नार्कले विकास गर्‍यो नयाँ जातको मार्सी धान

BreaknLinks
BreaknLinks

मार्सी धान विश्वकाे हाई अल्टिच्युड ब्रान्ड हाे। पछिल्लो समय अपेक्षाकृत रुपमा बजार विस्तार गर्न सफल मार्सी धानकाे नयाँ जात विकास गरिएकाे छ।

सन् २०१० देखि नै जुम्ली मार्सी धान संकलन गरी अनसन्धान सुरु गरिएको कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख तथा वैज्ञानिक रेशमबाबु अमगाईले बताए।

उनले भने, 'हामीलाई उत्पादन बढी दिने र रोग नलाग्ने मार्सी धान चाहिएको हो। यस आधारमा ३ वटा  जात निकालिएको छ। मार्सीको स्वाद, अडिलोपन र पोषिलोजस्ता गुणहरु नयाँ जातमा हटेको छैन।'

अमगाईका अनुसार १३ वर्षको अनुसन्धानबाट विकास गरिएको धानलाई जुम्ली मार्सी १८, जुम्ली मार्सी २० र जुम्ली मार्सी–२२ नाम दिइएको छ।

विकास गरिएका यी ३ जातको धान किसानको खेत र अनुसन्धान केन्द्रको आफ्नै जमिनमा परीक्षण गरिसकिएको छ।

परम्परागत मार्सी धानमा ब्लास्ट रोगको प्रकोप बढ्न थालेपछि रोग प्रतिरोधी मार्सी धान विकासका लागि नार्कका वैज्ञानिक लागिपरेका थिए। विकसित नयाँ धान औपचारिक रुपमा घोषणा गरिएको छैन।

वैज्ञानिक अमगाईले थपे, 'नार्कले औपचारिक रुपमा घोषणा गरेपछि किसानलाई वितरण गर्न मिल्छ।'

उनले हाल विकास गरिएकाे धानको बोट मार्सीजति नै अग्लो हुने बताए। 'चिसो सहन सक्ने, पाक्ने समय पनि एउटै र दाना पनि मार्सीको जस्तै हुन्छ,' उनले भने।

जुम्ली मार्सी धान १ हजार ४ सय हेक्टरमा उत्पादन भइरहेकाे। कृषि अनुसन्धान केन्द्रकाे तथ्यांकअनुसार औसतमा प्रतिहेक्टर १ दशमलव ८ टन मार्सी उत्पादन हुन्छ।

हरेक वर्ष ब्लास्ट रोगले मात्र २६ प्रतिशत नास गरिरहेको छ। अर्थात कुल उत्पादनकाे एक चाैथाई धान ब्लाष्ट राेगबाट नष्ट भइरहेकाे छ।

जुम्लामा बर्सेनि २६ करोड रुपैयाँ बराबरको मार्सी धान फल्छ।  प्रतिहेक्टर १ लाख ४० हजार रुपैयाँ बराबरको धान फलिरहेको छ। ब्लास्ट रोगका कारण मात्रै वार्षिक ६ करोड रुपैयाँ बराबरको उत्पादनमा ह्रास आइरहेको  छ।

मार्सी धानकाे चक्र १ सय ८० दिनमा पूरा हुन्छ। चैतबाट सुरु भएर कात्तिकमा भित्र्याइने मार्सी धानलाई पर्याप्त मात्रामा पानी चाहिन्छ।

अन्तर्राष्ट्रिय धानबाली प्रतिष्ठानका नेपाल प्रतिनिधि डा. कृष्णदेव जोशीले मार्सी धानको अवस्था, शक्तिशाली जीवाणु र वातावरण धानको लागि अनुकुलित छ या छैन भन्ने विषयले उत्पादनमा फरक पार्ने बताए।

प्रकाशित मिति: : 2023-03-16 17:32:00

प्रतिकृया दिनुहोस्