रास्वपाका उपसभापति तथा पूर्व–श्रममन्त्री अर्याल बैङ्ग्लोर आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा पूर्व—श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डी.पी. अर्याल आइतबार (३, वैशाख) बैङ्ग्लोर आउँदै छन्। 

प्रवास नेपाली सम्पर्क विभाग भारतको केन्द्रीय समिति घोषणा—सभा तथा नयाँवर्ष २०८० को शुभकामना आदान—प्रदान कार्यक्रममा भाग लिन उनी बैङ्ग्लोर आउन लागेका हुन्। 

प्रवासी नेपालीहरूको बाक्लो जमघट हुने समारोहको सबै तयारी पूरा भएको प्रवास नेपाली सम्पर्क विभाग भारतका केन्द्रीय सभापति सुवास पन्थीले जानकारी दिएका छन्। 

‘परिवर्तनमा तपाई हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता’ भन्ने मूल नाराका साथ प्रवासी नेपाली सम्मिलित केन्द्रीय समिति घोषणा—सभाको आयोजना गरिएको हो। 

भारतभर छरिएर रहेका लाखौँ प्रवासी नेपालीहरूले देश परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेलाई समर्थन गर्नुपर्ने प्रवास नेपाली सम्पर्क विभागका नेताहरूले जनाएका छन्।

त्यस्तै, प्रवासी नेपालीहरूले पूर्वमन्त्री अर्याल बैङ्ग्लोर आउने खबर पाएपछि खुसी व्यक्त गरेका छन्। 

'विदेशको भूमिमा श्रम र पसिना बसाइरहेका नेपालीहरूको मन—मुटुमा बस्न सफल पूर्वमन्त्री अर्याललाई भारतमा स्वागत र सम्मान गर्नका लागि हामी नेपालीहरू बैङ्ग्लोरमा तयार छाैँ,' सभापति पन्थीले भने।

प्रकाशित मिति: : 2023-04-12 08:57:00

प्रतिकृया दिनुहोस्