प्रेम दिवस: ‘अचेल अँङाल हाल्लुलाई पिरिम भन्दा’

BreaknLinks
BreaknLinks

यतिखेर गाउँघरतिर डुलिरहेको छु। जाडोले ठाउँ छोड्दै छ। गर्मीको आगमन सुरु भइरहेको छ। गराका डिलतिर प्याउली फूल फुल्न थालेको सुन्दर दृश्य देखिँदैछ। फागुन र चैत्र उराठ लाग्दा विरहपूर्ण महिनाका रुपमा हेरिन्छन्। पहिले पहिले यी दुई महिनालाई पोइल जाने महिनाका रुपमा पनि हेरिन्थ्यो।

अचेल फागुन सुरु हुने बित्तिकै भन्न थाल्छन् गाउँघरतिर पनि ‘भोलि त भ्यालेन्टाइन डे हो’ भनेर। कसैको मुखबाट यी दुई शब्द सुनेर नै होला देउसराले सोधिन्, ‘गोसाईं यो भ्यानेनटिन कि के डे भन्दा छन् त त्यो भन्याको क्या हो।’ ‘त्यो भनेको पिरिम दिवस हो। कैलै कसैसँग मायापिरिम गर्याथ्या कि नाइ’, मैले मस्कुराउँदै उत्तर फर्काएँ।

‘हाँ नजिस्क्याउन तमी पनि। काँ को पिरिम दिवस। के हो यो पिरिम दिवस भनेको।’ मैले प्रेम दिवसका बारेमा आफूले बुझेअनुसार उनलाई बताएँ। उनी सम्झिन थालिन् ती पुराना दिनहरू र भन्न थालिन्, ‘आजभोलका तमी क्या पिरिम गद्दा हौं। अचेल अँङाल हाल्लुलाई पिरिम भन्दा। क्या जमाना आयो। पिरिम त मनले गद्दु हो गोसाई। दुनियाँ देखाइबर त्यो गुलाफको फूल दिएर लै क्या को पिरिम हुँदो हो कठै बरा।’

देउसराजस्ता पुराना कैयौं मनहरू प्रेमलाई गोप्य नै राख्नुपर्छ भन्छन्। प्रेम अन्तर मनबाट हुने हुँदा यसलाई व्याख्या गर्न र देखाउन सकिँदैन। देउसराका अनुसार प्रेम गर्न प्रेमी-प्रेमिकाका लागि कुनै तिथिमिति तोकिएको पर्वको जरुरत पनि पर्दैन। प्रेम गर्नेका लागि हरेक दिन प्रेम दिवस हो।

आफ्नो पुरानो प्रेम सम्झेर भावुक हुन्छिन्, उनी। तर भन्न चाहँदिनन् प्रेमीकाे नाम र त्यो परिवेशका बारेमा। मात्र यति भन्छिन्, ‘समाज र परिस्थितिले हामलाई छुटायाको हो। दोसरो जन्म हुने भया दोसरा जुनी भिट होली। यो जुनीमाइ पाएइन। यसोइ रैछ भाग्य।’ उनी भाग्यलाई सराप्छिन्। प्रमीलाई दोष दिँदिनन्। भित्रि मनबाट अहिले पनि प्रेम गरिरहने कुरा बताउँछिन्, ‘भिट नभया लै, सँगै बस्न नपाइए पनि  मनमा बसालेकी छु उनलाई। उन पन बाडुली लगाउदा छन कहिले कहिले।’

उनी प्रेमका कुरा गर्दा दुई पंक्ति डेउडा गीतका सुनाउन पछि पर्दिनन्। 
न त पिर्ती ढल पडेको, न त आफना गाउँको।
माटी उकेरू कि मान्दो साई बसेकी ठाउँको।।
न त कहीँकतै देखेको वा चिनेको हो। न आफ्ना गाउँका मान्छे जस्तो प्राय भेट भैरहने मान्छे हो। न त उसको बानीबेहोरा नै थाहा छ। तर पनि प्रियजन बसेको ठाउँको माटो नै उठाएर लैजाउँ जस्तो किन यति धेरै माया लाग्यो।

प्रेम सदियौँदेखि चल्दै आएको छ गाउँदेखि सहरसम्म। उहिले-उहिले प्रेम गर्नेहरू निकै नै त्यागी हुन्थे। अहिले गरिने प्रेममा भने स्वार्थ मिसिएको पाइन्छ। प्रेममा रूप, यौवन, धनी, गरिब, जातभात केही हेरिँदैन भन्छन् ज्ञानीहरू। त्यसैले भनिएको हुनुपर्छ प्रेम अन्धो हुन्छ भनेर।

