बलबहादुर वली ‘सितल सी’ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिव्यूरो सदस्य हुन्। २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा होमिएका सितल पार्टी विभाजन हुँदै गर्दा विप्लवको साथमा उभिएका थिए।
उनी निरन्तर रुपमा विप्लव नेतृत्वकै नेकपामा रहेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न वकालत गर्दै आइरहेका छन्। आज फागुन २१ गते विप्लव नेकपा खुला राजनीतिमा आएको दुई वर्ष पुगेको छ। २०७७ साल फागनु २१ गते तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेर प्रतिबन्ध फुकुवा गर्दै खुला राजनीतिमा आएको थियो।
खुला राजनीतिमा आएपछि नेकपा गुमनाम जस्तै छ। तीन पटक पार्टी फुटेर क्षति बेहोरेको छ। आज हामीले उनै नेकपाका पोलिटव्यूरो सदस्य सितलसंग पार्टी फुटको कारण, असर र खुला राजनीतिमा आएको दुई वर्षको अवस्था र अबको योजनाका बारेमा कुराकानी गरेका छौँ। प्रस्तुत छ सितल सीसँग गरेको कुराकानीको सम्पादित अंशः
विप्लव नेतृत्वको नेकपा सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको आज फागुन २१ गते दुई वर्ष पुगेको छ। तीन बुँदे सहमति कति पूरा भए?
सरकारसँग तीन बुँदे सहमति भएपछि हामीले सरकारसँग पटक–पटक छलफल गरेका छौँ। सहमति कार्यान्वयन गर्नका लागि हामीले सरकारलाई दबाब पनि दिइरहेका छौँ। तर सरकारबाट हुनुपर्ने कार्यान्वयन अहिलेसम्म कत्ति पनि भएको छैन। सरकारले हाम्रो प्रतिबन्ध फुकुवा गर्ने र त्यहीबेला केही बन्दीहरु छुटाउने बाहेक अरु केही गर्न सकेन।
अझै पनि ४२ जना हाम्रा नेता-कार्यकर्ता सरकारले बन्दी बनाएको छ। झुठ्ठा मुद्दा लगाएर राज्यले बन्दी बनाएकालाई छुटाउने सहमति गरेको भएपनि सरकारले कार्यान्वयन गरेको छैन।
खुला राजनीतिमा आएपछि नेकपा कता हरायो?
खुला राजनीतिमा आएपछि हामी हराएका छैनौँ। राजनीति गर्ने कुरा गरिरहेका छौँ। हामी जनताको माझमा छौँ। हामी हराएका होइनौँ बरु अब नेपालमा जनताको पक्षमा कोही छ भने अब विप्लव नेतृत्वको नेकपा नै छ। हाम्रो पार्टीप्रति जनताको अपेक्षा पनि छ।
जनताको माझमा जनसंगठन गर्दै अहिले देखिएको मिटर व्याजी, लघुवित्त, बैंकबाट जनताले दुःख पाइरहेको समयमा हामी त्यसका विरुद्धमा छौँ। हामी हराएका छैनौँ। जनताको बीचमा छौँ र कोही जनताका लागि गर्ने पार्टी छ भने हाम्रो नेकपा नै त छ नि! अरु पार्टी को छन् र? हामी त जनतामाझमा स्थापित हुँदैछौँ।
तपाईंहरु कहाँ जनाता जनतामाझ स्थापित हुनुभएको छ? खुला राजनीतिमा आएको दुई वर्षमा तीन पटक पार्टी फुट्याे नि?
पार्टी फुटेको कुरा बाहिर मिडियामा आएको कुरा हो। पार्टीमा के हुन्छ भने क्रान्तिकारी पार्टीमा हजारौँ जोडिन्छन्। क्रान्तिकारी पार्टीमा आएपछि रुपान्तरण हुन्छन् र रुपान्तराण हुन नसक्ने व्यक्तिहरु पार्टीबाट बाहिर निस्कन्छन्।
तपाईंले अंकित गरेको कुरा सुदर्शन, कञ्चनहरु छुटेर गएको भन्ने होला। त्यो त एउटा कार्यनीतिमा छलफल गरेर त्यही निहुँबाट पार्टी फुटाएर जानु भनेको वैचारिक विचलन मात्र हो। त्यो पार्टी फुटेको होइन। केही व्यक्ति उछिट्टिएर, कुहिएर बाहिर गएका हुन्।
यो तपाईंहरुले भन्ने कुरा न भयो। खासमा एउटा शक्ति धर्मेन्द्र बास्तोला नेतृत्वसँगै अन्य तपाईंका साथीहरु बाहिर जाँदा पनि आफूलाई कमजोर सोच्नु भएको छैन?
