन्दा अघि १४ वर्ष हुँदा नेपालमा घोडा बिक्री गर्ने काम गरे। दाङ, बाँके, बर्दियालगायत जिल्लामा घोडाको व्यापार गरेको उनी सुनाउँछन्।

त्यसपछि भारतमा डुलेर व्यापार गरेका बुढाले सिजनअनुसार नेपालमा पनि व्यापार गरे। पूर्वको इलाम, पाँचथर, इटहरीदेखि पश्चिमको महाकालीसम्मै व्यापार गर्न पुगेको उनी बताउँछन्। उम्मेरले भारी बोक्न सक्ने समयसम्म गलैंचा, कम्बल बिक्री गर्ने बुढाले अहिले ठुला कपडाहरु बोक्न नसक्ने हुँदा त्यसको व्यापार छाडिसकेका छन्।

‘साथीको बुढीको पेटमा गर्भ थियो। त्यो हेर्न नपाएर उसलाई डाँकाहरुले मारिदिए,’ निरास हुँदै बुढाले भने।

उमेर ढल्किए पनि अझै व्यापार छाड्न मन नलागेको उनले बताए। ‘बोक्न सकुञ्जेल गलैंचाहरु पूर्वदेखि पश्चिमसम्म र काठमाडौंका सहरका घर घरमा पुर्‍याएँ,’ उनले भने, ‘अब त सक्दैन। यही टोपी, सुइटरहरु बिक्री गर्दै आइरहेको छु।’

बुढाले हात/खुट्टा चलुञ्जेल छोराहरुको कमाइमा बस्न मन नलाग्ने गरेको बताए। ‘अझै त हिँड्न सक्छु। रमाइलो पनि यहीँ डुलेरै व्यापार गर्दा लाग्छ,’ उनले भने, ‘हातखुट्टा चल्न छाडेपछि घरमा बस्ने हो। अहिले त यो व्यापार छाड्न मन नै लाग्दैन।’

बुढा अहिले पनि काठमाडौंका विभिन्न ठाउँमा हातमा टोपी, ज्याकेट, सुइटरहरु लिएर बिक्री गर्ने गर्छन्। १४ वर्षदेखि व्यापार गरे पनि किन सटरमा व्यापार गर्नुभएन बिएल नेपाली सेवाको प्रश्नमा उनले भने, ‘मन लागेन। यस्तै डुल्नेमा रमाइलो भयो। डुलेरै बुढो भइयो।’ सधैं डुलेरै व्यापार गरेकाले अहिले पनि घरमा बस्न मन नलाग्ने गरेको बुढाको भनाइ छ।

जब आफ्नै साथीको हत्या भयो...

४५ वर्षअघिको कुरा हो। भारतको बिहार प्रदेशको बगाह भन्ने ठाउँमा दुई जना व्यापार गर्दै पुगेका थिए। उनीहरु सोही ठाउँमा बस्थे। एउटा सुइटर किन्ने विषयमा भारतकै केही व्यक्तिसँग विवाद भयो। विवाद भएको केही समयपछि साथीको भारतका डाँकाहरुले हत्या गरेको बुढाले बताए।

जीवनको सबैभन्दा दुःख लाग्ने क्षण उनलाई साथीको हत्या भएको दिनको हो। ‘साथीको बुढीको पेटमा गर्भ थियो। त्यो हेर्न नपाएर उसलाई डाँकाहरुले मारिदिए,’ निरास हुँदै बुढाले भने। उनले साथीलाई टाउकोमा डाँकाहरुले चिर्पटले हान्दा गिदी नै निस्किएको सम्झना ताजै रहेको जस्तै गरी बिएल नेपाली सेवासँगको कुराकानीमा सुनाए।

त्यसपछि भने बिहारमा उनी कहिल्यै पनि व्यापार गर्न पुगेनन्। उनी साथीको हत्या भएपछि सिक्किम, मुम्बईतिर व्यापार गर्न पुगे। बुढाले भने, ‘मेरै उम्मेरको साथीको डाँकाहरुले हत्या गरे। त्यसपछि कहिल्यै पनि त्यहाँ व्यापार गर्न पुगेन। नेपाल फर्किए। यतै व्यापार गरे। बरु भारतको मुम्बईतिर पुगे।’

सबैथोक गुम्ती व्यापार

बुढाले घर र मौसम अनुसार व्यापार गरे। तर, ठाउँ–ठाउँ घुमेर व्यापार गरेका उनले त्यो बाहेक अरु गरेनन्। ‘घरमा खेती गर्ने बेला हो पुग्ने। अघिपछि त व्यापार गरेरै हिँडियो,’ उनले भने।

व्यापार गरेरै घरपरिवार खान/लाउन पुर्‍याएको बुढाले बताए। अगाडि भने,‘सबै यही व्यापारबाट भयो। मेरा दुई भाइलाई हुर्काए। छोराछोरी पनि यही व्यापारबाट नै ठुला बनाए। अहिले चार भाइलाई चार वटा घर बनाइदिएको छु।’

‘सहरमा त भारतले तेल रोके, चामल रोके भोक भोकै मुर्नपर्छ। हाम्रोमा त्यसको असरै हुँदैन। हाम्रोमा दाउरा छ। खेतबारीमा धान, मकै फल्छ,’ उनले भने।

तर, व्यापार गरेर जुम्ला छाड्न मन नलागेको उनको भनाइ छ। ‘पैसा त्यति धेरै नपालगञ्ज, काठमाडौंमा घर बनाउने गरी पनि कमाइएन,’ बुढाले भने,‘कमाएको भए पनि जुम्ला छाड्न मन लाग्ने थिएन। छोराहरु उतै छन्। अहिले पनि छाड्ने मन छैन।’

उनले जुम्लामा सबथोक भएको बताए। ‘सहरमा त भारतले तेल रोके, चामल रोके भोक भोकै मुर्नपर्छ। हाम्रोमा त्यसको असरै हुँदैन। हाम्रोमा दाउरा छ। खेतबारीमा धान, मकै फल्छ,’ उनले भने।

बुढाले युवाहरु नेपालमा केही गर्न नचाहेकोप्रति निरासा व्यक्त गर्छन। ‘सबैले विदेशमै जाने भन्छन्। यहाँ पढ्न मन गर्दैनन्। खेती गर्ने मन गर्दैनन्,’ उनले भने, ‘मत भन्छु सबै नेपालमा छ। नेपालमै खेती गर। काम यतै गर। यसै यही भेटिन्छ।’

भिडियाे:

प्रकाशित मिति: : 2023-04-13 21:00:00

प्रतिकृया दिनुहोस्