१७ करोडको ७ किलो ‘काजु’ बोकेर पाँच देश चक्कर मारेका दुई महिला ठमेलको होटलमा समातिए

चार वर्षअघि ४५ वर्षीया भनल्वामीको जीवनमा ठुलो दुर्घटना निम्तियो। भारतकाे मिजोरम राज्यको सेरछिपकी भनल्वामीको घरमा ग्याँस पड्किएर उनी घाइते भइन्। उपचारपछि उनले अर्को पुन: जीवन त पाइन् तर अनुहारमा जीवनभर नमेटिने दाग बस्यो।

तीन सन्तानकी आमा। श्रीमानसँग छुटिटएर बस्नु उनको जीवनको अर्को पाटो छँदै थियो, दुर्घटनापछि उनको आर्थिक अवस्था झनै नाजुक हुँदै गयो। यस्तै परिस्थिति झेलिरहेको बेला एकदिन उनलाई एक जनाले उनलाई राम्रो आर्थिक प्रस्ताव लिएर आए। प्रस्तावअनुसार उनले इथोपिया पुगेर एउटा सुटकेस बोकेर विभिन्न देश हुँदै नेपाल पुगेर फेरि नयाँ दिल्ली ल्याउनुपर्ने थियो। त्यसवापत उनले १ लाख भारतीय रुपैयाँ पाउने थिइन।

आर्थिक अभाव झेलिरहेकी उनले अपरिचित व्यक्तिले ल्याएको प्रस्ताव सहजै स्वीकार गरिन्। तर, काम फत्ते गर्नु सोचे जस्तो सहज भने थिएन। तर, पनि आर्थिक प्रलोभनमा अगाडि बढिन्।

निर्देशन भएअनुसार चैत २ गते उनी भारतको नयाँ दिल्लीबाट इथियोपिया उडिन्। इथोपियामा ९ दिनसम्म बसिन्। ९ दिनका दिन उनलाई एक जनाले एउटा लगेज थमाएको थियो। त्यो लगेज बोकेर उनी इथोपियाबाट अफ्रिकाको गुनिया उडिन् र त्यहाँबाट उनी मोरक्को पुगिन्, त्यसपछि उनी कतारको राजधानी दोहा पुगिन् र दोहा हुँदै नेपाल उत्रिइन्। नेपालपछि उनको गन्तव्य भारतको राजधानी नयाँ दिल्ली थियो, त्यहाँ पुगेपछि उनको यात्रा सकिने थियो। अनि, त्यति गरे बापत उनले ताेकिएकाे रकम पाउथिन्।

इथोपियाबाट उनले गिनी, मोरक्को त्यसपछि कतारको दोहा हुँदै नेपाल आइपुगिन्। चैत १३ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि ठमेलको एक होटेलमा बसिन्। चैत १४ गते बिहान सवा ११ बजे उनको भारतको नयाँ दिल्ली जाने टिकट तय भइसकेको थियो। त्यही तालिकाअनुसार उनी ठमेलको होटलबाट विमानस्थल पुगिन्। त्यहाँ पुग्ने बित्तिकै पक्राउ परिन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई विमानस्थलबाट पक्राउ गरिसकेको थियो।

उनको साथबाट ब्युरोको टोलीले ८ किलो ८ सय ८७ ग्राम अवैध लागुऔषध कोकिन बरामद गरेको छ। पक्राउ परेकी भनल्वामीलाई ब्युरोले प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाएको छ।

जसरी भनल्वामी नेपाल प्रहरीको फन्दामा परिन्, त्यसैगरी अर्को एक जना भारतीय सेरछिप मिजोरोमकी एसथल लालहिमपुई चैत्र ८ गते भारतको राजधानी नयाँ दिल्लीबाट इथोपिया हुँदै बेनिन पुगिन्। त्यहाँबाट उनले भनल्वामीजस्तै एक सुटकेस बोकेर मोरक्को, दोहा हुँदै चैत्र १४ गते अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल पुगेर ठमेलको एक होटलमा पुगिन्। त्यही होटलबाट ब्युरोको टोलीले उनलाई पनि नियन्त्रणमा लियो। उनले पनि भनल्वामीले जस्तै पाँच किलो कोकिन बोकेर आएकी थिइन्। भारतको सेरछिप मिजोरोमस्थित एक कपडा पसलमा काम गर्ने सामान्य परिवारकी उनलाई भनल्वामीलाई जस्तै एकपटक कोकिन बोकेको १ लाख भा.रु. दिने भनिएको थियो। उनी पनि भनल्वामीको जस्तै अन्तराष्ट्रिय लागुऔषध तस्करको जालोमा परेकी थिइन्। पक्राउ परेका दुबैजना यसअघि डिसेम्बरमा नेपाल आएर फर्केको प्रहरी अनुसन्धानमा देखिएको छ। पक्राउ परेका दुबै जनालाई ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो। ब्युरोले उनीहरुको साथबाट बरामद कोकिनको अन्तराष्ट्रिय बजार मूल्य १७ करोड बराबरको रहेको जनाएको छ।

दिल्लीबाट अफ्रिका पुगेर कोकिन बोकेर नेपाल आएका दुबैजना भारतीय महिला भरिया मात्र भएको ब्युरोको अनुसन्धानबाट खुलेको छ। यसअघि पनि उनीहरु नेपाल आएर फर्केको र उनीहरुको अन्तिम गन्तव्य भारतको राजधानी नयाँदिल्ली भएको भन्दै ब्युरोको प्रमुख एसएसपी विकासराज खनालले उनीहरुको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर लागुऔषध तस्करले प्रयोग गरेको बताए।

यसअघि पक्राउ परेका भरियाहरुको अन्तिम गन्तव्य नेपाल हुने गरेको थियो, ब्युरोका प्रमुख एसएसपी खनालले भने, ‘नेपालमा लागुऔषध यसअघि पनि आएको हो, हामीले पक्राउ गरेकै हो तर उनीहरुको अन्तिम गन्तव्य नेपाल हुन्थ्यो र नेपालबाट रिसिभरले रिसिभ गरी लागे गरेका थिए, यो पटक अलि फरक देखियो।’

प्रकाशित मिति: : 2023-03-30 20:25:00

प्रतिकृया दिनुहोस्