यतिखेर सम्झिरहेको हुन्छु विगतका दिन र गाउँले जनजीवन। जहाँ गोइठा र दाउराको प्रयोग गरिन्थ्यो। खाना पकाउने ठाउँबाट निस्किने धुवाँले गर्दा आँखा मिच्नु परिरहन्थ्यो। नेपालको प्राइमरी स्कुलमा पढ्दा साँझापख सुकेको खर र माटोको टाइलले छाएका घरका छानाबाट धुँवा ननिस्केको बिरलै देख्थेँ। त्यतिबेला त्यो धुँवाले भान्सामा खाना पकाइरहेका महिलाको शरीरमा कति हानी पुर्याइरहेको छ भन्ने कुराको ज्ञान हुने त कुरै भएन सोच्ने क्षमतासमेत मेरो मस्तिष्कको परिधिभन्दा निकै बाहिरको थियो। समय बित्दै गयो। म मेरो अध्ययनको गोरेटोमा तल्लीन भइरहेँ। सन् २०१२ मा मैले प्रख्यात युरोपेली रेस्पिरेटरी जर्नलमा नेपालमा सङ्कलित तथ्याङ्कहरूको अधारमा एक लेख प्रकाशित गरेँ। मुख्य रुपमा उक्त लेखको सारांश थियो, घरमा खाना पकाउने बायोमास (दाउरा, गुइठा, पराल, इत्यादि) निस्किने धुवाँँको सम्पर्कमा आएका नेपालका १६–२५ वर्षका युवाहरूको फोक्सोको कार्यक्षमता खाना पकाउने (एलपीजी) ग्यास प्रयोग गर्नेहरूको तुलनामा कम देखिएको थियो।
उक्त अनुसन्धान १६–२५ वर्षका युवाहरुमा यस किसिमको खोज पत्ता लगाउने पहिलो अनुसन्धान थियो। उक्त अनुसन्धानबाट थुप्रै अनुत्तरित प्रश्नहरु देखापरे। जस्तै कुन उमेरदेखि बायोमासबाट निस्केको धुवाँले ती युवाहरुको फोक्सोको विकासमा ह्रास ल्याउन थाल्छ ? धुवाँबाहेक नेपालमा अन्य कुन–कुन कारक तत्वहरूले यसमा प्रभाव पार्छन ? के एकचोटी फाेक्सोको वृद्धिमा कमी आएपछि फोक्सोको पुनः पूर्णरूपमा विकास हुनसक्छ ? यस्ता प्रश्नहरुको उत्तर पाउनु अझ महत्वपूर्ण थियो। अन्य विकसित देशमा भएका अध्ययनहरूले बाल्यावस्थामा फोक्सोको वृद्धि विकासमा ह्रास आएका मानिसहरु वयस्क हुँदा धेरै किसिमको दीर्घकालीन रोगबाट ग्रसित हुने गरेको देखाइएको छ। साथै अकालमा मृत्यु हुनुमा समेत यसको भूमिका रहेको कुरा दर्साइएको छ।
मानिसको फोक्सो २० देखि २५ वर्षको उमेरसम्म परिपक्व भइसक्छ र ३५ वर्षको उमेरसम्म स्थिर रहन्छ। त्यसपछि यसको कार्यक्षमतामा क्रमिकरूपमा कमी आउन थाल्छ। यसले मलाई फोक्सोको पूर्ण विकास हासिल गर्नका लागि बाल्यकालदेखि नै फोक्सोको विकासमा ह्रास ल्याउने कारक तत्वहरूको पहिचान गर्ने र त्यसबाट जोगिन बालबालिकाहरूमा विभिन्न उपयुक्त हस्तक्षेपकारी भूमिकाबारे सम्भावित अध्ययन गर्न प्रेरित गर्यो। फलस्वरूप नेपाल जस्तो न्यून र मध्यम आय भएका देशहरूमा पहिलोपटक Cohort Study (www.nepalstudy.org) सुरुवात गर्ने बाटो दोहोरिन गयो।
