स्ववियु अध्यक्ष जितेसँगै राजनीतिकाे भट्टीमा पसेका महेश

BreaknLinks
BreaknLinks

चन्दननाथ नगरपालिका- ४ मालाभिडका महेश हमाल २६ वर्षका भए। मिजासिलाे स्वभावका उनी हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट जुम्ला बहुमुखी क्याम्पसकाे अध्यक्षमा निर्वाचित भएका छन्।

समग्रमा नेपाल विद्यार्थी संगठन (नेविसंघ) तेस्राे नम्बरमा हुँदा पनि विजयी हुनुलाई उनकाे व्यक्तिगत प्रभाव मान्न सकिन्छ। संगठनबाट पूरै प्यानलकाे उम्मेदवारी परे पनि उनी एक जना मात्रै विजयी भए। याे सफलताका पछाडि संगठनिक मत त छँदैछ। तर, त्यतिले मात्रै सफलता हात लाग्नेवाला थिएन।

समग्र जिल्लामा नेपाली काँग्रेस बलियाे भएपनि क्याम्पसमा कमजोर हुनुकाे कारण धेरैका छाेराछाेरी जिल्ला बाहिर पढ्छन्। जुम्लामा जति जना पढ्छन् उनीहरुका बीचमा महेशले राम्राे प्रभाव जमाएका छन्। परिणाम उनले विजयकाे प्रमाणपत्र हात पारे।

‘संगठनभन्दा पनि क्याम्पसमा पढ्ने सबै विद्यार्थी साथीहरुले मलाई आफ्नाे माने, मैले उनीहरुका समस्यालाई आफ्नाे ठानेँ,’ महेशले भने, ‘यसले हामीलाई निकट बनायाे। उनीहरुले मलाई जिताए। अब म जुम्ला बहुमुखी क्याम्पसका सबै विद्यार्थीकाे भएकाे छु।’

उनी विद्यार्थी राजनीतिमा आउनुमा घरकाे प्रभाव बढी छ। घर परिवार र वरपरका शाखा/सन्तान काँग्रेस पार्टीमा आवद्ध थिए। विपी काेइराला र कृष्णप्रसाद भट्टराईकाे कुरा गर्ने परिवारमा हुर्केका उनले पारिवारिक वातावरणमै काँग्रेसी विचारबाट दीक्षित हुने माैका पाए।

पार्टीकाे जिल्लास्तरमा हुने गतिविधिसँग नजिक हुँदै गर्दा उनले प्रजातान्त्रिक विचार बुझ्दै गए। घर परिवारले चिनाएका नाम उनका पनि आदर्श भए।

‘विपी वाद हाे। विचार हाे। दर्शन हाे। किसुनजीले देश र जनताका लागि गरेकाे त्याग संसारमै उदाहरणीय छ,’ उनले भने, ‘त्यसैले म काँग्रेस पार्टीका यी दुई नेतालाई आदर्श मान्छु।’

घरका सबै काँग्रेस समर्थक भएपनि उनकाे घरबाट नेतृत्व तयार भएकाे थिएन। त्यसैले महेश नेतृत्व गर्न क्याम्पस पुगेकाे थिए। यसअघिकाे निर्वाचनमा पनि भाग लिने तयारी गरिरहेकाे बेला अन्तिममा चुनाव स्थगित भयाे। उनी विद्यार्थीकाे मतबाट अनुमाेदित भएर आउने बाटाे राेकियाे।

त्रिभुवन विश्वविद्यालयले नियमित रुपमा निर्वाचन गर्ने परिपाटी नमिलाउँदा क्याम्पसमा विद्यार्थीकाे बलियाे प्रतिनिधिमुल संस्था स्ववियु खडा हुन अवरोध सिर्जना भइरहेका थिए। त्यसमाथि जुम्ला बहुमुखी क्याम्पसमा १४ वर्षदेखि विद्यार्थीका प्रतिनिधि भएनन्। समग्रमा विद्यार्थी आन्दोलन कमजोर बन्याे।

जनजीविकासँग जाेडिएका सवाल उठाउने राजनीतिक नेतृत्व छैन। मूल्यवृद्धि, भ्रष्टाचार, शिक्षण शुल्क वृद्धिजस्ता कदमकाे विरुद्धमा सडकमा नारा घन्काउने विद्यार्थी संगठन नै हुन्थे।

तर, आज दैनिक रुपमा भइरहेका भए पनि यसकाे विराेधमा कुनै गतिविधि हुन सकेका छैनन्। यसले समग्रमा आमजनता नै मारमा परेकाे महेशकाे अनुभूती छ।

‘क्याम्पसमै विद्यार्थीका हक/अधिकार स्थापित हुन सकेका छैनन्। बजार विद्यार्थी अनुकुलकाे छैन,’ उनले भने, ‘घर नजिकै क्याम्पस हुँदा पनि साेचेका विषयहरु नहुँदा बाहिर जानुपरेकाे छ। दबाब दिने विद्यार्थीहरुकाे साझा संगठन नहुँदा यी समस्या आएका हुन।’

उनले जुम्ला बहुमुखी क्याम्पसमा नयाँ र प्राविधिक विषयहरु थपिन जरुरी भएकाे बताए। ‘अब हामी निर्वाचित भएर आएका छाैँ। चुनावमा जुनसुकै संगठनकाे भए पनि निर्वाचित भएर आएपछि हामी साझा भएका छाैं। साझा काम गर्ने सवालमा हामी एक ढिक्का छाैँ। टिम स्प्रिड राम्राे हुनेवाला छ,’ उनले भने।

उनकाअनुसार क्याम्पसका भाैतिक संरचनाहरु कमजोर छन्। प्रशासनिक सुधार पनि जरुरी छन्।

विद्यार्थी राजनीतिबाट समग्र राजनीतिमा करियरकाे खाेजी गरिरहेका महेश जिल्लामा चिनिएका फुटबल खेलाडी थिए। पाँच वटा फरक-फरक क्लबबाट जिल्लामा फुटबल खेलेका उनले दुई पटक फाइनल जितेर ट्रफी चुमेका थिए।

दाइ केशव हमालसँगकाे जाेडी बाँधेर फुटबलमा जमिरहका उनकाे लिगामेन्टमा समस्या आउन थालेपछि खेल जीवन त्याग्नु परेकाे तिताे अनुभव छ। त्यसपछि निरन्तर राजनीतिमा सक्रिय भएका उनले आफू नयाँ जिम्मेवारीसँगै करियरकाे भट्टीमा हरेकाे बताए।

प्रकाशित मिति: : 2023-03-31 06:00:00

प्रतिकृया दिनुहोस्