जसले बुबाले बजाएकाे बाँसुरीकाे धुन सुनेर विद्राेहका गीत गाउन सिके

म निर्धाको गाथा बोकेर
गीत सुनाउँदै हिँड्छु म
दुखीको बस्ती–बस्तीमा
चेतना जागाउँदै हिँड्छु म
म निर्धाको गाथा लेखेर...

जनवादी गायक जीवन शर्माको यो गीत जस्तै छ उनको जीवन। उनी पनि निर्धाको गीत गाउँदै, निर्धाको गाथा बोल्दै, निर्धाको पीडा महसुस गर्दै जनताको घर–घरमा पुगे। तारे भीरमा डुले। र, बिरानो मुलुकका चोक चोकमा उभिएर भने, ‘हामी मुक्ति चाहन्छौँ।’

उनी अर्थात् रक्तिम सांस्कृतिक अभियान्ता तथा गायक नवीन बस्याल। उनी गीत गाएर जनताको लागि न्यायको लडाइँ लडिरहेका छन्। जनताको पक्षमा बोलिरहेका छन्। बाल्यकालदेखि नै सांस्कृतिक आन्दोलनमा होमिएका नवीन अहिले जापानको मियागी केन सेन्दाईमा रहँदा पनि जनताको न्यायको लागि गीत गाइरहेका छन्। आफ्नै जीवनका गाथाहरु लेखिरहेका छन्।

०००

नेपालमा व्यवस्था परिवर्तनको लागि भएका सम्पूर्ण आन्दोलनमा सांस्कृतिक आन्दोलनको विशेष महत्व छ। देशमा ऐजेरु बनेर बसेका व्यवस्था फाल्न होस् वा भएको व्यवस्थालाई माझ्न होस्, सांस्कृतिक आन्दोलनले ठुलो भूमिका खेल्यो। गीतको माध्यमबाट अन्धकारमा रहेका लाखौँ नेपाली उज्यालोतिर लम्किए, दमन सहेर बसेकाहरु ज्वालामुखीजस्तै विस्फोट भए।

त्यसरी नेपाली सांस्कृतिक आन्दोलनमा सक्रिय जीवन शर्मा, रामेश, जेवि टुहुरेलगायतकाे गीत सुनेर नवीनले सांस्कृतिक विद्रोह सुरु गरे। आफैंले भोग्नु परेको दमनविरुद्व विस्फोट भए। नवीनकाे सांस्कृतिक आन्दोलनकाे विस्फोटनको गर्भमा थिए, गरिबी र राज्य सत्ताको दमनले निम्त्याएका अनेकौँ कारणहरु।

घरको कमजोर आर्थिक अवस्थाका कारण बिहान र बेलुका हात मुख जोड्न साहुको मेला धाउनुपर्ने बाध्यता थियो। नवीनका बुबा घरका सबै सदस्यलाई काममा सँगै लिएर जान्थे। चरम गरिबीले पिल्सिएको उनीहरुको परिवारले एकदिन पनि काम गर्न सकेन भने घरमा आगो बल्दैन थियो। त्यसैले सकेर होस् वा नसकेर होस् नवीनका बुबाले घरका सदस्यलाई मेलामा लिएर जान्थे। स्वाभिमानसमेत गुमाएर उनीहरुको परिवारले दिनभर ज्याला मजदुरी गर्थे। साँझ घरमा आएर गुनगुनाउँथे जीवन भोगाइका गाथाहरु।

नवीनका बुबा रामपाल बस्यालले अत्यन्त राम्रोसँग बाँसुरी बजाउँथे। दिनभर काम गरेका छोराछोरीहरुले पीडा बिर्सिउन् भनेर आफूले बजाएको बाँसुरीको धुनमा गीत गाउन सिकाउँथे। नवीनको परिवारले जीवन शर्माका केही गीतहरु गाएर जीवनका अनेकौँ दुःख बिर्सिन्थ्यो। सिमली छायामा बसी भरियाले लामो सास फेरेको, झरनाको चिसो पानी सुकेर जाँदैन रोकेर रोकिँदैन इत्यादि गीत नवीनको घरमा हरेक साँझ गुञ्जिन्थे।