हाल म यस क्षेत्रमा अध्ययन अनुसन्धान कार्यमा लागिरहेको छु। म्याकमास्टर विश्वविद्यालयले यस अध्ययनलाई मुख्य आर्थिक सहयोग गरिरहेको छ। त्यसैगरी बोर्नेमाउथ विश्वविद्यालयले नेपालमा एकजना अनुसन्धानकर्ताको एक वर्षको तलबको लागि आर्थिक पाटोमा सहयोग गरिरहेको छ। हामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र ह्यामिल्टन इन्टिग्रेटेड रिसर्च एथिक्स बोर्डबाट अध्ययनको लागि नैतिक रुपमा स्वीकृति प्राप्त गरेपछि जुन २०२२ मा पहिलो अध्ययन क्षेत्रका रुपमा ‘लुम्बिनी सांस्कृतिक नगरपालिका’लाई रोज्यौं। र, अनुसन्धानमा खटिने कर्मचारीहरूलाई तालिम दिन थाल्यौं। दुई हप्ताको तालिमपछि सुचारूपमा अध्ययन गरिरहेका छौं।
NeFCoS पारिवारिक अनुसन्धान नेपालका विभिन्न भौगोलिक क्षेत्रहरूमा आफैंमा एक बहुविधाको अध्ययन हो, जुन लामो समयसम्म चल्ने छ। हाम्रो प्राथमिक उद्देश्य भनेको परिवारको स्वास्थ्य अवस्था, विशेष गरी बच्चाहरुमा फोक्सो स्वास्थ्यको विभिन्न निर्धारकहरुको बारेमा अध्ययन गर्नु हो। हामी ६–९ वर्षका बालबालिका र उनीहरूका अभिभावकहरूलाई यो अध्ययनमा समावेश गरिरहेका छौँ। ती अभिभावकहरुले यस अध्ययनमा भाग लिनको लागि लिखित सहमति प्रदान गरेका छन् र पछिको फ्लाेअपको लागि पनि सम्पर्क गर्न सहमति दिएका छन्। अभिभावकहरूले सामाजिक–जनसांख्यिकी, जीवनशैली कारकहरू, आहार, पेशागत इतिहास, शैक्षिक इतिहास, घर र बाहिरको वातावरणीय अवस्था र उनीहरू वा उनीहरूका बच्चाहरूलाई जन्मदेखि लागेका कुनै पनि रोगका बारेमा जानकारी प्रदान गर्ने गर्दछन्। तिनीहरूले कुपोषणको अप्रत्यक्ष मापन, फोक्सोको स्वास्थ्य, अक्सिजन संतृप्ति, रक्तचाप, ह्यान्ड–ग्रिप बल, एन्थ्रोपोमेट्री, शरीरको बोसो प्रतिशत, मांसपेशीको मात्रा, शरीरमा पानीको मात्रा र छालाको मोटाइजस्ता मापनहरू गरिएको छ। हामीले पिसाब अर्ध–परिमाणात्मक रूपमा जाँच गर्ने गरेका छौँ। जसमा ११ फरक प्यारामिटरहरूको मापन गरिरहेका छौं। बालरोग विशेषज्ञ डा. नागेन्द्र चौधरीले यस अध्ययनमा भाग लिएका सम्पूर्ण बालबालिकाहरुको फोक्सोलगायत विभिन्न रोगको जाँच गरिरहेका छन्। डा. चौधरी यस अध्ययनमा नेपालका प्रमुख अन्वेषक पनि हुन्।
यो अध्ययनमा नेपाल, बेलायत र संयुक्त राज्य अमेरिका (https://nepalstudy.org/team/) का विभिन्न संस्थानहरूमा काम गरिरहेका थुप्रै शोधकर्ताहरू सहभागी छन। नेपालमा, नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (https://nirinepal.org) प्रमुख साझेदार संस्थाको रुपमा रहेको छ। जसले प्रमुख अन्वेषकसँगको सहकार्यका रुपमा दैनिक रुपमा अनुसन्धानात्मक कार्यमा मद्दत गरिरहेको छ। हामी दैनिक रूपमा प्रश्नावली, स्वास्थ्य अवस्थाको वस्तुगत मापन, र स्वास्थ्य सेवामा आधारित तथ्याङ्कहरूको सङ्कलन गरी निरन्तर रुपमा सहभागीहरूको स्वास्थ्य अनुगमन गरिरहेका छौँ। यो क्रम भावी दिनमा समेत लामो समयसम्म निरन्तर रुपमा चलिरहने छ।
