नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सुजाता कोइरालाका पीएसहित तीनजना पक्राउ

सयौं बेरोजगार नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै अरबाैँ रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पूर्व पराराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन्।

दुलाल कोइराला पराराष्ट मन्त्री भएको बेला उनको सचिवालयमा रहेर काम गरेका थिए। उनी अहिले पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पीडितसँगको बयानपछि उनीहलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

दुलाल यसअघि पनि सोही मुद्दामा पक्राउ परेका थिए, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको दबावमा प्रहरीले पक्राउ गरेको केही घण्टामै प्रमाण नपुगेको भन्दै छाडेको थियो।

पक्राउ परेका तीन जनाविरुद्ध ८१ जना पीडितले प्रहरीमा उजुरी दिएका थिए।

पीडितहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनलगायतका प्रहरी कार्यालय, जिल्ला प्रशासन र जिल्ला अदालतमा समेत ठगीको आरोपमा उजुरी गरेका थिए।

प्रहरीकाअनुसार पक्राउ परेको गिरोहले केहीलाई यसअघि नै करोडौँ रकम असुलेर अमेरिका पठाइसकेको छ। करिब १६०० युवाहलाई झापामा बाँकी रहेका ६ हजार शरणार्थीहरुको नाममा परिचयपत्र र टाभल डकुमेन्ट बनाएर बनाएर सिधैं अमेरिका पठाउने योजनाअनुसार कोरोना महामारीभर कागजात तयार गरेको पीडितले बताएका छन्।

रकम असुलेर पनि अमेरिका नपठाएपछि आक्रोशित पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए। रकम बुझाएका केही हिँडेरै अमेरिका जान नेपाल छोडिसकेको एक पीडितले बताए।

उनीहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र र अन्य आवश्यक कागज बनाएर विदेश पठाउन सुरुमा २५ देखि ४० लाख रुपैयाँसम्म उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको थुनामा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ‘भुटानी शरणार्थी कार्ड बनाएर प्रत्येक व्यक्तिबाट पैसा उठाएर ठगी गरेको आरोपमा आठ नौ महिना पहिले उजुरी परेको थियो। हामीले अनुसन्धान गरिरहेका थियाैँ। पक्राउ परेकाहरु गिरोहका नाइके नै हुन्,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बिएल नेपाली सेवासँग भने, ‘उनीहरुको कनेक्सन हामी हेर्दैछौँ।’

पीडितबाट पैसा उठाउने काममा खटिएका दाङका सन्देश शर्मा, गजेन्द्र बुढाथोकी लगायतको खोजी भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

केपी ओली र शंकर पोखरेलनिकट मानिने सन्देश शर्माले दुई सयभन्दा बढीबाट रकम बुझेर फरार भएको पीडितको आरोप छ। दाङका काँग्रेस नेता बुद्धि भण्डारीका आफन्त पर्ने  गजेन्द्र बुढाथोकी अमेरिकामा बस्दै आएका नेपाली हुन् । तर, पछिल्लो समय उनी नेपालीलाई भुटानी शरणर्थी बनाएर अमेरिका लैजाने योजनामा नेपाल आएका थिए। नेपालीलाई भुटानी शरणर्थी बनाएर पठाउने धन्दामा गृह मन्त्रालयका कर्मचारी, राजनीतिक दलका नेता र बिचौलिया संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति: : 2023-03-26 19:50:00

प्रतिकृया दिनुहोस्