‘दिनभरि मेलामा गइन्थ्यो। बुबाले हामीलाई पीडा महसुस नहोस् भनेर बाँसुरीको धुनले अनेकौँ जनवादी गीत गाएर सुनाउनुहुन्थ्यो। तिनै गीत सुनेर हामी निदाउने गर्थ्याैं’, नवीनले बिएल नेपाली सेवासँग आफ्नो बाल्यकालका कुरा सुनाए।

नवीनका बुबा मसालको राजनीतिप्रति आस्था राख्थे। त्यसैले बढी जस्ताे जीवन शर्माका गीतहरु गुनगुनाएर छोराछोरीलाई सुनाउँथे। उनका बुबाले गाउने गीतमा विद्रोहभन्दा बढी बेदना हुन्थे, त्यही बेदना नवीनमा विद्रोह बनेर निस्कियो। बुबाको सांगीतिक मोहबाट प्रभावित नवीनले आफ्नो मुखबाट विद्रोहका गीतहरु गाउन थाले। नवीनले बाच्चैदेखि गाउन थालेका विद्रोहका गीतले धेरैलाई प्रभाव पारेको थियो, त्यसमाथि उनका बुबा जनमोर्चानिकट भएकै कारण नवीनले बाल्यकालमै सांस्कृतिक आन्दोलनका गतिविधिमा सहभागी हुने अवसर पाए।

‘मैले राम्रोसँग गीत गाउन जानेको भएर होला स्यानैबाट रक्तिम अभियानका कार्यक्रममा जाेडियो। पहिलो पटकमा कोचिवाङको कार्यक्रममा सहभागी भएको थिएँ’, नवीनले २२ वर्षअघिको कुरा सुनाए, ‘त्यतिबेला म ९/१० वर्षको थिएँ, त्यही पनि राम्रैसँग नाच्न, गाउन र सामान्य बाजाहरु बजाउन आउँथ्यो।’ यही पृष्ठभूमिबाट नवीनले सांस्कृतिक आन्दोलन सुरु गरेका हुन्।

नवीनले नेपालमा बसेर राज्यकाे दमन र अत्याचारविरुद्ध सांस्कृतिक आन्दोलन लड्न सकेनन्। त्यतिबेला उनको लागि दमनको प्रतिवादभन्दा पेटमा दुई गास भात ठुलो थियो। उनी बुबासँगै मजदुरीको लागि भारत गए। उनले बाल्यकालदेखि नै पेट पाल्नको लागि संघर्ष गर्नुपरेका कारण पढाइमा भने ध्यान दिन पाएनन्।

बुबासँगै भारतमा मजदुरी गर्न गएका नवीनले भारतमा पुगेर पनि सांस्कृतिक आन्दोलनबाट भने टाढा रहनु परेन, त्यहाँ झन रक्तिम सांस्कृतिक आन्दोलन सशक्त थियो। नवीन भारतमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जोडिए। काम गर्दागर्दै पनि गीत संगीतलाई निरन्तरता दिन भ्याए।

‘मैले लाहुरमा कोठीमा काम गर्थेँ। बिहान उठेदेखि राति अबेरसम्म काम गर्नुपर्थ्याे। तर, पनि मैले संगीतलाई निरन्तरता दिन भ्याउँथे’, नवीनले भने, ‘बेलुका मालिककाे परिवारलाई खाना खुवाएर, भाँडा माझेर सुत्नकाे लागि कोठामा छिर्थेँ, करिब राति ११ बजेदेखि एक/दुई घण्टा क्यासियो बजाएर गीत गाउँथेँ।’ अत्यधिक रुचि लागेपछि नवीनले मालिकलाई क्यासियो किन्न लगाएका थिए।

यसरी भारतमा रहँदा नवीनले सानो कोठालाई संगीतको सिंगो संसार बनाए। परिश्रमका पसिना चुहाउँदै बाध्यताको कोठाको भित्तामा विद्रोहका गीत लेखे।

संसार बदल्ने हो लक्ष्य हाम्रो
यो युग सजाउने उद्देश्य
कोर्नुछ इतिहास हामीले
गरिबी किसान ज्यामीले...

