‘नेपाली गर्ल’ चाहिन्छ भन्दै अरूकाे नाममा रहेकाे बैंक खाता ह्याक गरी रकम चाेर्ने गिराेह पक्राउ 

शनि शाक्य

ललितपुर

ललितपुर प्रहरीले अरूकाे नाममा रहेकाे बैंक खाता ह्याक गरी रकम चोरेकाे आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

गत मंसिर २५ गते ललितपुर सातदोबाटोका हरि प्रसाद ढकालको नाममा रहेको एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नाम रहेकाे इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरी गरेपछि अनुसन्धानका क्रममा उनीहरुले संगठित रुपमा नै ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका छन्।

उनीहरूले नेपाली केटी चाहिन्छ भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गराउने र त्यहाँ क्लिक गरेपछि डाटा चोरी गरेर सिस्टम ह्याक गरी ठगी गर्ने गरेको प्रहरीले बताएकाे छ। उनीहरुलाई मकवानपुर र काठमाडौँ जिल्लाबाट पक्राउ गरेर उच्च अदालत पाटनबाट वैंकिङ कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालिएकाे छ। 

यस्तै उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाईल थान, ल्यापटप र एटीएम कार्ड बरामद भएको छ। 

प्रकाशित मिति: : 2023-02-03 16:14:00

प्रतिकृया दिनुहोस्