संसदमा कुरा उठाएर मात्रै नहुने रहेछ, बारम्बार फलो-अप गर्न जरुरी छ: सांसद छिरिङ

नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकमा निर्वाचित छिरिङ ल्यामु लामा तामाङ पार्टीकी कान्छी सांसद हुन्। उनले पहिलो पटक संसदमा बाेल्दा कर्णाली प्रतिबिम्बित गराइन्। जनताका समस्यालाई खुलेर संसदमा उठाउने उनी यतिबेला जुम्लामा आएकी छन्।

जिल्लाका सबै पालिकामा पुगेकी उनले जनतासँग अन्तरक्रिया गरेर संसदमा उठाउनुपर्ने विषयकाे लामाे सूची बनाएकी छन्। जनतासँग निकटकाे सम्बन्ध बनाएकी उनले पार्टी गतिविधिमा सक्रियता जनाउन सकेकै कारण छाेटाे राजनीतिक यात्रामा ठुला उपलब्धी हासिल गर्न सकेकी छन्।

सबैले बुझ्ने गरी सरल रुपमा प्रस्तुत हुने उनीसँग कुराकानी गरेर याे लेख तयार पारिएको छ।


संसदमा पहिलाे पटक उपस्थित हुने बेला गर्वानुभूति भइरहेकाे थियाे। सँगै फरक खालकाे जिम्मेवारी पनि। त्यसबेला मैले गर्नुपर्ने थुप्रै कामहरु सम्झेँ। चुनावकाे बेला जनताकाे घरसम्म पुग्दा उनीहरुले भाेगिरहेकाे समस्याहरु सम्झेँ। ती जसरी भए पनि कम गर्नैपर्छ जस्ताे लागिरहेकाे छ।

हिजाे राजनीति गर्ने बेला जनताका समस्या देखिन्थ्यो। ती समाधान हुनुपर्छ भनेर बाेलिन्थ्याे। ती हामी आफैंले पूरा गर्न सकिदैनथ्याे। आज जनताका समस्याहरु सुन्ने र तीनलाई पूरा गर्न पहल गर्ने ठाउँमा छु।

एउटा सांसदकाे काम नै पहलकर्ता हाे। उसले संसदमा जनताकाे आवाज पुगाउने हाे। समाधान गर्ने काम सरकारकाे हाे। त्यसैले सांसदले फलानाे ठाउँमा यति बजेट, हलानाे ठाउँमा उति बजेट भन्दै हिँड्नु उपयुक्त हुँदैन। केही सांसद साथीहरुले यस्ताे भन्दै हिँडेकाे पनि सुनेकी छु। त्यसैले म वचन दिने काम गर्दिनँ। तर, पहल गर्न रत्तिभर पछि हट्दिनँ।

हामी सांसदहरुकाे मुख्य काम देश र जनताकाे हित हुने कानुनहरु बनाउनु हाे। जनतालाई यही कुराकाे बाेध हुन सकेकाे छैन। त्यसैले जनताले सांसदकाे काम भनेकाे विकास गर्ने हाे भनेर बुझेका छन्। हामी जुन ठाउँमा गए पनि विकासका कुरा मात्रै आइरहेका छन्। तर, हाम्राे मुख्य काम कानुन बनाउने हाे।

सांसद भएर गृह जिल्लामा पुगेकाे याे पहिलो पटक हाे। यतिबेला म जिल्लाका सात वटा गाउँपालिकामा पुगेँ। मलाई झण्डै चार सय ठाउँका समस्याहरु समाधान गरिदिन भनेर निवेदन आएकाे छ। ती सबै समस्या समाधानका निम्ति पहल गर्छु। तर, पूरा गर्छु भनेर वचन दिन्नँ।

सरकारकाे मन्त्रीकाे लाेगाे लगाएकाे व्यक्तिले मात्रै सिधैं यति बजेट दिन्छु भनेर भन्न सक्ने देशकाे संयन्त्र छ। तर, सांसदले यसाे भन्नलाई उसँग केही हुँदैन। त्यसैले पूरा गर्छु भनेर ठाेकुवा गर्नु भनेकाे झुटाे आश्वासन मात्रै हाे। जनतालाई झुटाे आश्वासन दिँदा आज फूलमामा लगाइदिए पनि भाेलि ढुंगा हान्ने स्थिति आउँछ। याे स्थिति नआहाेस् भनी सचेत छु। समग्र राजनीति जनताकाे नजरमा झन् विकृत हुँदै जान्छ।

हामीले जनताका समस्याहरुलाई संसदमा उठाएर मात्रै पनि पुग्दाे रहेनछ। त्यसलाई बारम्बार फलाेअप गर्नुपर्ने रहेछ। पहिला पहिला सांसदले कुनै समस्या उठायाे भने ऊ संसद भवनबाट घर नपुग्दै समाधानका निम्ति काम थालिएकाे भनेर फाेन आउँथ्यो रे। आज अवस्था त्यस्तो छैन। त्यसैले बारम्बार आफूले उठाएकाे कुरामा फलाेअप जरुरी छ।

