दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

फाइल तस्बिर
फाइल तस्बिर

पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी ममर्तका लागि निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिले उपत्यकाका विभिन्न सडकको स्थलगत अवलोकन गरेका थिए।

मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका विभिन्न निकायले आआफ्नो काम गरिरहेको भए पनि एकीकृत स्वरुपमा समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको औँल्याए। विकास निर्माणका काम गुणस्तरीय रुपमा सम्पन्न गर्नपर्ने उनको भनाइ छ। 

कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने उनको भनाइ छ। 

उनले मन्त्रालयका तर्फबाट गर्नुपर्ने समन्वय वा कुनै पनि किसिमको सहयोग महानगरपालिका वा अरु निकायलाई आवश्यक पर्दा गर्न पनि निर्देशन दिए। उनले भने, “सबै निकायले आआफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक पालना गर्नुपर्छ।”

प्राधिकरणले बत्ती बालेर जनता खुसी भए पनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको उनले बताए।

प्राधिकरणले बैठक गरेर समस्या समाधान गर्न लाग्नुपर्ने उनले बताए। सडकमा रहेका संरचनाले सडकमा पुगेको अवरोधका विषयमा आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग कुराकानी भइरहेको उनले जानकारी दिए।

अहिले दुई सातामा एकपटक बैठक बस्ने गरिएकामा आगामी दिनमा आवश्यकताअनुसार एक दुई महिनामा बस्न सकिनेछ। काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वयका लागि काठमाडौँ सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इञ्जिीनियर डा विजय जैशीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ।

आजको बैठकले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुल मुनिबाट करिडोर चालु गर्ने निर्णय गरेको छ।

नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाको निर्माणस्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनःस्थापना गर्ने पनि निर्णय भएको छ।

प्रकाशित मिति: : 2023-01-27 21:06:00

प्रतिकृया दिनुहोस्