भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबाट ६ किलोमिटरको दूरीमा रहेको एउटा सुन्दर गाउँ छ। जसको नाम हो, साेनवर्षा। पैतालिस वर्षअघि सोही गाउँमा जन्म भएको हो– डा.ओमप्रकाश कुर्मीको।
आमा गोल्हाले १२ रुपैयाँमा बोका बेचेर घरमा भाँडाकुडा जोड्नु भएको थियो। तिनै आमाले दिनुहुन्थ्यो डा. कुर्मीलाई स्कुल पढ्नेताका कहिलेकाहीँ दुई/चार रुपैयाँ पकेट खर्च। ९ वर्षअघि हिँडिसक्नु भयो आमा कतै दूर क्षितिजको यात्रामा। हलो जोतेर खेतीकिसानी गर्दै छोरालाई पढाउनुभयो, बुवा रामअवतारले।
बुवाले पनि आमा गएकै बाटो रोजेको दुई वर्ष बितिसक्यो। छोरो नेपाल फर्केला र यतै बसेर केही गर्ला भनी बुवाले आफ्नो जीवनको अन्तिम समयमा बनाइदिनुभएको नयाँ घरले खोजिरहेको छ, दैलो उघार्ने हातलाई। धर्तीबाट बिदा हुनुअघि बुवाले बकसपत्र गरी आफूबसिरहेको घर दिन थाल्दा उनले श्रीमती प्रतीक्षालाई देखाइदिए। दाइजो प्रथाले जरा गाडेको समाजमा बसिरहेको घरसमेत श्रीमतीकै नाममा राख्न लगाएर उनी त्यस समाजका लागि उदाहरण बने। जो रातदिन डुबिरहेका छन् मानव कल्याणका लागि अनुशन्धानका क्षेत्रमा।
‘भान्जाभान्जीले हेरचाह गरिरहेका छन् घरको। बुवाले सुत्ने कोठा बन्द नै हुन्छ। म गएको बेला खोल्छु। बुवाको याद झनै बलशाली बनेर आइदिन्छ सम्झनामा’, नेपालमा दुई साताको छोटो बसाइपछि युके फर्किने तयारी गरिरहेका डा.कुर्मीले सुनाए।
३६ प्रतिशत ब्याजमा ऋण निकालेर छोरालाई विदेश पढ्न पठाउने बुवाले घर तयार भएको दुई महिनामै छोडेर जानुभयो, सबै कुरा। डा.कुर्मी बेलाबखत मनन् गर्दै आफैसँग प्रश्न गर्छन्– एक दिन सबैले बिदा हुनुपर्छ संसारबाट। बाँचुन्जेल सामाजिक कार्यमा किन सरिक नहुने ?
मानव स्वास्थ्य र मानव समाजका लागि अनुसन्धानको क्षेत्रमा अहोरात्र खटिरहेका पात्र हुन्, उनी। पाँच वर्ष अक्फोर्ड युनिभर्सिटिमा वरिष्ट वैज्ञानिक बनेर काम गरिसकेका डा.कुर्मी अहिले कभेन्ट्रि विश्वविद्यालयमा यसोसियट प्रोफेसरका रुपमा कार्यरत छन्। स्वासप्रस्वास विज्ञानको क्षेत्रमा लामो अन्तर्राष्टेिय अनुभव बटुलिसकेका उनको नेपालप्रतिको माया र लगाव उस्तै छ। छोटो समयका लागि नेपाल आएका उनको अधिकांश समय दौडधुपमै बित्यो। यो बीचमा भेट्न चाहेका जतिलाई भेट्न सकेनन्। पुग्नुपर्ने सबै ठाउँमा पुग्न सकेनन्। उही अनुसन्धान सम्बन्धी गोष्टी सेमिनार। कोरोनाको नयाँ भेरियन्ट बारेको छलफल यस्तै–यस्तै।
