मधेस प्रदेश फुसको छानो विस्थापित गर्ने अभियान

फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ।

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुदाँ ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८\७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका एक हजार ४७ घरबाट फुसको छानोलाई विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो।

विभिन्न चुनौतीहरूको बाबजुद रौतहटमा एक सय नौवटा, बारामा दुई ५४ र पर्सामा छ सय ८४ गरी एक हजार ४७ घरबाट फुसको छानो विस्थापित गरी जस्तापाताको छानो हालेर सुरक्षित आवास बनाइएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले बताए।

यस्तै बारामा दुई ४३ वटा र पर्सामा तीन सय ४१  घरबाट फुसको छानो विस्थापित गर्ने कार्य अन्तिम चरणमा पुगेको र छिट्टै नै सम्पन्न गरी हस्तान्तरण गरिने प्रमुख थापाको भनाइ छ। उनका अनुसार रौतहटमा तीन हजार नौ सय ५७, बारामा तीन हजार चार सय २१ र पर्सामा तीन हजार आठ सय ५१  गरी ११ हजार दुई सय २९ घरबाट फुुसको छानो हटाउने स्वीकृत भएकामा हालसम्म रौतहटमा तीन हजार दुई सय २०, बारामा दुई हजार छ सय २२ र पर्सामा तीन हजार छ सय ४७ गरी नौ हजार चार सय ८९ आवासको सम्झौता भई काम भइरहेको छ।

सम्झौता भएकामध्ये रौतहटमा दुई सय १५, बारामा एक हजार पाँच र पर्सामा एक हजार आठ सय १६ गरी तीन हजार ३६ वटा आवासका लागि पहिलो किस्ता निकासा दिएको प्रमुख थापाले बताए। बर्सेनि हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि जस्तापातासहितको सुरक्षित घर बनाउँदै आएको प्रमुख थापाको भनाइ छ। 

‘प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्याइएको छ’, प्रमुख थापाले भने, ‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार निकास दिने व्यवस्था छ।’ सो कार्यक्रममा कुनै खास लक्षित वर्ग वा जात विशेषलाई नभई फुसको छानो भएका सबै परिवारलाई समेटिएको प्रमुख थापाको कथन छ।
 
‘तराई मधेसका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ’, रौतहटको गरुडाका श्याम साहले भने, ‘जसका कारण बर्सेनि आगलागीको घटना हुने गरेका छन्, त्यसैले फुसको छानो हटाउनु जरुरी छ।’ फुसको छानो हटाउन सकिए बर्सेनि हुने आगलागीको घटनामा कमी आउने उनले बताए।  

प्रकाशित मिति: : 2023-02-21 11:14:00

प्रतिकृया दिनुहोस्