नेपालीमा एउटा भनाइ नै छ, ‘मकै रोपेर धानको आशा गर्नु मूर्खता हो’। डाक्टरको सन्तानले धामीझाँक्री खोज्दैन। हो, ठयाक्कै यो भनाइ उनको जीवनमा लागु भएको छ भन्दा कुनै अनुपयुक्त हुँदैन। एउटा शिक्षकको परिवारमा जन्मिएर शिक्षक नै हुन्छु भन्ने उदेश्यसहित विद्यार्थी जीवनदेखि आफूजस्तै विद्यार्थीहरुलाई पढाउन थालेका उनले जीवनको तीन दशक बित्दै गर्दा सयौँ विद्यार्थीहरुको अभिभावक हुने ठूलो सपना भने देखेका थिएनन्।
परिवारको कान्छो सन्तानको रुपमा जन्मिनु पनि एउटा अहोभाग्य हो। त्यसमाथि शिक्षित अभिभावकको हौसला, प्रेरणा, उत्साह र सतमार्गकै कारण आज उनी सबैको प्रिय, सम्मानित र एक जुझारु शैक्षिक युवा नेतृत्वको रुपमा चिरपरिचित हुन सफल भएका छन्।
सानैदेखि पढनुपर्छ र शिक्षाको ज्याेतिले नै संसारमा व्याप्त अशिक्षाको अन्धकारलाई चिर्नुपर्छ भन्ने गहिरो उदेश्य बोकेका उनै जगत शेखर ढकालको जन्म २०४६ साल कार्तिक ५ गते गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा भएकाे हाे। उनी बुवा टिकाराम ढकाल तथा आमा संगीता ढकालका दुई छोराहरुमध्ये कान्छो छोरा हुन्।
गाउँकै विद्यालयमा शिक्षक रहेका उनका बुवाले आफ्ना सन्तानहरुको असल शिक्षाको निम्ति जेठो छोरो केन्द्र शेखरको एसएलसीपछि उच्च शिक्षा अध्ययनको निम्ति काठमाडाैँ पठाउँदा जगतलाई पनि सँगै पठाइदिए। पाँच कक्षासम्म बुटवलकै प्राथमिक विद्यालयमा पढेका जगतले कक्षा ६ देखि भने काठमाडाैँको सामाखुशीस्थित फ्लोरोसेन्ट विद्यालयमा पढदै वि.स. २०६० सालमा एसएलसी उत्तीर्ण गरे।
'गाउँघरको उकाली-ओराली, एकआपसको मायाप्रेम, स्नेह, सत्कार, स्वच्छता र निश्चलता सहरमा कहाँ पाउनु र? गाउँमा एक जना आफन्त बिरामी हुँदा सिँगो गाउँलाई थाहा हुने गर्दछ तर सहरमा आफ्नै अगाडि लडेको मान्छेलाई पनि नदेखे झैँ गरी हिँड्दा रहेछन्। सायद कामकाज र व्यस्तताको भागदौडको कारण हुनसक्छ एकले अर्कोलाई नजरअन्दाज गर्नुपरेको', सहरमा भोगेको बाल्यकालको तितो यर्थाथ पोख्छन् उनी।
एसएलसीपश्चात बानेश्वरको ह्वाइटहाउस कलेजबाट विज्ञान संकायमा स्नातक तह र नाथम कलेजबाट होटल व्यवस्थापना स्नातकोत्तरपश्चात जगतले शिक्षक बन्ने सपनालाई साकार पार्न थालिसकेका थिए। होस्टेलमा बस्दा आफूसंगै बसेर पढ्ने साथीहरुलाई गणित र विज्ञान विषयको ट्युसन पढाउन थालेका उनले औपचारिक रुपमा २०६६ सालमा कपनस्थित रिलायन्स एकेडेमीबाट शिक्षण पेशाको सुरुवात गरे।
बुवा शिक्षक भएकैले मात्र नभई सानैदेखि पढाइमा तीक्ष्ण उनी अरुलाई सिकाउन उत्तिकै उद्धत रहन्थे। लैनचाैरको निस्ट कलेजमा होटल व्यवस्थापनको शिक्षण गर्दै एन्जल हार्ट स्कुलसम्म आइपुग्दा एक परिपक्व र आफ्नो विषयवस्तुप्रति न्याय गर्न सक्ने शिक्षकको रुपमा आफूलाई उभ्याउन सफल भइसकेका थिए, जगत।