उहाँहरु पार्टी फोडेर गएको भन्ने हामीलाई लागेको छैन। उहाँहरु हामीलाई छाडेर गएपनि पार्टीमा असर पुगेको छैन। ८–९ जना व्यक्तिहरु बाहिर जाँदैमा हाम्रो पार्टीको आन्तरिक जीवनमा फुट भएको जस्तो लाग्दैन।
दुई वर्षको बीचमा तपाईंको पार्टीले के गर्यो?
हामीले देशको अवस्था हेरेर अगाडि बढिरहेका छौँ। देशमा भ्रष्टाचार व्याप्त छ यसका विरुद्धमा बोलको छौँ। नागरिक ठगिरहेका छन्, यसका विरुद्धमा बोलिरहेका छौँ। अहिले देशमा जति आवश्यक छ, ठिक त्यति मात्र हामीले आन्दोलन गर्दै आइरहेका छौँ। विषयहरु उठाइरहेका छौँ।
खासमा जनताकाे लागि चाहिँ के गर्नुभयो?
काम कति भनेर भन्ने? हामीले उत्पीडित जनतालाई संगठित गरिरहेका छौँ। आफ्नो राष्ट्रलाई बचाउनका लागि उत्पीडित जनतालाई संगठित गर्दै आइरहेका छौँ। जनता र राज्यका बीचमा भएको ग्यापका बारेमा हामीले आवाज उठाएका छौँ।
राज्यकाे बेथितिका विरुद्धमा, अन्तर्राष्ट्रिय शक्तिहरुबाट आक्रमण भइरहेको समयमा हामीबाहेक अरु को बोलेको छ र? जस्तो भन्नुस् त, एमसीसीका विरुद्धमा हामीबाहेक अरु को बोलेको थियो? एनसेलले राज्यबाट अकुत सम्पत्ति खाइरहेको समयमा हामीले आवाज उठाएको हो नि। अरु कसले उठाएको थियो?
जनताका लागि गर्ने हामी नै त हो भन्नुभयो। भन्दै आएको पनि यही हो। तर तपाईंहरुले भनेको वैज्ञानिक समाजवादको पक्षमा नागरिक छैनन्। बरु राष्ट्रिय स्वतन्त्र पार्टी चार महिनामा संसदमा चौथो शक्तिका रुपमा उदायो। आफूहरु कुन अवस्थामा छौँ भन्ने देख्नुभएको छ नि?
हामी राजनीतिको प्रकृयामा छौँ। पूर्ण परिवर्तनको पक्षमा छौँ। हामी नेपालमा चलिरहेको संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने पक्षमा छौँ। यो भनेको कुनै जादुको छडि होइन। यो भनेको मान्छेले आफ्नो बुद्दिमता पूर्वक बल लगाएर परिवर्तन गर्ने कुरा हो।
परिवर्तनका लागि के-के काम गर्नुपर्छ, हामीले सुरुको काम गरिहेका छौँ। हामी अहिले प्रगतिको बाटोमा छौँ। तर, त्यस्तो के हुँदैन भन्नुहुन्छ भने आज कल्पाना गरेर भोलि नै भइहाल्ने होइन। यो त समाज रुपान्तरण गर्दै, समाजलाई एउटा प्रकृयामा लगेर जनतालाई साथमा लिएर पार्टीको नेतृत्वबाट परिवर्तन गरेर कायापलट गर्ने हो।
२०७१ सालमा मोहन वैद्यबाट छुट्टिएर वैज्ञानिक समाजवाद ल्याउन विप्लवले पार्टीको नेतृत्व गरेको एक दशक पुग्न लागिसक्यो। तर, तपाईंले भनेको जस्तो पार्टीको प्रगति देखिँदैन। खुला राजनीतिमा आएपछि झन कमजोर हुँदै गएको देखिएको छ। तपाईंहरूलाई पार्टीको कमजोरी भएको जस्तो लाग्दैन?
