अमेरिकाको क्याविनेटस्तरकी यूएसएआईडी प्रमुख सामन्था आज नेपाल पुग्दै

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल पुग्दै छिन् । 

उनी नेपालको दुईदिने भ्रमणका लागि वासिङ्टन डीसीबाट प्रस्थान गरिसकेको अमेरिकी विदेश विभागका एक अधिकारीले वासिङ्टन डीसीमा ब्रेक एन लिंक्सलाई बताए । 

अधिकारीका अनुसार भ्रमणका क्रममा उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेट्नेछिन् । उनले  केही चुनिएका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेट्नेछिन् ।

भेटघाटका क्रममा पावरले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने जानकारी दिदै ती अधिकारीले  भने, 'नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धीका विषयलाई छलफल हुनेछ ।'

संयुक्त राष्ट्रसंघ (यूएन) का लागि अमेरिकी राजदूत रहिसकेकी पावर बर्तमान बाइडेन प्रशासनमा क्याविनेट स्तरकी अधिकारी हुन् । उनी सन् २०२१ को मे ३ मा यो पदमा नियुक्त भएकी हुन् ।

प्रचण्ड सरकार गठनपछि कुनै पनि देशबाट नेपालमा भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो । अमेरिकी विदेशमन्त्रालयमा राजनीतिक मामिलाकी उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेको एक साता नपुग्दै उनी नेपाल भ्रमणमा निस्केकी हुन् । यसअघि नेपालको भ्रमण गर्ने क्याविनेट स्तरका अधिकारी  तत्कालीन विदेशमन्त्री कोलिन पावेल हुन् । उनले सन् सन् २००२ मा नेपालको औपचारिक भ्रमण गरेका थिए । 

यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहेकी समान्था पावर दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छिन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यही उच्च तहको भ्रमण हो । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेको एक साता नपुग्दै उनी नेपाल भ्रमणमा निस्केकी हुन् । 

कुनै समय युद्ध संवाददाता रहेकी आइरिस मूलकी पावर पुलित्जर पुरस्कार विजयी पत्रकार/ लेखक हुन् । अमेरिकी विदेश नीतिमाथि वस्तुनिष्ठ टिप्पणी गर्ने उनी त्यसका लागि कूटनीतिकवृतमा चर्चित छिन् । उनका कतिपय टिप्पणीहरू अमेरिकी विदेश नीतिलाई नै कठघरामा उभ्याउने खालका हुन्छन् ।  

प्रकाशित मिति: : 2023-02-07 09:48:00

प्रतिकृया दिनुहोस्