यति हुँदाहुँदै पनि तीन रात जन्मथलोमा बिताए छन्। दिदीको घर पुगेर बारीबाट उखु लिएर चपाउँदै बाल्यकालको याद गर्न भ्याए छन्। दिदी–भाइले विगतका दिन सम्झेर केहीबेर भलाकुसारी गरेछन्।
‘मन मान्दैन नेपाल आएको बेला घर नपुगी फर्किन। बाल्यकालका मिठा अनि अविष्मरणीय पल छुटेका छन्, त्यही जन्मभूमितिरै’, निकै भावुक भएर सुनाए उनले।
हाल इपिडोमोलोजी ग्रुप (६.०१) यूरोपियन रेस्प्रिटरी सोसाइटीको अध्यक्षको कार्यभार सम्हलीरहेका डा. कुर्मी नेपालमै बसेर काम गर्ने सोच बनाइरहेका छन्। अबको पाँच वर्षपछि पुरै समय नेपाल बस्न नसके पनि वर्षमा छ महिना जति नेपालमै बस्ने योजना छ, उनको। कुराकानीकै सिलसिलामा उनले निकट भविष्यमै गर्न लागेको कामका बारेमा पनि भन्न भ्याए,‘मेरा भतिज डा. नगेन्द्र चौधरी (जो अहिले भैरहवामा बालरोग चिकित्सकका साथै एसोसियट प्रोफेसर छन्) र मैले छिटै गाउँमा बाल अस्पताल खोल्ने निर्णय गरिसकेका छौं।’
पछिल्लो समयमा उनी नेपालका केही संस्थाहरू (जस्तै बी.पी कोइराला र भैरहवाको मेडिकल कलेज)मा गरिने अनुसन्धानमासमेत सहकार्य गरिरहेका छन्। केही समयअघि मात्रै नेपालमा काम गर्न भनी २७ जना संस्थापक सदस्य रहेको नेक्सस इन्स्टिटूट अफ रीसर्च एंड इन्नोभेसन नामक नाफारहित संस्था दर्ता भएको छ। जुन संस्थामा नेचुरल एण्ड एप्लाइड साइन्सतर्फ उनी र डा.तारा सिग्देल डाइरेक्टर छन् भने सोसल साइन्सतिरको डाइरेक्टरमा डा. हेमराज ढकाल र डा. तुलसी आचार्य रहेका छन्। उक्त संस्थाको अध्यक्ष छन्, डा. राजेन्द्र पंगेनी।
सामान्य परिवारमा जन्मेका कुर्मीसँग उदार दिल छ। समाजसेवी भावना छ। सबैभन्दा बढी चिन्ता छ, आर्थिकस्थिति कमजोर भएका गाउँका सर्वसाधारणको स्वास्थ्यको। जीवनको सबैभन्दा ठूलो सम्पत्ति हुनु भनेकै स्वस्थ जीवन यापन गर्न पाउनु हो। पछिल्लो समयमा वायु प्रदुषणको समस्या एकातिर छ भने, चेतनाको कमी, अशिक्षा र उचित खानपानको समस्या अर्कोतिर। दूरदराजका मानिसहरुको स्वास्थ्यमा केही जटिल समस्या आइपर्दा न त नजिकमा भनेजस्ता अस्पताल नै छन्, न त सबैको आर्थिकस्थिति नै मजबुत छ। समस्याग्रस्त समाजको उत्थानमा सबैले आ–आफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने मान्यता बोक्छन्, उनी। तर, विडम्बना यो देशका सम्राटहरुलाई अत्तोपत्तो छैन्, डा. कुर्मीजस्ता कति विज्ञहरू विदेशीएका छन्।