NeFCoS अन्वेषकहरूले बच्चाहरूको बाल्यकालदेखि किशोरावस्था हुँदै वयस्क हुँदासम्म देखापर्ने रोगसम्बन्धी विभिन्न प्रारम्भिक जोखिमको प्रभावलाई सही रूपमा पहिचान गर्नका लामो समयसम्म अध्ययन जारी राख्ने योजना तय गरिएको छ। यस्ता खोजहरूले चिकित्सा अभ्यास, अभिभावकहरुको विभिन्न बस्तुहरूको छनौट, उपभोक्ता उत्पादन नियमन र नीति विकासलाई प्रभाव पार्ने सम्भावना हुन्छ। त्यसैले पनि भवन निर्माणको कोड र घरेलु खरिद व्यवहारदेखि बच्चा जन्माउने र डेलिभरी, आहार, स्तनपान, घरमा प्रयोग हुने सरसफाइ उत्पादनहरू, पारिवारिक घरपालुवा जनावरको स्वामित्व, वातावरणीय अवस्थाहरू लगायतको अध्ययनको पाटोसमेत सयैंभित्र समेटिएको छ।
यो अध्ययन मुख्यतया साना बालबालिकाहरूमा फोक्सोको वृद्धिसहित फोक्सोसम्बन्धी विभिन्न रोगहरूको व्यापकता र त्यसबाट मानिसमा पर्न गएको शारीरिक र मानसिक क्षतिका घटनाहरू बुझ्नमा केन्द्रित रहने छ। हाललाई अध्ययनको एउटा विशेष उद्देश्य भनेको ६–९ वर्ष उमेरका नेपाली बालबालिकामा फोक्सोको स्वास्थ्यको निर्धारकहरू बुझ्नु हो। ताकि पछि गएर हामीले फोक्सोको वृदि, विकासमा रोकावट ल्याउने तत्त्वहरुको न्यूनीकरण गरी फोक्सोको संन्तुलित विकासलाई मद्दत गरी रोगको रोकथाम गर्ने कार्यक्रम डिजाइन गर्न सकियोस्। यसले प्रारम्भिक वा मध्यम उमेरका व्यक्तिहरूमा मुटु, श्वासप्रश्वाससम्बन्धी रोगहरूको विकासलाई रोक्न वा कम गर्न मद्दत गर्नुका साथै विशेषगरी सीमान्तकृत समुदायका मानिसको दीर्घायुको सम्भावना देखिन्छ।
लक्ष्यहरू :
सामान्यतया यस अध्ययनको लागि पाँच वटा दीर्घकालीन लक्ष्यहरू लिइएका छन्:
१. डिजिटल प्रविधिहरू प्रयोग गरेर आधुनिक र नवीन विधिहरूमार्फत विभिन्न रोगहरुको प्रमुख निर्धारकहरू र रोगहरूको बायोलाेजिकल मेकनिज्म (biological mechanism) बुझ्नको लागि ठुलो observational prospective र प्रयोगात्मक (experimental) अध्ययनहरू सञ्चालन गर्ने।
२. मिश्रित–विधि अपनाएर बिधिवत रूपमा स्वास्थ्य सेवा प्रदायकहरूबाट जटिल तथ्याङ्क (complex data)जस्तै इलेक्ट्रोनिक मेडिकल रेकर्डहरू र समुदायहरूबाट व्यवहारिक तथ्याङ्क संकलन र प्रवर्द्धन गर्ने।
३. रोगका जटिलता बुझ्न र विभिन्न रोगहरु, विशेष गरी फोक्सोको अवस्था र वयस्कहरूमा फोक्सोको अवस्थासँग सम्बन्धित अन्य रोगहरूको रोकथाम र व्यवस्थापनका लागि समाधानका उपायहरू खोज्नको लागि अन्तरपुस्ताको सामूहिक अध्ययन सिर्जना गर्न।
४. इक्विटी (equity), संलग्नता, उत्कृष्टता र विश्वव्यापी प्रभावमा आधारित मातृ र बाल स्वास्थ्य, गैर–संक्रामक रोगहरू, बहुविकृति र वातावरणीय स्वास्थ्यमा नवीन, अन्तःविषय, सहयोगी, र नीति–संचालित अनुसन्धानलाई सहज बनाउन नेपाल र बिश्वका शैक्षिक र अनुसन्धानरत संस्थाहरूसँग साझेदारी गर्ने।
