अमेरिकामा 'ज्यानमारा' हुँदै सप्ताहान्त, लसएञ्जलस मास सुटिङमा १० एसियालीको मृत्यु

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा सप्ताहान्त ज्यानमारा दिनका रूपमा परिणत हुँदैछन् । यी दिनमा सार्वजनिकस्थलमा कहीँ न कहीँ सामुहिक गोलीकाण्ड भएकै हुन्छन् । यदि कुनै सप्ताहान्तमा यस्ता घटना भएनन् भने त्यो सुखद सप्ताहान्त हुने स्थिति बन्दैछ ।

यो सप्ताहान्तको शनिबार राति प्यासिफिक समयअनुसार रातको १० बजेर २२ मिनेटमा यस्तै एउटा सामुहिक गोलिकाण्ड पश्चिमतटीय राज्य क्यालिफोर्नियामा भएको छ । लसएञ्जलसबाट  ८ माइल टाढाको मोन्टेरी पार्कमा भएको घटनामा एसियाली मूलका  १० को मृत्यु भएको छ भने १० घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

मोन्टेरी पार्कमा एसियाली मूलका खासगरी चिनिया अमेेरिकीको बाक्लो बसोबास रहेको छ ।

घटना आइतबार मनाइने लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा भएको हो । गोलीबारी  मोन्टेरी पार्कको वेस्ट गार्वे एभिन्यूको १०० ब्लकमा रहेको एक डान्स स्टुडियोमा भएको हो । घटनामा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित पार्टीमा नाँचिरहेका मानिस परेका छन् । 

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सले गोलीबारीमा संदिग्ध बन्दुकधारी मृत फेला परेको बताएका छन् । उनी एसियाली मूलका ७२ वर्षीय हु क्यान ट्रान भएको बताइएको छ । प्रहरीले  पक्राउ गर्न लागेको बेला उनले आफैले आफैलाई गोली हानी आत्महत्या गरेका थिए । उनको शव टोरेन्समा एक सेतो भ्यानमा भेटिएको छ । 

घटनामाथि छानबिन जारी छ । अझै पनि यसको उद्देश्य स्पष्ट भैसकेको छैन ।

अमेरिकामा केही वर्षयता सामुहिक नरसंहारका घटनाहरू बढ्दै गएका छन्। अधिकांश घटना जातीय घृणाका कारण भए पनि ती घटना घटाउने श्वेत व्यक्ति भए उसको मानसिक अवस्था ठीक नभएको भनेर भाष्य बनाउने गरिएको छ । अन्य वर्णका खासगरी आप्रवासी पाइएमा यसलाई आतंकवादसँग जोड्ने र आप्रवासीबाट अमेरिकी सुरक्षा खल्बलिएको भन्ने गरिएको छ ।  

अमेरिकामा बढ्दो मुद्रास्फिति र महंगीका कारण आमजनजीवन कष्टकर हुँदैजाँदा दिक्दारी बढ्दो छ । बन्दुकको सहजताले त्यस्तो दिक्दारीलाई यस्ता घटनामा परिणत गर्न थालेको बुझ्न गाह्रो छैन । यद्यपि, अमेरिकाको रैथाने मानसिकता यसलाई सहजै स्वीकार्दैन ।

 

प्रकाशित मिति: : 2023-01-22 23:27:00

प्रतिकृया दिनुहोस्