अमेरिकी सुपर बलमा नेपाली म:म

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको एरिजोनामा आयोजना भैरहेको सुपर बलको यस वर्षको संस्करणमा नेपाली म:मले पनि प्रवेश पाएको छ।

नेपाली म:म एरिजोनाको फिनिक्समा फुडट्रकमा मिस्टर म:म ब्राण्ड बेच्दै आएका सुभास यादवले  सुपर बलमा प्रवेश गराएका हुन्। उनी चार दिनयता सुपर बल आयोजना भैरहेको रंगशालामा नेपाली म:म बेचिरहेका छन्। 

स्थानीय एक गैरसरकारी संस्था लोकल फस्ट एरिजोना नामक संस्थाका सदस्य रहेका सुभासले त्यहीमार्फत् सुपर बलसम्म पुग्ने अवसर पाए। 

सुपर बलको चार दिने उत्सवमा  म:म राख्न आवेदन दिएकोमा छानिएपछि उनलाई यो दुर्लभ अवसर मिलेको हो। उनका अनुसार ६सयले आवलेन दिएकाेमा छानिएका ३० मध्ये उनी एक हुन्।

उनले यो अवसरलाई ब्यापारभन्दा पनि नेपाली म:मको ब्राण्डिङ गर्ने अवसरका रूपमा लिएका छन्।

फिनिक्समा मिस्टर म:म नामले चिनिएका यादव  २०१८ देखि फुडट्रकमा म:म बेच्दै आएका छन्। 

२००७ मा चिकित्सक बन्ने सपना लिएर अमेरिका आएका उनले साउथ वेष्ट मिनेसोटा स्टेस विश्वविद्यालयबाट कुलिनोलजी अध्ययन गरेका छन्। अध्ययनपछि केही वर्ष फुड सर्भिसमै जागिर जीवन बिताएपछि आफैं मालिक हुने सपनाले पछ्याउँदा उनी मिस्टर म:म बन्न पुगेका हुन्।

सुभास नेपालको तराई-मधेसको राजनीतिमा ठूलै ब्राण्ड बनाएका रामेश्वर राय यादवका छोरा हुन्। कुनै समय मन्त्री भैसकेका यादव अहिले नेकपा माओवादी केन्द्रका नेता हुन्। 

प्रकाशित मिति: : 2023-02-12 23:59:00

प्रतिकृया दिनुहोस्