देउसराका अनुसार विगतमा आफूखुसी कसैले प्रेम गरेको थाहा पाएमा समाजमा ठुलठुला सजायहरू भोग्नुपर्थ्याे। पानी नचलाउनेदेखि गाउँ निकाला गर्नेसम्मका सजाय सुनाइन्थ्यो। महिलाका सवालमा माइतीको नाक काटी भन्दै माइती पक्षले बोलचालसमेत बन्द गरिदिने भएको हुँदा प्रेम गरिएको मनलाई औपचारिक रूपमा अँगालिहाल्न सम्भव थिएन। देउसराका अनुसार त्यो प्रेम भावनात्मक हुन्थ्यो।

त्यतिखेर चोरीछिनी गरिने बातचित र सम्झनामा गाइने गीतका पंक्ति काब्यात्मक हुन्थे। बिछोडिएर बसेका कैयौं असहाय मनहरूले मनमै सजाउँथे प्रेमको राजधानी र सुसेल्थे विरहका गीतहरू।

धन होइजाऊ सम्पत्ति होइजाऊ बाटाखि घर भैजाऊ, 
जत्तिको मायाजाल थियो उत्तिको कर होइजाऊ।
 धनसम्पति सबै होओस्, बाटोनेरै घर भैदेओस्
जत्तिको मायाजाल थियो, उत्तिको कर भैदेओस्।)

धनसम्पत्ति भैदेओस् अनि बाटो वा सडक छेवैमा घर भैदेओस्, जति गहिरो मायाजाल छ त्यस्तै समाजका सामु आफ्नो हो भन्न सकूँ वा आफ्नो कर लागोस्।

धर्तीमा अवतरण गरेपश्चात नै प्रेमको खोजीमा भौँतारिरहेको हुन्छ मान्छे। चाहे त्यो लौकिक प्रेम होस् वा अलौकिक। या होस् आमा र शिशुबीचको प्रेम। त्यही प्रेमलाई बिम्ब प्रतीक, उपमा अलङ्कारका माध्यमले सजाएर ओजपूर्ण शब्द चयन गरी काव्यको सिर्जना गरे कैयौं स्रष्टाहरूले। यसरी लेख्य रुपमा आउँदा कतै कथा बन्यो, कतै कविता बन्यो। कतै गीत बनेर गुञ्जिरह्यो प्रेम।

रोमन साम्राज्यबाट सुरु भएको प्रेम दिवस हरेक वर्ष फेब्रुअरी १४ मा अरु ठाउँमा पनि बनाउन थालियो। केही वर्ष यता नेपालमा पनि प्रेम दिवस एउटा पर्व जस्तै बन्न गइरहेको छ। युवायुवतीहरू उपहार साटासाट गर्छन्। एकान्त स्थलको खोजी गरेर घन्टौँ गफ्फिरहेका देखिन्छन्।

कथा भन्छ, सेनालाई विवाह गर्न रोक लगाइएको अर्थात् वर्जित गरिएको रोमन साम्राज्यमा भ्यालेन्टाइन नामक सन्तले सैनिकहरूले विवाह गर्न पाउनु पर्ने, प्रेम गर्न पाउनु पर्ने भन्दै उनीहरूको पक्षमा वकालत गरे। कुनै सैनिकले प्रेम गरेको चाल पाउँदा मृत्युदण्ड दिने रोमन सम्राटको आदेशलाई अमानवीय भन्दै घोर विरोध गरे। यसरी आफ्नो आदेशको विरोध गरेकोमा रोमन सम्राटले सन्त भ्यालेन्टाइनलाई पनि मृत्युदण्ड दिए। सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिन सन् २७०, १४ फेब्रुअरी थियो। उक्त दिनलाई सन्त भ्यालेन्टाइनको पुण्य तिथिका रुपमा सम्झना गर्न थालियो। यसरी सम्झना गर्ने क्रममा उक्त दिनलाई प्रेम दिवसको रुपमा मनाउन थालियो।

विगतमा मध्य तथा सुदूरपश्चिमेलीहरूले प्रेम गर्नका लागि बस्नु परेन कुनै दिवसको पर्खाइमा। देउसराले भनेझैं तिनका लागि गोठालो बन्दादेखि मेलापात जाँदा र रातको समयमा युवायुवतीबीच प्रेमपूर्ण सवालजवाफ हुने गरेका ती सबै दिनहरू प्रेम दिवस नै थिए।

