म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो।
अन्नबालीले फाँट हरिया देखिन्थे। यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो। पूर्वाधारको विकाससँगै सडक बनेर गाडी कुद्न थालेपछि हरिया फाँट कङ्क्रिटका घरले भरिन थालेका छन्।
बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्न थालेपछि खेतीयोग्य जमिन नासिँदै गएको छ। बेनी–४ सिङ्गा, रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत स्थानमा सडकको पहुँच पुगेसँगै कृषि उत्पादन घटेको छ। यहाँका स्थानीय आयातित अन्नको भर पर्न थालेका छन्।
अन्न भण्डारसँगै प्राङ्गारिक खेतीका लागि प्रख्यात गाउँ अहिले कङ्क्रिटको सहरमा परिणत हुन थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। सदरमुकामसँग जोडिएको गाउँ भएकाले पनि यस क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता लिएको छ।
खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आउन थालेको हो। ‘खेतीयोग्य जमिन निकै कम छन्, भएका जमिनमा पनि घर ठडिन थालेपछि उत्पादनमा कमी आएको छ। आयतित खाद्यान्नमा निर्भर हुनुपर्ने अवस्था छ’, स्थानीय वेदप्रसाद शर्माले भने।
कृषिजन्य वस्तुको उत्पादनमा भन्दा जग्गा बेचेर बढी आम्दानी हुन थालेपछि किसानले जग्गा बेच्न थालेका स्थानीय बताउँछन्। खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थालेपछि स्थानीय उत्पादनमा जिल्ला अघि बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन्। सडक सञ्जाल विस्तार हुँदा कृषियोग्य जमिन मासिँदै जान थालेको छ।
सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी सस्तोमा पाइने भएकाले घडेरी किनेर घर बनाउने आकर्षण बढेको स्थानीय बताउँछन्।
हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तारका साथै जग्गाको किनबेच बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताए। उनका अनुसार रू एक लाख ५० हजार सम्ममा घडेरी पाइन्छ।
‘आधुनिक कृषि प्रर्णाली विकास हुन सकेको छैन। रैथाने परम्परागत कृषि पेशालाई अपनाउन अहिलेको परिवेशमा सुहाउँदैन, खेतीयोग्य जमिन बेच्नुबाहेक विकल्प छैन’ , स्थानीय किसान टेकबहादुर कार्कीले भने।
यहाँको भूवनोटअन्तर्गत आठ प्रतिशत बेँसी, ५६ प्रतिशत उच्च पहाडी र ३६ प्रतिशत हिमाली क्षेत्र पर्दछ। समुद्र सतहदेखि ७९२ मिटरदेखि आठ हजार १६७ मिटरसम्म फैलिएको छ। १५ वर्षयताको तथ्याङ्क हेर्दा यस क्षेत्रमा आधाभन्दा बढी खेतलाई घडेरी बनाइएको छ। हाल खेतीभन्दा आयातित खाद्यान्नका भरमा यहाँको जनजीवन चलेको छ। खेतीयोग्य जमिन बेचेर काठमाडौँ, पोखरा, चितवनलगायत सहर जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको स्थानीय बताउँछन्।