म्यान्मारमा सेनाको हवाई आक्रमणमा परी ‘दर्जनौँ मानिसको मृत्यु’

Getty Images
Getty Images

म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सेनाले गरेको सबैभन्दा घातक हवाई आक्रमणमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको दाबी उक्त घटनाका प्रत्यक्षदर्शीहरूले गरेका छन्।

मृत्यु हुनेमा कम्तीमा १५ महिला र धेरै बालबालिका रहेको उनीहरूको भनाइ छ। यद्यपि मृतकको सङ्ख्याबारे बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

सागेइङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर सेनाले हवाई आक्रमण गरेको हो। उक्त गाउँका मानिसहरूले सैन्य सरकारको विरोध गर्छन्। सेनाले फेब्रुअरी २०२१ मा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको बीबीसीले जनाएकाे छ।

गेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन्। उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन्।

गाउँका एक बासिन्दाले बीबीसीलाई बताएअनुसार त्यहाँ बिहान ७ बजे सैन्य विमान त्यहाँ उडेको थियो र माथिबाट बम खसालेको थियो। त्यसलगत्तै हेलिकप्टरबाट २० मिनेटजति गाउँमा बम खसालिएको भएको थियो।

गाउँका बासिन्दाहरूले त्रासदी पूर्ण नरसंहारको दृश्य समाविष्ट भिडियाे साझा गरेका थिए। उक्त भिडियाेमा क्षतविक्षत भएका शवहरू र जलिरहेका भवनहरू देखिन्छन्।

'यदि तपाईँ जीवित हुनुहुन्छ भने हामीलाई बोलाउनुहोस्। हामी तपाईँलाई सहयोग गर्न आउँदै छौँ,' भिडियाे छायाङ्कन गर्नेहरू पा जी गी गाउँमा घाइतेहरूको खोजीमा चिच्याउँदै हिँडेको देखिन्छ।

उनीहरूले शव गन्ने प्रयास गरेको तर शवहरू यत्रतत्र छरिएका कपडा तथा जलेको मोटरसाइकलमा अल्झिएका कारण गणना कठिन भएको बताए।

पा जी गीमामा पीपल्स डिफेन्स फोर्स (पीडीएफ) को नयाँ कार्यालयको उद्घाटन समारोहमा उपस्थित हुनका लागि नजिकै भएका गाउँका मानिसहरूको उल्लेख्य उपस्थिति थियो।

पीडीएफका सदस्यहरू म्यान्मारको विभिन्न भागमा सेनाविरुद्ध सशस्त्र अभियान चलाउने स्वयंसेवकहरू हुन्। म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: : 2023-04-12 06:17:00

प्रतिकृया दिनुहोस्