'विद्यार्थी एक सक्रिय सिकारु हो भने शिक्षक आफैँमा एक सक्रिय सिकारुका साथै अरुलाई सक्रियताका साथ सिकाउने व्यक्ति हो', शिक्षक र विद्यार्थीको परिभाषा दिँदै उनी भन्छन्, 'जसरी समय परिवर्तनशील छ, त्यसरी नै हामीले गर्ने क्रियाकलाप र हाम्रो जीवनशैली पनि अस्थिर र परिवर्तनशील छ। शिक्षा क्षेत्र पनि यो सत्यताबाट अलग रहन सक्दैन। शिक्षाको प्रकृति पनि परिवर्तनशील छ। स्राेतसाधनको उपलब्धता, पाठ्यक्रमको समयसापेक्षता, प्रविधिमैत्री अध्ययन-अध्यापन नै यसको मुख्य कारण हो।'
पुरानो पुस्ताको साक्षी आफैँ स्वयंम र अहिलेको नयाँ पुस्ताका विद्यार्थीहरुलाई अध्यापन गराइरहँदा थुप्रै कुराको विषयान्तर र भिन्नता महसुस गरेका ढकाल २०७० सालमा बूढानीलकण्ठ-४ स्थित नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमीमा प्रवेश गरी हाल सोही विद्यालयका प्रिन्सिपलका रुपमा आफ्नो कुशल नेतृत्व क्षमताका साथ सक्रिय छन्।
'हिजोसम्म अरुको नेतृत्वमा काम गर्दा उनीहरुको आदेश र कार्यविभाजनलाई सजिलै नजरअन्दाज गरिन्थ्यो तर आज आफैँ त्यो स्थानमा पुग्दा महसुस भइरहेछ कि एउटा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्न कठिन हुँदोरहेछ', आफ्नो अनुभव बाँडछन् जगत शेखर।
सुरुवातदेखि नै निजी संस्थाहरुमा आवद्ध भई काम गर्दै आउँदा सरकारी निकायका पनि साथीभाइ तथा पेशागत व्यक्तित्वहरुसँगको उठबसमा विभिन्न वैचारिक भिन्नता र सैद्धान्तिक मतभिन्नताहरु भएता पनि शिक्षाको क्षेत्रमा भने उदेश्य र लक्ष्य एउटै रहेको पाए उनले।
उनी भन्छन्, 'सरकारी तथा साुदायिक र निजी विद्यालयबीचको शैक्षिक गुणस्तरको खाडल पुर्ने विषयमा जति नै गोष्ठी सेमिनार वा सभासम्मेलन भएता पनि यसको दीर्घकालीन समाधान र प्रभावकारी निरुपण भने अहिलेसम्म पनि निकाल्न सकिएको छैन। सरकारको माथिल्लो निकाय वा शिक्षा विभागले निजी विद्यालयहरुलाई हेर्ने दृष्टिकोण नै कहिल्यै परिवर्तन हुन सकेन।'
'सरकारको वार्षिक बजेटको एउटा ठूलो हिस्सा ओगटेको, भौतिक पूर्वाधारदेखि शिक्षकको सीप अद्यावधिकीकरण, विद्यार्थीको दैनिक खाजाभत्ता, शैक्षिक सामग्रीको वितरणसम्म शतप्रतिशत सरकारको लगानी रहेको सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक क्यालेण्डरदेखि नतिजासम्म अध्ययन अनुगमन, अनुसन्धान, नियमन, तथा निरीक्षण गर्ने हो भने यी सबै प्रक्रियामा संलग्न व्यक्तित्वहरु प्नि कदापी सन्तुष्ट हुन सक्दैनन्', आफ्नो धारणा व्यक्त गर्दै ढकाल भन्छन्, 'त्यसको निम्न प्रतिशत मात्र पनि निजी विद्यालयले सरकारको