राहुल गान्धीले किन गुमाए सांसद पद ? (भिडियाेसहित)

भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ। गान्धीलाई फौजदारी मानहानी मुद्दामा एक अदालतले बिहिबार दुईवर्ष जेल सजाय तोकेको थियो। 

अदालतले साजय तोकेको भोलिपल्टै शुक्रबार उनको सांसद पदसमेत गुमेको छ। ५२ वर्षीय गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट निर्वाचित भएका थिए। उनी हाल ३० दिनका लागि जमानतमा छन् र अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्ने बताएका छन्। 

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले गान्धीले शुक्रबार संसद्‌मा बोल्न अनुमति मागेको तर त्यसलाई अस्वीकार गरिएको बताएका छन्। गान्धीले २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी र्‍यालीमा दिएको एउटा प्रतिक्रिया दिएको सन्दर्भमा अदालतले दोषी ठहर गरेको बीबीसीले जनाएको छ। 

न्यायाधीशले आदेश सुनाउँदा कांग्रेस पार्टीका सांसद गान्धी अदालतमा उपस्थित थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा गान्धीले किन सबै चोरहरूको साझा थर ‘मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गरेका थिए। 

त्यसबेला उनले फरार हिरा व्यापारी निरभ मोदी र भारतीय क्रिकेट बोर्डका पूर्व प्रमुख ललित मोदीलाई सङ्केत गरेका थिए। उक्त मुद्दा सत्तारूढ भारतीय जनता पार्टीका सांसद पुर्नेश मोदीको उजुरीका आधारमा दायर भएको थियो। उनले गान्धीको टिप्पणीले पूरै मोदी समुदायलाई अपमान गरेको बताएका थिए। 

गान्धीका वकिलहरूले उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको जनाएका छन्। उनीहरूले गान्धीको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित रहेकाले उजुरीकर्ता पुर्नेश मोदी नभई प्रधानमन्त्री मोदी हुनु आवश्यक रहेको तर्क गरेका थिए। कतिपयले आफूहरू अदालतको आदेशबाट अलमलमा परेको बताएका छन्। 

एक जना कानुनविद् गौतम भाटियाले ट्विटरमा कुनै पनि व्यक्तिले आफू प्रत्यक्ष रूपमा जोडिएको पुष्टि नगरेसम्म सामान्यीकरण गरिएको टिप्पणीकै आधारमा कारबाही गर्न नमिल्ने बताएका छन्।

प्रकाशित मिति: : 2023-03-24 17:50:00

प्रतिकृया दिनुहोस्