नेपाली मिडियामा अमेरिकामा त यस्तो हुन्छ, उस्तो हुन्छ भनेर सबै राम्रैराम्रो मात्र हुन्छ कि जस्तो गरेर सामग्री सम्प्रेषण भैरहेका हुन्छन्। मिडियाले गरेको एक किसिमको त्यही एजेण्डा सेटिङको भरमा नेपालमा अमेरिकाको जबर्जस्त सुकिलो छवि बनेको छ। त्यही छविका कारण हरेक नेपालीले एउटा सपना देख्ने गरेको छ जसलाई बोलीचालीको भाषामा अमेरिकी सपना भन्ने गरिएको छ। त्यही सपनाअन्तर्गत केहीले अमेरिका हेर्ने र धेरैले अमेरिकामै बस्ने सपना देखेका हुन्छन्।
अब प्रश्न उठ्छ, के साँच्चै अमेरिका मिडियाले एजेण्डा सेटिङ गरेजस्तै सपना देख्ने गरी नै राम्रो छ त ? अहँ छैन, अमेरिकामा पनि मानवोचित गुण र दोष भएका मानिस नै त बस्ने हुन्। अझ त्यसमा पनि अमेरिका आफैंमा आप्रवासीको देश हो जहाँ संसारभरका अलि बढी महात्वाकांक्षी र स्वार्थी मानिसहरू जम्मा हुन्छन्। अमेरिका जाँदा उनीहरू मात्रै जादैनन्, उनीहरूसँगै उनका महत्वाकांक्षा र स्वार्थ पनि गएका हुन्छन्।
अमेरिकाका पुगेर फर्केका र अब त अमेरिकामा बसेकैले पनि अमेरिकी यथार्थ बताउन थालेका छन्। अझ केहीले त अमेरिका हैन, 'आ मरी खा' पनि भन्ने गरेका छन्। तर, पनि अमेरिकाका बारेमा बनाइएको सुकिलो छवि र त्यसका कारण अमेरिकी सपना देख्नेको कमी छैन।
धेरैलाई लाग्दो हो, यो नेपालीको मात्रै सपना हो। हैन,यो संसारभरकै मानिसको एक किसिमले भन्ने हो भने साझा सपना हो। त्यही सपना देख्नेहरूकै कारण आज पनि अमेरिका विश्वभरका मानिसको नम्बर १ गन्तव्य भएको छ।
अमेरिकाका बारेमा एउटा बहुचर्चित भनाइ छ, अमेरिकाका बारेमा जे सुनिन्छ, त्यो एक-चौथाई सत्य हो, जे पढिन्छ त्यो आधा-सत्य हो, जे देखिन्छ त्यो तीन-चौथाईं सत्य हो, बाँकि एक-चौथाई अमेरिका कहीँ कतै सुनिदैन/पढिदैन/देखिदैन, न भेटिई जो कोही पनि यो संसारबाट विदा हुन्छ।
यही अमेरिकी सिक्रेट हो र यथार्थमा अमेरिका यही सिक्रेटको आधारमा संसारभरका मानिसलाई अमेरिकी सपना देखाएर लोभ्याइरहेको छ।
यही मेसोमा अर्को एउटा प्रश्न उब्जन्छ, आखिर अमेरिका जे हैन, त्यही हो भनेर मानिसहरू किन पत्याइरहन्छन् त ?
यसको मूल कारण अमेरिकी समाचार ‘फ्लो’को प्रभाव हो। आमसञ्चारमा फ्लो भन्ने एउटा शव्दावली हुन्छ, त्यसको नेपालीमा ठ्याक्कै शव्दानुवाद हुदैन। त्यसलाई समाचारको प्रवाह त भन्न सकिन्छ तर त्यसले त्यसको ओज बोक्दैन। यसलाई बुझ्न पानीको प्रवाहको उदाहरण दिन सकिन्छ। जस्तो कि, पानी उकालोबाट ओरालोतिर बग्छ, त्यस्तै समाचार उत्तरबाट दक्षिणतिर प्रवाह हुन्छ। आमसञ्चारमा उत्तर समाचारको धनी गोलार्द्ध हो भने दक्षिण समाचारको गरीव गोलार्द्ध। समाचारको धनी गोलार्द्धमै संसारका ८० प्रतिशत समाचार उत्पति हुन्छन् र ती दक्षिणतिर प्रवाह हुन्छन्। यसैलाई समाचारको फ्लो भनिन्छ। बाँकि २० प्रतिशत समाचार दक्षिणमा उत्पादन भएर उत्तरतिर प्रवाहित हुन्छन्, यस्तो क्रमलाई कन्ट्रा-फ्लो भनिन्छ।
समाचारको फ्लो सधैं धमिलो हुन्छ, त्यसमा सूचना मात्रै हुदैनन् धमिला भ्रम र गलत सूचना पनि सँगसँगै प्रवाहित भैरहेका हुन्छन्। त्यसैले फ्लोलाई पश्चिमा मिडियाहरूले आफ्नो भुइँ सफा देखाउन प्रवाह गर्ने एक किसिमको मिसइन्फर्मेसन र डिस्इन्फर्मेसनको प्याकेज नै हो भन्ने गरिन्छ।
यही फ्लोले अमेरिकाको सुकिलो छवि बनाइ दिएको हो। जस्तो कि, अमेरिकी प्रजातन्त्र, महिला स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आदर्श राजनीति, उच्चतम शिक्षा र स्वास्थ्य अवस्था आदि- इत्यादि। वास्तवमै भन्ने हो भने यी यावत पक्षमा नेपालमा जे जस्ता धारणा बनाइएका छन्, ती सबै तथ्यभन्दा धेरै टाढा छन्, अझ टाढिदैछन्।
