अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन्। राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ।
६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन्। त्यसैल नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ।
उता नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न यूएईमा छ। नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरिसकेको छ।
लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ।
यस खेल जितेमा नेपालको ३० खेलबाट 3० अंक हुनेछ र नेपाल यूएईलाई पछि पार्दै ७ राष्ट्र सहभागी लिग टु मा पाँचौ स्थानमा समेत उक्लनेछ।
नेपालले अब ७ खेल खेल्न बाँकी छ। जसमध्ये ६ खेल जितेमा नेपाल शीर्ष तीनमा पुग्नेछ। यूएईका लागि पनि शीर्ष ३ मा स्थान बनाउन बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ। यूएई शृङ्खलाको पहिलो खेलमा पपुवा न्यु गिनीसँग पराजित भएको थियो।
यूएई २९ खेलबाट २९ अंकसहित पाँचौ स्थानमा छ। ३० खेलबाट ७ अंक रहेको पपुवा न्यु गिनी अंकतालिकामा पुछारमा रहने पक्का भइरहेको छ।