म्यान्मार द्वन्द्वः सेनाले गुम्बामा बम खसाल्यो, भिक्षुसहित ३० जनाको मृत्यु

दक्षिणी शान–स्टेटको एउटा गुम्बामा सत्तासीन सेनाले गरेको हवाई आक्रमणमा परी बौद्ध भिक्षुसहित ३० जनाको मुत्यु भएको अधिकारीहरूले जनाएका छन्।

सशस्त्र जातीय विद्रोही समूह करेनी नेशनालिटिज डिफेन्स फोर्स (केएनडीएफ)का अनुसार म्यान्मारको क्रूर सेनाले शनिबार नान न्वेइन गाउँमा हवाई आक्रमण र भीषण गोलाबारी गरेको थियो।

दुई वर्षअघि नागरिक सत्ता हत्याएको ‘जुन्ता’ भनेर चिनिने सेना परिषद्ले गाउँदेखि शहरसम्म सैन्य–आतंक मच्चाएको छ।

म्यान्मार सेना र सशस्त्र विद्रोही प्रतिरोधसमूहबीच देशभर घातक लडाइँ भइरहेको छ। सैन्य स्रोतकाअनुसार राजधानी नेप्यिड र थाइल्यान्डसँग सीमा जोडिएको शान–स्टेटमा सबैभन्दा धेरै भिडन्त भएको छ।

शनिबार ‘जुन्ता’को हवाई आक्रमणपछि गाउँछेउको गुम्बाभित्र लुकेर बसेका स्थानीयलाई क्रूर सेनाले एकै–समयमा हत्या गरेको स्थानीय अखबार ‘द हान्तावडी टाइम्स’ले जनाएको छ।

आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारण र तीन जना बौद्ध भिक्षुको मृत्यु भएको विद्रोही समूहले जनाएको दाबी छ।

‘सेनाले भिक्षुसहित गाउँलेहरूलाई गुम्बाअगाडि लामबद्ध गराएर निर्ममतापूर्वक गोली हानेको जस्तो छ,’ केएनडीएफका प्रवक्ताले भने।

सामाजिक सञ्जालमा देखिएको एउटा भिडियोमा बौद्ध भिक्षुहरूले लगाएको गेरूवा रंगको पहिरनमा कम्तीमा २० वटा शव गुम्बामा थुप्रिएको देखाइएको छ। ती शवहरूमा गोली लागेरजस्तो देखिन्थ्यो। भिडियोमा गुम्बाको भित्तामा गोलीको प्वाल परेको पनि देखाइएको छ।

घटनाको विस्तृत विवरण पुष्टि गर्न कठिन भएपनि निहत्था नागरिकमाथि सेनाले गरेको आक्रमणको बर्बर नयाँ होइन। यसक्षेत्रका अन्य गाउँमा सैन्य अधिकारीहरूले निरन्तर सर्च अभियान चलिरहेका छन्, जसका कारण हजारौं मानिसहरू विस्थापित भइरहेका छन्।

प्रकाशित मिति: : 2023-03-13 14:45:00

प्रतिकृया दिनुहोस्