यसरी मनाइयो मगर दिवस

मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन्। उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन्। बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ। सोमबार नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवस।

मगरहरू सङ्गठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा समेत मनाउँदै आएको छ। गण्डकी यसै पनि मगरहरूको थातथलो बढी भएको प्रदेश हो। यहाँको इतिहास, परम्परा र संस्कृतिसँग मगरहरूको साइनो छ।

सधैँझैँ यसपालि पनि आफ्नो एकता दिवसलाई मगर समुदायले उल्लासपूर्वक मनाएको छ। कतै सांस्कृतिक/खेलकुद मेला भए, कतै औपचारिक समारोह। घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसरका रूपमा पनि मगरहरूले यो दिवसलाई लिन्छन्।

मगर बाहुल्य भएका गण्डकीका कतिपय स्थानीय तहले त सोमबार सार्वजनिक बिदा नै दिए। नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, कास्कीले पनि पोखरामा सांस्कृतिक कार्यक्रमसहित दिवस मनायो। मगर संस्कृति झल्कने झाँकी, गीत र नाचसँगै निस्केको पदायात्राले सहरका मुख्य क्षेत्र परिक्रमा गरेको थियो।

जातीय पहिरनमा सजिएका मगरहरू आफ्नो परम्परा झल्काउने वस्तु र सामग्रीसहित झाँकीमा सहभागी भएका थिए। सेखु ओडेका महिलाहरू, हलोजुवासहित झुल्केका पुरुष। गरगहना र वेषभूषामा सजिएका युवायुवती। नेपाली मौलिक संस्कृतिको झल्को मगर दिवसले दिएको थियो। पहाडे वास्तु झल्काउने परम्परागत नमूना घरले पनि झाँकीमा आकर्षण थपेको थियो। कोही पञ्चेबाजामा नाचिरहेका थिए, कोही कौरामा। कतै सोरठी गुञ्जिरहेको थियो, कतै यानीमाया।

झाँकी प्रदर्शनीपछि पोखरा–१० मा रहेको मगर सङ्घको सभाकक्षमा दिवसको मूल समारोह केही समय चल्यो। त्यहाँ पनि भाषणभन्दा सांस्कृतिक प्रस्तुतिलाई आयोजकले बढी स्थान दियो। विभिन्न समूहले आ–आफ्नो गीत र नाच देखाए। भित्र दिवसको मूल समारोह चलिरहँदा सभाकक्षबाहिर नाचगान गरेर रमाउनेहरूको सङ्ख्या पनि उत्तिकै थियो। के महिला, के पुरुष। सबै आफ्नो मगर पहिरनमा ठाटिएर दिवस मनाउन पुगेका थिए। 

समारोहमा बोल्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगरले अवसर पाए जनजाति समुदाय देशकै नेतृत्व गर्न सक्षम रहेको बताए। आफ्नै इतिहास, रहनसहन र संस्कृतिले मगरहरूलाई बेग्लै पहिचान दिलाएको उनको भनाइ छ।  

मन्त्री जुग्जाली मगरले जनजाति समुदायका युवाहरूलाई विदेशमोह त्यागेर देश सेवाका लागि निजामती क्षेत्रमा आउन आग्रहसमेत गरे। उनले दिवसले मगरहरूबीचको एकतालाई थप सुदृढ पार्न प्रेरणा दिने उल्लेख गरे। 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सामाजिक रुपान्तरणमा मगर समुदायको ऐतिहासिक योगदान रहेको उल्लेख गरे। उनले मगर जातिलाई देशप्रेमी, परिश्रमी, इमान्दार र अनुशासित समुदायका रूपमा चित्रित गरे।

आदिवासी जनजाति महासङ्घ गण्डकीका मुख्यसचिव सुजन लामाले मगर दिवसका दिन सार्वजनिक दिन सरकारसमक्ष माग गरे। उनले राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता हुनुपर्ने बताए।

नेपाल मगर सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापामगरले विद्यालयमा मगर भाषाको पाठ्यक्रम पढाउनुपर्ने बताइन्। भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारका लागि मगर समुदाय एकजुट हुनुपर्ने उनको भनाइ छ।

तमु धिँ नेपाल कास्कीका अध्यक्ष होम तमुले आदिवासीको अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्न बाँकी रहेको बताए। उनले साङ्गठानिकरूपमा एकताबद्ध हुँदै शिक्षा र राजनीतिमा पनि मगरहरू अब्बल हुनुपर्ने धारणा रारे।

नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष सङ्गीता पुनमगरले सङ्घ स्थापना भएको दिनलाई मगर एकता दिवसका रूपमा मनाउने गरिएको बताइन्। 'फागुन १५ हाम्रा लागि ऐतिहासिक दिन हो, एकता दिवसलाई उत्सवकै रूपमा मनाउने गर्छौँ', उनले भनिन्। दिवसका अवसरमा उत्कृष्ट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने समूहलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो।

प्रकाशित मिति: : 2023-02-28 08:20:00

प्रतिकृया दिनुहोस्