पवित्र बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको अगुवाइमा स्थानीय हेब्रोन मण्डली, संयुक्त इसाइ समाज र जवान युवा समाजको संयुक्त आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रेडक्रस उर्लाबारी उपशाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन गरिएको छ।
उर्लाबारी चौकमा आयोजित रक्तदान कार्यक्रमको उर्लाबारी नगरपालिकाका उपमेयर मीना खतिवडा पौडेलले शुभारम्भ गरेका थिए।
रक्त अभावले विरामीहरु छट्पटाइ रहने दारुण अवस्थालाई अन्त्य गर्न रक्तदान कार्यक्रमहरु भइ राख्नुपर्नेमा उपमेयर पौडेलले जोड दिए।
रगत अभावमा रहेकाहरुलाई जीवन बचाउन सहयोग पुग्ने पवित्र सहकारीको नामजस्तै पवित्र उद्देश्य रहेको भन्दै उनले खुशी प्रकट गरे।
सामाजिक उतरदायित्व वहन गर्दै वार्षिक रुपमा रक्तदान आयोजना गर्दै आएको जनाउँदै कोरोना महामारीको समयमा स्थगन गरिएको रक्तदान कार्यक्रमलाई पुनर्जीवित गरिएको पवित्र सहकारीका अध्यक्ष रविन खड्काले जनाए।
उर्लाबारी ७ की वडाध्यक्ष उर्मिला थापा, रेडक्रस उर्लाबारीका सभापति भानुभक्त शर्मा पराजुली, स्थानीय सामाजिक व्यक्तित्वहरु लगायतको आतिथ्यता रहेको रक्तदान कार्यक्रमको संयोजक प्रेम राई रहेको जनाइएको छ।
पवित्र सहकारीका व्यवस्थापक राजबाबु बेठाले सामाजिक उतरदायित्व, आर्थिक सशक्तिकरणका साथै सदस्यहरुको नेतृत्व क्षमता विकासमा समेत आफूहरु दत्ततित्त भइ लागि परेको उल्लेख गरे।