नवीनको सांगीतिक जीवन कमलको फूल जसरी फुल्दै पनि थियो भने त्यही कमलको फूलका पातहरु जसरी जीवनका केही खुसीहरु पानीमा तैरिएर पर-पर सर्दै थिए। जीवनको त्यही दुखान्त ऋतुमा रोगका कारण बुबाको देहान्त भयो। यता, नेपालमा आमा र भाइबहिनीहरुले कैयौँ रात भोकै कटाउनुपर्याे। तर, नवीन थाकेनन्, निरन्तर संघर्ष गरिरहे। बाल्यकालमा जीवन शर्माका गीत सुनेर पीडा बिर्सने उनले त्यतिबेला आफैं गीत लेखेर र गाएर कठिनाइको सामना गरे।

भारतमा रहँदा नवीनले रक्तिम सांस्कृतिक अभियानका धेरै कार्यक्रममा सहभागी हुने मौका पाए। आफूजस्तै सांस्कृतिक आन्दोलनमा लागेका साथीहरु भेटाए। अनि, अर्काे नयाँ सपना बोकेर काठमाडौँ हानिए।

नवीन वि.सं. २०७१ सालमा गीत रेकर्डकाे लागि पहिलाे पटक भारत हुँदै काठमाडाैँ आए। त्यतिबेला उनले लिला परियार, हेमराज आश्रम र देवी सुनामी, पियारी थापा (सुप्रभा)सँग मिलेर ९ वटा जनवादी गीतहरु समावेश गरेर ‘आवाज’ एल्बम सार्वजनिक गरे। याे नवीनकाे सांगीतिक यात्राकाे नयाँ खुड्किलाे थियाे। उनले काठमाडाैँमा करिब दुई महिना बिताएका थिए। त्यतिबेला गीत रेकर्डिङ र भिडियाे बनाउने काम सँगै पार्टीका शीर्ष नेताहरुसँग राम्राे सम्बन्ध बनाउन सफल भए।

नवीनले राज्य सत्तालाई खबरदारी गर्दै सुन्दर नेपालकाे परिकल्पनासहित गीतहरु त गए तर परिवार पाल्नकाे लागि भारतमै जानुपर्ने बाध्यता छँदै थियाे। उनी पुन: भारत फर्किए। उनले भारतमा रहँदा मुल प्रवाह अखिल नेपाल भारत एकता समाजकाे नेतृत्वमा रहेर काम गर्ने अवसर पाए। गीत रेकर्डिङप्रश्चात भारतमै फर्किएका नवीन पुन: नेपाल त आए तर बस्ने गरी हाेइन, परिवार पाल्न तेस्राे मुलुक (जापान)मा जाने गरी।

०००

भारतमा पसिना बगाउँदा पनि परिवार पाल्न धाै–धाै हुने अवस्था आएपछि नवीनले जापान जाने निर्णय गरेका थिए। ‘नहुनेले कम्तिमा एक गास खान र कपडा लगाउने हुन सक्ने हुनुपर्छ भन्ने हाम्रो अभियान हो,’ नवीनले भने, ‘आर्थिक अवस्था सुधारका लागि भारतमा पनि काम गरिरहेको थिएँ। त्यहाँ साथी लिला परियारसँग राम्रो परिचय थियो। उहाँको माध्यमबाट अर्को साथीको परिचय भयो र त्यसरी जापान जाने तयारी भयाे।’

सन् २०१८ मा नवीनले ३१ वर्षकाे उमेरमा दाेस्राे पटक देश छाडे। सानै उमेरमा भारत गएका उनलाई जाँदा नराम्राे लाग्दैन थियाे तर जापान जाँदा भने आँसु थाम्न सकेनन्, विमानस्थलमै भक्कानिएर राेए।

‘होटलबाट विमानस्थल जाँदा साथीहरु लगेर गएको थिएँ। छोड्न गएका साथीहरुलाई आँसु नझारिदिनुहोला भनेर सम्झाएकाे थिएँ। खुसीले बिदा हुनुपर्छ भन्ने थियो। मैले पनि एकदम हिम्मत गरेको थिएँ तर जब साथीहरु मलाई बिदा गरेर फर्किन थाल्नुभयाे, म गेटभित्र प्रवेश गरेँ। त्यहाँ सबै जना ठुला–ठुला लगेज लिएर, टीका र माला लगाएर बिदाइको लागि तयार भएको देखेर म भित्र एकान्तमा गएर आँसु झारेँ। म एक्लै रोएँ तर साथीहरुको लागि हिम्मत गरेर आँसु रोकेँ। विमानस्थलकाे माहोल नै त्यस्तै हुने रहिछ, आँसु रोक्नै नसकिने। त्यहाँ पुग्दा सांस्कृतिक आन्दोलनको झलक्क याद आयो,’ नवीनले भने।