जस्ताे मैले संसदमा कर्णालीका सबै जिल्लामा हवाई टिकटलाई अनलाइन बनाउनुपर्ने विषयमा कुरा उठाएँ। त्यसलाई त्यत्तिकै छाेडेकाे भए हुँदैनथ्यो। म बारम्बार सम्बन्धित मन्त्रालयमा पुगेँ। मन्त्रीलाई आग्रह गरेँ। त्यसपछि काम भयाे। तर, अहिले पनि प्रभावकारी नभएकाे गुनासाहरु आइरहेका छन्। केही कर्मचारीले सुरुमै सबै टिकट खरिद गरिदिएका कारण अनलाइन टिकट बुक भइसकेको मात्रै देखाउने गरेकाे छ। याे खराब नियत हाे। अब त्यसलाई व्यवस्थित गराउने विषयमा साेचेकी छु।

पहिलाेपल्ट संसदकाे विशेष समयमा बाेल्दा मैले कर्णालीकाे चित्र झल्काएकी छु। सम्भावनाका सबै ढाेकाहरु देखाएकी छु। अब ती सबै ढाेकाहरु खाेलिनुपर्छ। मेराे प्रयास त्यसैका लागि हुनेछ।

हाम्राे देशकाे उत्पादन सम्बन्धकाे आधार बुझ्न जरुरी छ। हाम्राे उत्पादन प्रणाली कृषिमै जाेडिएकाे छ। हाम्राे देशमा अधिकतम् जनताकाे मुख्य पेसा भनेकै कृषि हाे। यसलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने विषयमा साेच्नुपर्नेमा सरकारले कृषि क्षेत्रकाे बजेट कटाैती गर्न खाेज्याे। मैले यही विषय संसदमा उठाएकी हुँ। मैले कृषि मन्त्रीलाई भेटेर पनि बजेट कटाैती नगर्न आग्रह गरेकी छु।

हाम्राे जिल्लामा मात्रै वार्षिक पचास कराेड बढीकाे स्याउ उत्पादन हुन्छ। राम्राे काेल्ड स्टाेर नभएर लाखाैंकाे स्याउ कुहिएर जान्छ। किसानले आफ्नाे फसलकाे राम्राे भाउ पाउँदैनन्। त्यसैले मैले जिल्लाका आठवटै पालिकामा एउटा-एउटा राम्राे काेल्ड स्टाेर निर्माणका निम्ति पहल चालेकी छु। कृषि मन्त्री निकै सकारात्मक हुनुहुन्छ।

जनताका समस्या समाधानबाहेक मेराे कुनै अभिष्ट छैन। हरदम म यसैका निम्ति लागिरहेनेछु। मैले अभाव भाेगेकी छु। पीडा सहेकी छु। त्यसैले जनताका समस्याहरु देख्न सक्दिनँ। म एक्लैले गर्न सक्ने एक्लै गर्छु। नसकेको खण्डमा हाम्राे जिल्लाबाट चार जना माननीय छाैँ। हामी सबै एक ठाउँमा आएर पनि समाधानका निम्ति पहलकर्ताकाे स्वर बलियाे बनाउने प्रयत्न गर्नेछु।

त्यसैले मलाई हाम्राे याे कार्यकालमा केही परिणाम निक्लनेछ भन्ने लागेकाे छ। जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै माननीयहरुमा केही गरेरै छाेड्ने हुटहुटी छ। परिणाम ढिलाे चाँडाे हाेला तर परिणाम निस्कने छ।

अब म शिक्षा र स्वास्थ्यकाे कुरा संसदमा उठाउनेछु। संविधानले शिक्षा र स्वास्थ्यलाई नि:शुल्क भनेकाे छ। यसलाई कार्यान्वयन मात्रै गराउन सकेमा जनतालाई ठुलाे राहत हुनेछ।

म सांसद भएर पहिलाेपल्ट हाम्राे अध्यक्ष कमरेड प्रचण्डलाई भेट्न जाँदा उहाँले जनताकाे सेवा गर्नु भनी अह्राउनु भएकाे छ। उहाँले आफ्ना कार्यकर्ताकाे संरक्षण गर्नु भनेर भन्नुभएन। त्यसैले म जनताकाे प्रतिनिधि हुँ। म मात्रै हाेइन जुम्लाबाट प्रतिनिधित्व गर्ने हामी सबै पार्टीको घेराभन्दा माथि उठ्न सक्ने खालका छाैं। हामीले गर्ने कामबाट पार्टीलाई भन्दा जनालाई बढी लाभ हाेस्। जनताले लाभ पाउने भनेकाे शिक्षा र स्वास्थ्य नि:शुल्क हुँदा मात्रै हाे। अबका दिनमा मैले यसका निम्ति समय खर्चिनेछु।

प्रकाशित मिति: : 2023-03-03 12:09:00

प्रतिकृया दिनुहोस्