अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैँ विधेयक पारित, अक्टोबर ५ मा दशैँ दिवस

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको मेरिल्याण्ड राज्यको संसदको दुबै सदनबाट दशै विधेयक पारित भएको छ। मेरिल्याण्ड विधानसभाका नेपाली मूलका विधायक डा. ह्यारी भण्डारी प्रस्तुत गरेको विधेयक प्रमाणिकरणका लागि गभर्नरको कार्यालयमा पुगेको छ।

मेरिल्याण्ड राज्यको  ४४६औं संसद अधिवेशनमा दशै विधेयक पारित भएको हो। यसअघि ४४५ औं संसदमा पनि विधायक डा. भण्डारीले दशै विधेयक प्रस्तुत गरेका थिए। तल्लो सदन हाउस अफ एसेम्बेलीबाट पारित भए पनि सिनेटमा अड्किएको थियो।  यसपटक भने संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि गभर्नर कार्यालयमा पुगेको हो। 

विधेयकको प्रस्तावनामा दशैँ नेपालमा उत्पति भएको हिन्दू धर्मावलम्वीहरूको सांस्कृतिक चाड भनिएको छ। विधेयक प्रमाणिकरण भएपछि यसले कानूनी मान्यता पाउँनेछ। र, आगामी वर्षदेखि अक्टोबर ५ लाई मेरिल्याण्ड राज्यमा दशैँ दिवसका रूपमा मनाइने छ।

अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गरेर मेरिल्याण्ड राज्यमा पहिलो नेपाली मूलको डेलिगेटको खाता खोलेका डा. भण्डारीको अग्रसरतामा भएको यो कदमले अमेरिमामा नेपाली अरू देखिने र सुनिने भएका छन्। 

विधेयक पारित भएकोमा डेलिगेट डा. भण्डारीले अमेरिकामा रहेका सबै नेपाली दाजुभाइ दिदीबिहनीहरूलाई बधाइ तथा शुभकामना दिएका छन्। उनले यसलाई अमेरिकाको नेपाली समुदायको ठूलो उपलव्धी भएको बताउँदै यसको श्रेय सबैमा सरोबरी बाँढे। आफूलाई निमित्त बताउँदै उनले भने, 'यसबाट अमेरिकामा नेपाल र नेपाली अरू देखिने र सुनिने अभियानले ठूलो फड्को मारेको छ।'

प्रकाशित मिति: : 2023-04-11 09:03:00

प्रतिकृया दिनुहोस्