नवीनले जापान पुगेर सुरुवाती दिनमा धेरै दुख गरे। तर, मेहनतीलाई जहाँ पुगे पनि राम्राे हुन्छ भनेझैं उनकाे जीवन पनि विस्तारै संकटबाट पार लाग्दै गयाे। परिवारमा खान र लाउनकाे लागि तड्पनु परेन। भाइबहिनीहरुले राम्राेसँग शिक्षा–दीक्षा लिन पाए। उनका बुबा देहान्त भएकाे अहिले १४ वर्ष पुग्याे, बुबा बितेपछि भाेग्नु परेका ती दिन अहिले पनि झलझली सम्झिन्छन्।

‘बुबाकाे निधनपछि धेरै दु:ख पाइयाे। एक हजार ऋण लिन पनि हामीले साहुको घरमा दिनभरि काम गरिनुपर्थ्याे। ऋण लिन गएका हामीलाई साहुले दिनभरि काम लगाउँथे, दिनभरि हामीले काम गरिदिन्थ्याैँ, साँझ खाना खाएपछि मात्रै साहुले ऋण दिन्थे,’ नवीनले भने। बुबाकाे निधनपछि आमाले घरकाे व्यवस्थापन राम्राे गरेका कारण आफूहरु सही मार्गमा हिँड्न पाएकाे उनी बताउँछन्।

अहिले जापानमा कर्म गरिरहेका नवीनले त्यहाँ रहँदा पनि जनवादी गीत संगीतलाई निरन्तरता दिइरहेका छन्। उनी जापनमा हार्ड वर्किङ गरेर पनि जनवादी गीत गाउँछन्, लेख्छन् र अरुलाई पनि इमान्दार भएर कर्ममा लाग्न प्रेरित गर्छन्। रक्तिम सांस्कृतिक अभियान जापानको केन्द्रीय समितिकाे सहसचिव तथा जापान–नेपाल एकता समाजको केन्द्रीय सदस्यकाे भूमिकामा रहेर उनले काम गरिरहेका छन्।

‘म जापानमा कुकको काम गर्छु। त्यहाँ पनि काम गरिरहँदा गीत गाउने र लेख्न, सोच्ने काम गर्छु। मनमा केही गीत आयो भने साइडमा गएर माेबाइलमा रेकर्ड गरेर राख्छु र काेठमा गएर सार्ने तथा सुधार्ने कार्य गर्छु,’ नवीनले भने। नवीनले हालसम्म दुई दर्जन बढी जनवादी गीत गएका छन्।

उनले अथक प्रयास गरेपछि परिवारकाे पेट पाल्ने धाेकाे पूरा गरे, साहुकाे ऋण तिरे, साथी-भाइकाे गुन तिरे। अब उनकाे सपना छ, घरदेशमै बसेर मुक्तिकाे लागि लड्ने, निर्धाकाे बाेलीलाई झनै सशक्त बनाउने अनि आफ्नै देशलाई माया गरेर बस्ने।

‘आखिर मान्छे जहाँ रहे पनि देशको माया लाग्छ अनि गर्छ। आमाको जति माया लाग्छ, विदेशमा हुँदा हामीलाई नेपालको त्यति माया लाग्छ। मलाई बाहिर बस्न मन छैन। तर, देशको अवस्थाले गाह्रो छ,’ केही महिनाअघि नेपाल आएका नवीनले जापान फर्किँदै गर्दा भनेका थिए, ‘केही वर्षपछि देशमा फर्किएर जनताको लागि काम गर्छु। सांस्कृतिक आन्दोलनमा लााग्छु।’

जीवन शर्माले गाएकाे गीत जस्तै नवीनले छिट्टै नेपाल फर्किएर निर्धाको गाथा बोकेर गीत सुनाउँदै हिँडुन्, शुभकामना।

भिडियाे:

प्रकाशित मिति: : 2023-01-19 21:35:00

प्रतिकृया दिनुहोस्