विप्रलम्भ श्रृंगारमाथि केन्द्रित भएर लेखिएको एक उत्कृष्ट र गहन कृति मेघदूत पढ्दै गर्दा लाग्छ, महाकवि कालिदासका लागि आषाढ एक गते प्रेम दिवस बन्यो। महाकविले आफ्नो कृति मेघदूतमा उक्त दिनलाई विशेष दिनका रुपमा सम्झे। मेघदूतको प्रमुख पात्र यक्षको आफ्नी प्रियासँग विछोड भएको दिन थियो त्यो। सानो गल्तीको कारण यक्षलाई कुवेरले वर्ष दिनसम्म निर्वासित जीवन बिताउन अभिशप्त बनाए। प्रेमपीडाले सताएको यक्षले बादललाई आफ्नी प्रियसी कहाँ सन्देश पुर्याइदिन अनुरोध गरे। बादल सन्देशवाहक बन्यो। वियोगी बनेका यक्षको सन्देश निकै गहन, मर्मस्पर्षी र हृदयविदारक छ।

ग्लुमी सन्डे बोलको गीत पढ्दा लाग्छ, रचनाकारका लागि हरेक आइतबार प्रेम दिवस मात्र नभएर बिछोड दिवस पनि थियो। हरेक श्रीमान-श्रीमतीका लागि बैवाहिक वर्ष गाँठको दिन प्रेम दिवस हो। यसरी अनौपचारिक रुपमा ठाउँअनुसार हरेकका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको थियो प्रेम दिवसले। तथापि पछिल्लो समयमा उदार मानवतावादी सन्त भ्यालेन्टाइनको मृत्युको दिनलाई नै नेपालमा समेत औपचारिक रुपमा प्रेम दिवस मानिन थालियो।

हाम्रा लोककविले रचना गरेका सिर्जनाहरूले पनि सदियौंदेखि आफ्ना सिर्जनामार्फत प्रेम बोके। प्रेमपीडा बोके। साथै गहन प्रेमको उडान भरे। ती सबै केवल मौखिक रुपमा सीमित भए। कतिपय प्रेम गीतहरू रचना भएको केही समयमै लोप भए। कतिपय मर्मस्पर्षी पंक्तिहरू केही कालसम्म मौखिक रुपमै पुस्तान्तरण भइरहे। अधिकांश रचना लोप भए। यसरी लोप हुनुको कारण हो, लिखित रुपमा आउन नसक्नु। गाउँघरतिर वृद्धयृद्धाहरूसँग प्रसङ्ग निकाल्दा सम्झिन्छन् ती पुराना दिनहरू।

उतिखेर सुदूरपश्चिममा चोर डेउडा खेल्ने चलन थियो। घरका सदस्यहरू र गाउँलेले चाल नपाउने गरी घरबाट निस्किएर रातको समयमा एकान्त स्थलमा गई केटाकेटीका बीच गरिने मायापिरतीका सवालजवाफलाई नै चोर डेउडा भन्ने गरिन्थ्यो। चोरेर खेलिने, खेल्ने ठाउँसम्म पुग्न चोर बाटो अपनाइने प्रेमिल परिवेशले मनमुटु चोरिन बेर नलाग्ने भएकाले यसलाई चोर डेउडा भनिएको हो। अझै भन्नुपर्दा अरूलाई थाहा नदिलाई दिउँसो नै सल्लाह गरेबमोजिम चोरेर सुटुक्क कसैले चाल नपाउने गरी घरबाट निस्की रातभर डेउडा खेल खेल्ने र बिहान उज्यालो नहुँदै बिरालोको चालमा आ-आफ्नो घरभित्र पसिसक्ने पद्धति अपनाइने भएको हुँदा यसलाई चोर डेउडा भनियो।

हालको कर्णाली प्रदेशमा उक्त कार्यलाई गोठ बस्ने भनिन्थ्यो। दुबै ठाउँका ती प्रेमी-प्रेमिकाको उद्देश्य भन्नु नै डेउडा गीतका माध्यमबाट मनका प्रेमिल वहहरू पेख्नु नै थियो। फरक यत्ति थियो सुदूरपश्चिममा पैतलीको चालमा डेउडा खेल खेलिन्थ्यो। खेलखेल्दै सवालजवाफ गर्ने गरिन्थ्यो। यसरी खेल खेल्न गाउँबाट निकै टाढा डाँडाको बीचमा खोच परेको एकान्त स्थानको चयन गरिन्थ्यो। उता कर्णालीका जिल्लाहरूमा टाढाका गोठहरूलाई चयन गरिन्थ्यो र गोठमा बसेर केटा र केटीका दुई समूहबीच सवालजवाफ हुने गर्थे। गोठ मालिक गोठालाले ती क्रियाकलाप गोप्य नै राख्ने गर्दथे।