प्रत्यक्ष सहभागिता र निगरानीमा पाउने हो भने निजी विद्यालयको पनि स्तरीकरण हुनुका साथै यी संस्थाहरु पनि एउटा निश्चित दायराभित्र आउने थियो। सरकारले निजी विद्यालयलाई पनि आफ्नो स्वामित्वमा ल्याउने हो भने पाठयक्रम, पाठयपुस्तक, मूल्यांकन पद्धति, निरीक्षण शैली जस्ता आधारभूत विषयहरुमा एकरुपता ल्याइ शैक्षिक नीति नियमको समयसापेक्ष संशोधन र प्रवर्द्धन गरी लागु गर्नु पर्दछ। त्यसको निम्ति यदि निजी र सरकारी विद्यालयहरु एकआपसमा मर्ज हुनुपर्छ भने पनि हामी तयार हुनुपर्छ।'
बुढानीलकण्ठस्थित रमणीय स्थान रुद्रेश्वरमा अवस्थित नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमीमा अध्ययनरत करिब तीन सय ५० विद्यार्थीहरुलाई केवल किताबी ज्ञान मात्र दिइँदैन, वातावरणबिना मानव जीवनको अस्तित्व नै रहँदैन भन्ने यर्थाथ विषयको ज्ञान पनि उत्तिकै दिइने गरिन्छ। यस कुराको यथेष्ट प्रमाण विद्यालयको मूल गेटदेखि नै देखिने हरियाली वातावरणले दिने गर्दछ। विद्यार्थीको जन्मदिनमा कम्तिमा दुईवटा विरुवा रोपेर उक्त दिनको खुशीयाली मनाउने नियम नै राखेका प्रिन्सिपल ढकालले विद्यालयको नामसँगै ग्रीन स्कुल भन्ने उपनाम नै दिएका छन्। हरियाली वातावरणसँगै यस नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमीले गत वर्ष मात्रै आइएसओ प्रमाणीकरणको प्रमाणपत्रसमेत प्राप्त गर्न सफल भइसकेको छ।
आगामी दिनमा विद्यालयलाई अझ धेरै समय सापेक्ष, प्रविधिमैत्री, सीपमूलक शिक्षा, वातावरणमैत्री तथा शैक्षिक स्तरमा पनि उत्कृष्टताको नमुना विद्यालयको रुपमा स्थापित गर्ने योजना र सपना बोकेर त्यसलाई अक्षरस पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छन् जगत शेखर।
वि.स. २०७६ सालमा मन्जु अर्यालसंग वैवाहिक जीवनमा बाँधिएका जगत एक छोरीका पिता पनि हुन्। 'जीवन एक नदी जस्तै हो, जसले जस्तोसुकै अवस्था वा परिस्थितिमा पनि आफ्नो बहावलाई निरन्तरता दिइरहनु पर्दछ। अरुको भावनालाई सम्मान र कदर गर्नु नै प्रेम हो। संघर्षका दौरान प्राप्त हुने सकारात्मक नतिजा नै सफलता हो' भन्ने साधारण राख्ने ढकाल कोभिडको महामारीमा आफन्तहरु गुमाउनु पर्दाको क्षणहरु जीवनको अत्यन्तै दुखद क्षण भएको बताउँछन्।
जीवनमा पहिलो पल्ट आफ्नै कमाइको पहिलो पारिश्रमिक पाएको दिन र पहिलो सन्तान छोरी जन्मिएको दिन जीवनकै खुशीको क्षण मान्ने उनी नेपाल सरकारले हरेक विज्ञ व्यक्तिहरुको विज्ञतालाई कुनै प्रक्षेपण नगरी राज्यको शैक्षिक क्षेत्रमा स्थानान्तरण गर्दै लैजाने हो भने नेपालको साक्षरता प्रतिशतका वृद्धि हुनुका साथै यस क्षेत्रका विभिन्न खाडलहरु विस्तारै पुरिँदै जाने धारणा व्यक्त गर्दछन्।