५. मानव स्वास्थ्यसम्बन्धी रोगहरू र प्रतिकुल स्वास्थ्य परिणामका घटनाहरूको व्यवस्थापनलगायत मानव स्वास्थ्यका जटिलताहरू बुझ्नको लागि जीवन–पाठ्यक्रम महामारी विज्ञान दृष्टिकोणमा स्नातकोत्तर र पोस्टडक्टोरल फेलोहरू (post–doctoral fellows)लगायत युवा अनुसन्धानकर्ताहरूलाई तालिम दिई जनशक्ति तयार गर्ने र प्लेटफर्म (platform) प्रदान गर्ने।
वर्तमान स्थिति र भविष्यको अनुगमन :
हालसम्म लुम्बिनी सांस्कृतिक नगरपालिकाका २९५८ सहभागीहरु (१४८८ बालबालिका र १४७० अभिभावक)मध्ये १ हजार २८ परिवारबाट तथ्याङ्क संकलन गरिएको छ। करिब ४५% परिवारमा बालबालिकाका बुबाहरू र लगभग शतप्रतिशत आमाहरुले अध्ययनमा भाग लिएर तथ्याङ्क उपलब्ध गराएका छन् भने प्रायजसो पुरुषहरु भारतमा मजदुरी गर्न गएका कारण तथ्याङ्क संकलनमा सहभागी हुन सकेका छैनन्। हामीले डिसेम्बर २०२३ सम्म आधारभूत अध्ययनको लागि तथ्याङ्क संकलन जारी राख्ने योजना तय गरेका छौं।
डिसेम्बर २०२२ मा पहाडी क्षेत्रअन्तर्गत वालिङ नगरपालिकाबाट तथ्याङ्क सङ्कलन गर्न सुरु गरिएको छ। जसअन्तर्गत अहिलेसम्म २८३ सहभागीहरू (१४० बालबालिका र १४३ अभिभावक) रहेका छन् भने ११० परिवारहरूबाट तथ्यांक सङ्कलन भइसकेको छ। वालिङ नगरपालिकामा भएको अध्ययनको केही अंशमा अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को आर्थिक सहयोग रहेको छ।
आधारभूत अध्ययनको समापनपछि, यस अध्ययनलाई नेपालका सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको छ। प्रान्तहरूमा विस्तार गर्न र अध्ययनको फलोअप लागतका लागि नेपाल सरकारका र विभिन्न एजेन्सीहरूमा आवेदन दिई सहयोगका लागि अनुरोध गरिने छ।
भविष्यमा सुधार :
अध्ययनमा भाग लिएका बालबालिका र तिनीहरूका अभिभावकलाई क्रमश: हरेक २ र ४ वर्षमा फ्लाेअप गर्ने योजना बनाइएको छ। साथै पहिलो चरणको फ्लाेअपमा केही अतिरिक्त मापनहरू (फ्र्याक्शनल एक्सहेल्ड नाइट्रिक अक्साइड, क्यारोटिड–इन्टिमा मिडिया थिकनेस मापन, इलेक्ट्रोकार्डियोग्राम, र हड्डीको खनिज घनत्व) जस्ता थप तथ्याङ्क संकलन गर्ने योजना रहेका छन् भने भण्डारणको लागि रगत र थुकका नमूनाहरू सङ्कलन गर्ने र आनुवंशिक सम्बन्धित अध्ययनहरू सञ्चालन गर्ने योजनासमेत तर्जुमा गरिएको छ। जसबाट व्यक्तिगत चिकित्सा, विभिन्न–ओमिक्स (multi–omics)को मापन र वायु प्रदूषण तथ्यांकको रासायनिक विश्लेषणमा समेत मद्दत पुग्ने छ। साथै यस अध्ययनको तथ्यांक संकलनमा काम गर्ने इच्छा भएका स्नातकोत्तर र पिएचडी विद्यार्थीका लागिसमेत मार्ग सहज गर्नेगरी योजना तय गरिएको छ।
Keep it up Sir And all members of NFCS