घटना एक साता अघिको हो। सधैँ झैँ कार्यालयको काम सकेर घर जान बानेश्वरमा नेपाल यातायात कुर्दै थिएँ। रात परिसकेको हुँदा सडकमा कमै मात्रामा गाडीहरु थिए।
छेउमा अर्को एक जना दिदी पनि गाडी कुर्दै हुनुहुन्थ्याे। हातमा ठुलो झोला अनि एक वर्षकी नानी। बच्चा आमालाई अनेकन कुरा गर्दै पिरोल्दै थियो। सायद भोकाएको हुँदो हो अनि थकित पनि।
दिदीले मतिर फर्किँदै भन्नुभयो, ‘नानी गाडी यहीँबाट आउने हो?’ मैले साेधेँ, ‘कता जाने हो र दिदी?’ उहाँले भन्नुभयाे, ‘हस्पिटल जाने।’ कुन हस्पिटल जाने हाे र भनेर मैले साेध्दा उहाँले टिचिङ जाने जवाफ दिनुभयाे।
‘अँ! दिदी यहीँबाट आउँछ, तपाईं हस्पिटल नै जाने हो?’ मैले फेरि प्रश्न गर्दा ती दिदीले केही नबोली ‘अँ’ को भावमा टाउको मात्र हल्लाउनुभयाे।
एकैछिनमा गाडी आइपुग्यो। हामी दुवैजना गाडी चढ्यौँ र एउटै सिटमा गएर बस्यौँ। ‘बहिनी एकै छिन नानी समाइदिनु न मलाई अलि गाह्राे भयो’, ती दिदीले बच्चा मेरो हातमा दिँदै भन्नुभयाे। अनि झ्यालतिर हेरेर रुन थाल्नुभयाे।
मलाई ती दिदी रोएको देख्दा अचम्म लाग्यो र सोधिहालेँ, ‘किन रुनुभयो दिदी?’ ‘बुढा बिरामी भएर हस्पिटलमा हुनुहुन्छ रे, मैले आज मात्र थाहा पाएँ। अनि आजै गाउँबाट काठमाडौँ आएकाे’, ती दिदीले रुँदै भनिरहनुभएकाे थियाे। ‘बुढाले कसम खाएका थिए, केही हुँदैन भन्थे, आज ऊ अस्पतालमा छ। अब म यो बच्चालाई कसरी हुर्काउँ, के भनुँ घरमा?’
‘अब म यो बच्चालाई कसरी हुर्काउँ’ यो शब्दले मेरो दिमागमा हानिरह्यो। अनि फेरि सोधेँ, ‘बच्चा बिरामी छ हो? सायद मेरो कुराले दिदीलाई झन् चित्त दुख्यो क्यारे, अनि आँशु भरिएको आँखाले मतिर हेर्दै भन्नुभयाे, ‘बहिनी मेरो बिहे भएको छैन। यो बच्चा मैले जन्माएको पनि होइन। बच्चा अस्पतालमा भएको मान्छेको हो। मैले त बस यसलाई पालेको छु, आमा सरह माया दिएकी छु।’
मैले फेरि साेधिहालेँ, ‘अनि बुढा भन्नुभएको होइन र? ‘बुढा त हो नि’, दिदी भन्दै जानुभयाे, ‘मैले उसलाई डेढ वर्षअघि साथीको घरमा भेटेकी थिएँ। उसले मलाई बिहे गरौँ भन्यो, मैले पनि हुन्छ भनेकी थिएँ। त्यतिबेला मलाई उसको बुढी छ भन्ने पनि थाहा थिएन। पछि उसको बुढीले बच्चा जन्माइछे र एक महिनाको बच्चा छाडेर भागिछ। अनि मैले बच्चा मेरो बुढाका हो भनेर आफैँ ल्याएर यति ठुली बनाएँ। अब उसलाई केही भयो भने घरमा के भनुँ म?’
ती दिदीको कुरा सुनेर म छक्क परेँ। अनि मनमनै सोच्न थालेँ, के कसैले यसरी अरुको बच्चालाई यति धेरै माया गर्न सक्छ?
अनि मैले पुन: ती दिदीलाई सोधेँ, ‘दिदी तपाईंको नाम के हो?’ उहाँले भन्नुभयाे, ‘नमुना।’ अनि सानाे नानीकाे नाम साेधेँ, उनकाे नाम विविशा भएकाे उहाँले बताउनुभयाे।
मैले ती सानी नानीको अनुहार हेरेँ अनि मनमनै सोचेँ, ‘तिमी धेरै भाग्यमानी छौ, तिम्री आमाको मन ठुलो छ। आज तिम्रो बाबालाई जे भएपनि तिमीलाई आमाले सम्हाल्नेछिन्।’
ती दिदी राेइनै रहनुभएकाे थियाे। झ्यालतिर हेरेर रुँदै भन्दै हुनुहुन्थ्याे, ‘भगवान! मैले के गल्ती गरेको थिएँ र, यो सब पीडा दिँदैछौ? बच्चाले उसको बाउलाई देख्न पनि नपाउने? अब विविशालाई कसरी समाजको अगाडि लुकाउनु। तिमी पापी हौ।’
भन्न त ती दिदीले भगवानलाई पापी भन्नुभएकाे थियाे। तर मलाई समाज पापी लाग्यो। उहाँले त्यति ठुलो के गल्ती गर्नुभएकाे थियाे र त्यो अबोध बालिकालाई लुकाउनुपर्ने?
आमाले छाडेर हिँडेकी एउटी बच्चालाई आफ्नै सन्तान जसरी हुर्काउनुभयाे। अनि उसलाई बाउ चिनाउने प्रयत्नमा लाग्नुभयाे। धन्य हुनुहुन्छ दिदी तपाईं!