प्रसङ्ग एक अमेरिकी सांसदको हो। डेमोक्रेट बाहुल्य न्युयोर्क डिस्ट्रिक्ट ३ बाट २०२२ को चुनावमा एक रिपब्लिकन उम्मेद्वारले अप्रत्यासित रूपमा चुनाव जितेर छक्कै पारे। उनको नाम हो, जर्ज सान्तोस। तर, यी रिपिब्लिकन सांसद यति ढाँट र छली निस्के कि उनका झुटका पुलिन्दा खोल्दा आज सारा अमेरिकी तीन छक्क परिरहेका छन्। लाग्छ, उनी अमेरिकी संस्करणमा ४२० हुन्।
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका कट्टर अनुयायी सान्तोस हरेक दिन नयाँ नयाँ समस्यामा फस्दै गएका छन्। एउटा झुट छोप्न अरू दुई झुट बोल्दै जाँदा उनी आफैं झुटको पुलिन्दा भैसकेका छन्। भनाइ नै छ नि, ढाँटेको कुरा काटे मिल्दैन। जर्न सान्तोसको जीवनमा अहिले ठ्याक्कै त्यस्तै भएको छ।
न्युयोर्कको ज्याक्सन हाइट्समा जन्मिएका उनी ब्राजिलियन आप्रवासीका सन्तान हुन्। एक ल्याटिनो आप्रवासीजस्तै जीवन बिताएका उनले आफ्नो बारेमा यति धेरै बढाइचढाइ गरेछन् कि यतिबेला उनले के मात्र ढाँटे हैन, के चाँहि साँचो भने भन्ने स्थिति सिर्जना भएको छ।
उनले यतिसम्म ढाँटेछन् कि उनले जीवनमा कहिलै एक पाइलो नटेकेको विश्वविद्यालयबाट उच्च शिक्षा लिएको बायोडाटा बनाएछन्। आफ्नै आमाका बारेमा ढाँटेछन्, आफ्नै पुर्खाका बारेमा ढाँटेछन्। गे रहेछन्, आफ्नो लैंगिक पहिचान पनि ढाँटेछन्।
उनको कीर्तिमानी ढटाइले यतिबेला अमेरिकी सांसदहरू लाज मानिरहेका छन्। यसैले, उनलाई राजीनामा दिन विपक्षी डेमोक्रेट पार्टीले मात्र हैन, उनको आफ्नै पार्टी रिपब्लिकन पार्टीले पनि दबाब दिइरहेको छ। तर, उनी ती सबै दबाबलाई पूरै बेवास्ता गरेजस्तो गरिरहेका छन्।
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका कट्टर अनुयायी सान्तोस हरेक दिन नयाँ नयाँ समस्यामा फस्दै गएका छन्। एउटा झुट छोप्न अरू दुई झुट बोल्दै जाँदा उनी आफैं झुटको पुलिन्दा भैसकेका छन्।
भनाइ नै छ नि, ढाँटेको कुरा काटे मिल्दैन। जर्न सान्तोसको जीवनमा अहिले ठ्याक्कै त्यस्तै भएको छ।
अमेरिकाको पछिल्लो चरित्र र चित्र हो यो। तर, अझै पनि नेपालका कतिपय मिडियाकर्मी अमेरिकी राजनीति दुधले धोएको जस्तो सफेद लेखिरहेका छन्, त्यसैको आधारमा धेरै मानिस भनिरहेका छन्, राजनीति त अमेरिकाको जस्तो स्वच्छ हुनुपर्छ।
देख्नुभयो नि, अमेरिकामा सान्तोसजस्ता सांसद पनि छन्। तर, यति हुँदाहुँदै पनि अमेरिकामा न्यायचाहि नेपालकोजस्तो नौसिङवाला हुँदैन। न्यायाधीशहरू राजनीतिक रूपमा नियुक्त मात्र हुँदैनन्, देखिन किसिमले नै दलगत रूपमा ढल्किएका पनि हुन्छन् तर त्यसको सिमा चाँहि सबैले देख्ने किसिमकै हुन्छ। विधिको शासनकै कारण अमेरिका अमेरिकाजस्तै भएको हो। यो चाँहि साँचो हो र अमेरिका अमेरिकाजस्तै हुनुको सिक्रेट पनि यही हो।
सारमा, संसार एउटा सानो गाउँजस्तो भैसक्यो। देशहरू त्यही गाउँका घरजस्ता भैसके। त्यसैले हरेक घरको कथा लगभग एउटै हो। राजनीति हिजोआज विचारले हैन, बजारले चल्ने भैसक्यो। यस्तो बेला अमेरिकाको राजनीति मात्रै दुधले धोएको जस्तो निख्खर सेतो हुने कुरै हैन, यसमा अनेकौ टाटा लागिसकेका छन्।
अरुको त के कुरा गर्नु र, ट्रम्प जति झुटो मानिस यो संसारमा विरलै होलान् जो अमेरिकाको राष्ट्रपति भए। बिल क्लिन्टन जिउँदैछन् जसले मोनिका लेवस्विकीसँग ओभल अफिसले काम तमाम गरे। यति गर्दा पनि उनीमाथि अविश्वास लागेन, मिस्टर प्रेसिडेन्ट नै भैरहे।
सारमा, अमेरिकाका बारेमा जे सुनिन्छ, त्यो एक-चौथाईं सत्य हो, जे पढिन्छ त्यो आधा-सत्य हो, जे देखिन्छ त्यो तीन-चौथाईं सत्य हो, बाँकि एक-चौथाईं अमेरिका कहीँ कतै सुनिदैन/पढिदैन/देखिदैन, न भेटिई जो कोही पनि यो संसारबाट विदा हुन्छ।