पहिलो कुरा के हो भने नेपालमा मात्र होइन, विश्वमा नै क्रान्ति गर्ने भन्ने कुरा सजिलो छैन। अर्को, तपाईंले वैद्यसँगको मात्र कुरा गर्नुभयो। हामीले २०५२ सालदेखि प्रचण्डको नेतृत्वमा जनयुद्ध थालनी गर्यौँ र केही प्रगति हासिल पनि गरेका थियौँ। विजयी घाँटी-घाँटीसम्म पुगेको अवस्था थियो। तर सफलताको नजिक पुगेको समयमा प्रचण्ड संसदवादमा फस्न पुगे।
यसअघि पनि कम्युनिष्टहरुले धोका दिँदै नआएका होइनन्। तर, महान जनयुद्धको बलमा सफलता नजिक पुगेको हाम्रो सपनालाई प्रचण्डले संसदमा लगेर फेल बनाइदिए। जसका कारण नेपालमा कम्युनिष्ट आन्दोलनप्रति अविश्वास बढेको छ। त्यस कारण कम्युनिष्ट आन्दोलन ढल्दै गर्दा हामीले माओवादीबाट विद्रोह गरेर झण्डा उठायौँ। कम्युनिष्टप्रति विश्वास बढाउन ठुलो संघर्ष गनुपर्यो।
सधैँ आन्दोलन मात्र गरेर हुँदैन होला नि, सफल हुने कहिले त?
सफल कहिले हुने भन्ने कुरा कुनै मिति तोकेर भन्न सकिँदैन। क्रान्तिको प्रकृयाबाट अघि बढ्ने कुरा हो। फेरि क्रान्ति सफलतामा पुग्छ। हामी आम जनसमुदायलाई केन्द्रित गरेर अगाडि बढ्दै छौँ।
एकीकृत जनक्रान्तिको कार्यदीशाबाट अगाडि बढिरहेका छौँ। नेपाली जनतालाई संगठित गर्दै अगाडि बढिरहेका छौँ। हामी सहि बाटो, सहि विचारमा आगाडि बढिरहेका छौँ। त्यसैले एक दिन अझ भनौँ छिट्टै सफलतामा पुग्दैछौँ।
विप्लवको उदेश्य खास थिएन, छैन र खुला राजनीतिमा आउनु पनि आफ्ना बन्दी कार्यकर्ता छुटाउन मात्र उदेश्य थियो। यही तरिकाले विप्लवले राजनीति गरे नेकपा योभन्दा बढी गर्न सक्ने छैन भन्ने गरिन्छ। यस विषयमा के भन्नुहुन्छ?
यो कुरा विरोधीको हो। विरोधीभन्दा पनि संसदवादी सोच भएकाहरुको हो। त्यो क्रान्तिकारीको कुरा हाइन। यो आम जनताको कुरा होइन। यो कम्युनिष्ट आन्दोलनलाई कसरी तुहाउने भन्ने सोचका साथ बोलिएका कुरा हुन्। यस्तो भनाइमा नेपाली जनता पर्दैनन् भन्ने पनि मलाई लाग्छ।
हामी कम्युनिष्ट आन्दोलनका माध्यमबाट वैज्ञानिक समाजवाद निर्माण गर्ने र नयाँ मानव समाज निर्माण गर्न गरी अगाडि बढिरहेका छौँ। नेपालमा क्रान्ति सम्भव छ। अझ हामीले के देखेका छौँ भने राज्यबाट हुने अनियमितता, जनताप्रति उत्तरदायी नहुने प्रवृत्तिका कारण हामी क्रान्तिको नजिक छौँ।
तपाईंहरुले ९औँ महाधिवेशनबाट नाममा पनि परिवर्तन गर्नुभयो। थर नराखेर उपनामसँगै थरका रुपमा सी मात्र राख्नुभयो। ‘सी’ राख्नु पर्ने कारण के हो?
कम्युनिष्टहरुले धेरै पहिलेदेखि भन्दै आएको कुरा के हो भने, कम्युनिष्ट अन्तर्राष्ट्रिय जातिवादी हुन्छन् भन्नेछ। हामीले एक प्रकारले कम्युनिष्ट जातिका रुपमा आफूलाई उभ्याउने प्रयासमा गयौँ भन्ने हो।
जात-जाति वा सानो-ठुलो जाति भन्ने विभेद छ, यो विभेद हटाउन र सबै जाति, क्षेत्रीय हिसाबले थिचोमिचोमा परेका छन् र उनीहरुको मनोवाद उच्च बनाउन हामीले नामका पछाडि सी राखेका हाैँ। हामी कम्युनिष्ट जाति हो भन्ने चिनाउन सी राखेका हाैँ। यो कार्यान्वयनमा गएको अवस्था छ।