तिनले आफ्नै भूमिमा काम गर्ने इच्छा जाहेर गर्दागर्दै पनि नसुनेझैं गरिदिन्छन् राज्य संचालकहरू। थुप्रै छन् विदेशमा कहलिएका नेपालीहरू। तर, नेपाल फर्केर काम गर्ने माहोल बन्न सकिरहेको छैन्, तिनका लागि। डा.कुर्मीसँग नकसैप्रति गुनासो छ न त आश नै। उनी भन्छन्,‘आफ्नो वर्गत र क्षमताले भ्याएसम्म देशको लागि काम गर्ने हो। जन्मभूमिका लागि सकेको गर्नु हाम्रो कर्तव्य पनि हो। सबैले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्छ बाँचुञ्जेल। यसैमा मानव जगतको भलाई पनि छ।’
जीवनको यात्रामा सधै एक्लो यात्री बनेका कुर्मीका थुप्रै छन्, अनुभव र अनुभुतिका पाटाहरू। खल्तिमा मट्टीतेल किन्ने पैसा नहुँदा स्टोभ जलाउन नपाएर दुईदिन चिउरा चपाएर बिताएको याद आइरहन्छ उनलाई। काठमाडौंमा ट्युसन पढाएर कलेजको फिस तिरे। स्कटलैण्डमा पि.एच.डी. अध्ययनका क्रममा आर्थिक अभावका कारण केयर होममा काम गर्न पुगे। जुधिरहे संघर्षका पलहरुसँग। निराश बनेन्। हार खाएनन् कहिल्यै पनि।
बिडी चुरोटले क्यान्सर हुन्छ भन्ने पत्ता लगाउने विश्वप्रशिद्घ वैज्ञानिक सर रिचार्ड डलको सम्मानमा उनकै नाममा बनेको बिल्डिङमा, डलकै काम गर्ने कोठामा उनका शिष्य प्रसिद्ध वैज्ञानिक रिचर्ड पेटोसँग कुर्मीले काम गर्ने अवसर पाएपछि धेरै कुरा सिके।
आर्थिक दृष्टिकोणले राम्रो भइरहेको अक्सफोर्ड युनिभर्सिटिको सिनियर साइन्टिसटको जागिर छोडेर क्यानाडा हानिए, उनी। शिक्षणका निम्ति विश्वकै पहिलो मानिने क्यानाडाको म्याकमास्टर विश्वविद्यालय अन्तर्गत गरिने अनुसन्धानमध्ये दुईवटा परियोजनामा काम गर्ने अवसर पाए। जसमध्ये एउटा परियोजना २६ राष्ट्रमा र अर्को ४२ राष्ट्रमा सञ्चालित थियो।
अन्तराष्ट्रिय जर्नलमा उनका थुप्रै लेखहरूप्रकाशित भइसकेका छन्। अक्सफोर्ड युनिभर्सिटिमा कार्यरत छदै टेस्टबुक अफ मेडिसिन नामक पुस्तकमा एयर पोलुसन सम्बन्धी उनको लेख समावेश गरिएको छ। जसरी पूर्वीय दर्शनमा वेदलाई महत्वपूर्ण ग्रन्थ मानिएको छ त्यस्तै महत्वपूर्ण मानिन्छ उक्त पुस्तकलाई औषधि बिज्ञानका क्षेत्रमा।
पछिल्लो समय कभेन्ट्रि विश्वविद्यालयमा यशोसियट प्रोफेसरका रुपमा कार्यरत डा.कुर्मी धुँवाबाट बच्चा र आमाको फोक्सोमा कस्तो असर पर्छ, कस्तो रोग लाग्छ, किन लाग्छ, भन्ने विषयमा अनुसन्धानरत छन्। हाम्रो समाज भन्नु नै सवल र दुर्वल दुबै पक्षहरुलाई बोकिरहेको मानव जमातको एउटा भीड हो। जुन भीडभित्र आशको किरणका रुपमा अझै भन्नुपर्दा उपयोगी समाजको अर्थपूर्ण नामका रुपमा देखापर्छन् डा.कुर्मी जस्ता केही नामहरू। जो मानव कल्याणका क्षेत्रमा प्रशंसायोग्य छन्। जसले विश्वमा नेपाल चिनाइरहेका छन्। तस्बिर : डा. ओम कुर्मीको फेसबुकबाट