प्रेममा जीवनकै आहुती दिनेहरूका कथा पनि प्रशस्तै सुनिन्छन्। शहीद दशरथ चन्दले आफ्नी प्रेमिकाको मृत्युमा १० दिनसम्म नुन बारेर किरिया गरेको कुरा कतिपय लेखकले उल्लेख गरेको पाइन्छ। यस्ता थुप्रै घटना सुन्नमा आइपुग्छन्, विगतदेखि वर्तमानसम्म आइपुग्दा।

मध्य तथा सुदूरपश्चिममा त्यस्ता अधिकांश घटनाहरू डेउडा गीतका पंक्तिले बोक्दै आए। प्रायजसो त्यतिखेर रचना गरिएका ती गीतहरू पनि प्राय जसो त्यतिखेरका गितेरु र वृद्धवृद्धाहरूसँगै सती गए। कहीँकतै अझै पनि सुन्नमा आउँछन् पुराना गीतका केही पंक्तिहरू। 
दाइकी भैँसी म गोठाली, थोरी छ थाउलीको 
मर्ने बेला माण् पडिजाउ, साइ तम्रा बाउलीको।
(दाइको भैँसी म गोठाली, पाडी छ थाउलीको 
मर्ने बेला माड पडिजाउ, साइ तम्रा बाहुलीको।
 मर्ने बेला प्रियसीकै हातको खाना वा एक घुट्को माण घुट्केर प्राण त्याग गर्न पाऊँ।)

त्यस्तै बिछोडमा रचिएको तल उल्लिखित गीतमा अन्तरहृदयको मर्म पोखेको देखिन्छ। 
मनले सोच्याजसो, कर्ममा थिएन
कोल  काखमा) बसी दिन बिताउन, दैवले दिएन।
(मनले सोचेको जस्तो, भाग्यमा थिएन
काखमा बसी दिन बिताउन, दैवले दिएन।)

उसो त जिन्दगी आफैँमा पनि एउटा झझल्को मात्रै न हो। त्यही झल्कोरुपी जीवनको भाव सुम्पेर गए कैयौँ मनले, कतिपय दृश्यले अनि समयका पल्लाहरूले जिन्दगीका मोडहरूले। जुन झझल्कोलाई भाका मिलाएर गाइरहे डेउडा गीतका माध्यमले। त्यतै कतै बेरिए हर्ष, आँसु, बिछोड, पीडालगायतका कुराहरू। सबैभन्दा बढी आँसु र एकान्तमा टोलाइरहने पनले शासन गरिदिन्छ झझल्कोभित्र पनि। त्यसैले त भनिन्छ, ‘प्रेमकै आँसु प्यारो र गहिरो पनि बनिदिन्छ।’
मनका पियार दैले, लात्ती हाने शैय्या 
अमनका रणकाले, कोली हाले ऐया।

भावार्थ: मनले रुचाएको आफ्नो प्रेमीले लातै हान्दा नि सहन गाह्रो हुन्न तर मन नपरेकाले काखमै बिसाएर माया गर्न खोजे पनि भइदिन्छ पीडा। मुखबाट निस्किन्छ ऐया भन्ने शब्द)

अँगालो कसिन लाग्यो, काली तरन्तिक 
एकै ठौर एकै सिरान, भैजाऊ मरन्तिक।

बाँचुन्जेल जुन ढङ्गले प्रेमिल दिनहरू व्यतित भइरहेका छन्, त्यस्तै गरी मर्ने बेलामा पनि प्रियतमसँगै एकै ठाउँमा एउटै सिरानी लगाएर मर्न पाइयोस्। दुवैले एकैचोटी मर्न पाइयोस्। हामीमध्ये कसैले अगाडि जाँदा जाने त गइहाल्छ। बाँच्नेको के हालत होला? यादै यादमा दिन बिताउनुपर्दाको पीडा कसले बुझिदेला? त्यसैले एउटै चिहानमा सँगै जल्न पाए हुन्थ्यो। मनको त्यो इच्छा पनि पूर्ण भइदेओस्। यसैगरी हरेक प्रेमी-प्रेमिकाहरूका इच्छा पूर्ण भैदिउन्। जगत प्रेममय बनोस्। प्रेम दिवसको सबैलाई शुभकामना। 

प्रकाशित मिति: : 2023-02-14 21:00:00

प्रतिकृया दिनुहोस्